काठमाडौं । शेयर बजार सोमबार आकर्षक सुधार देखिएको छ । पछिल्ला दिनहरुमा निरन्तर घटेको बजार आइतबारबाट फेरि सुधार भएको हो । सोमवारकाे शेयर बजार ३७ दशमलव ७४ अंकले बजार बढेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव ६३ अंक बढेर २९८ दशमलव ६४ विन्दुमा पुगेको छ ।
सोमवार कारोबार रकम पनि आइतवारको भन्दा बढी भएको छ । आइतवार ९७ करोड ७८ लाख ९५ हजार बराबरको शेयर कारोबार भएकोमा सोमवार १ अर्ब ५५ करोड ५५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन १८९ वटा कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर कारोबार भएको हो । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको ६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा अजोड इन्सुरेन्स परेका छन् ।
त्यस्तै बैंकिङ समूहको २ दशमलव ७७ प्रतिशत, व्यापारिक समूहको १ दशमलव २ प्रतिशत, होटल समूहको ३ दशमलव ८८ प्रतिशत, विकास बैंक समूहको ३ दशमलव १७ प्रतिशत, जलविद्युत समूहको २ दशमलव ४५ प्रतिशत, वित्त समूहको १ दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव शून्य ३ प्रतिशत, अन्यको १ दशमलव ५७ प्रतिशत , लघुवित्तको ३ दशमलव शून्य ३ प्रतिशत र जीवन बीमा समूहको २ दशमलव ६५ प्रतिशत परिसूचक बढेको छ ।
सबैभन्दा बढी शेयरमूल्य घट्ने कम्पनी दिव्यश्वरी हाइड्रोपावर लिमिटेड रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ३ रुपैउाँ अर्थात ५ दशमलव ७० प्रतिशतले शेयरमूल्य घटेको हो । कम्पनीको अन्तिम शेयरमूल्य रू. ४९ दशमलव ९८ कायम भएको छ ।