मंसिर ०१, २०८१, शनिबार
               

मेरो एकल प्रयासले लोडसेडिङ अन्त्य भएको होइन : कुलमान घिसिङ

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो एकल प्रयासले मात्र लोडसेडिङ अन्त्य नभएको भन्दै पछिल्लो दिनमा सामाजिक सञ्जाललगायतमा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मिडिया तथा सामाजिक सञ्जालहरूमा कार्यकारी निर्देशकमा घिसिङ दोहोरिनुपर्छ भनेर अनेकन् टिप्पणी तथा जनमतहरू भइरहेको बेला उनले लोडसेडिङ अन्त्यका लागि प्रधानमन्त्रीको निर्देशन तथा सहयोग महत्त्वपूर्ण रहेको जनाएका हुन् ।

पछिल्लो दिनमा घिसिङको पक्षमा सामाजिक सञ्जालमा टीकाटिप्पणीको बाढी लागेको छ । कलाकर्मीदेखि सर्वसाधारणसम्मले उनको पक्षमा वकालत गरेका छन् ।

तर कार्यकारी निर्देशक घिसिङलाई भने फेक अकाउन्टले तनाव दिएको छ । उनले प्रेस नोट नै जारी गर्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले आफ्नो नाम राखेर गलत एकाउन्ट नै खोलेर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री वर्षमान पुनलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगरिदिन अनुरोध पनि गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जनाएका छन् ।

यस्तो छ कार्यकारी निर्देशक घिसिङको प्रेस नोट

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।

मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।

नेपाल विद्युत् प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।  

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धिहरू हासिल गर्न सम्भव थिएन ।

सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी, हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यान्वयन गर्ने, ठुला जलविद्युत तथा प्रसारण लाइन आयोजनाहरूको निर्माण गर्ने लगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।   

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
मिति : २०७७/०५/११ बिहीबार

यो पनि