बैशाख २१, २०८१, शुक्रबार
               

साउनमा साढे ४ अर्बको मोबाइल नेपाल भित्रियो

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । साउनमा एकै महिनामा साढे ४ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । लकडाउन ठप्प भएको मोबाइल फोनको बजार नयाँ आर्थिक वर्ष लागेपछि अस्वाभाविक विस्तार भएको  देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको आव २०७७–७८ पहिलो महिनाको तथ्यांकले साउनमा ४ लाख ७० हजार वटा मोबाइल आयात भएको देखाउँछ । जसको भन्सार मूल्य ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ पर्दछ ।

मोबाइल फोन आयातबाट सरकारले ६७ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । नेपाली बजारमा चैतयता नयाँ फोन आएका थिएनन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य कारोबारलाई कडाइ गरेपछि बजारमा नयाँ फोन पनि लञ्च भएका थिएनन् ।

लकडाउनअघि आयात भएका फोन बजारमा बिक्री भइसकेपछि नयाँ फोनको माग बढेको थियो ।गत फागुनयता अर्थात् ५ महिनामा जम्मा ३ अर्ब ८० करोडको मात्र मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्यांक छ ।

साउनमा ८ हजार ८ सय सेट टेलिफोन पनि आयात भएको छ । जसको भन्सार मूल्य ५५ लाख ९४ हजार रुपैयाँ छ । गत वर्षको साउनमा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३ लाख ६१ हजार वटा मोबाइल फोन आयात भएको थियो ।

गत आर्थिक वर्ष १८ अर्ब १७ करोड रुपैयाँको मोबाइल आयात भएको थियो । जबकि आव २०७५–७६ मा १९ अर्ब २७ करोडको मोबाइल फोन आयात भएको थियो ।

यता मोबाइल फोन बिक्रेताहरु स्थितिमा सुधार भएसँगै बजारमा मोबाइलको माग वृद्धि भएको बताउँछन् । कोभिड–१९ कारण जनजीवन घरका चारकुनामा सीमित हुँदा बाहिरी दुनियासँग कनेक्ट हुने माध्यम फोन नै बनेको छ ।

लकडाउनको अवधिमा फोनको प्रयोग उच्चतम् भएको छ ।  शाओमी नेपालका कन्ट्रि जनरल म्यानेजर सौरभ कोठारी भन्छन्, “लकडाउनका कारण मोबाइल फोनमा मागको बाँध थुनिएको थियो । अहिले त्यो केही हदमा फुटेको छ ।” 

सँगसँगै लकडाउनका अवधिमा धेरैले स्मार्टफोनको आवश्यकता महसुस गरेको, यसबीचमा नयाँ किन्न चाहनेले किन्न नपाएको कारण लकडाउन खुलेसँगै माग बढेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि