बैशाख २०, २०८१, बिहीबार
               

ग्राहक फसाउँदै एनआईसी एसिया बैंक : थाहा नदिइकनै निक्षेपको ब्याज घटाउने र कर्जामा बढाउने

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘पैसा डबल अफर’ भन्नेजस्ता जादुमय स्किमका निक्षेप योजना देखाएर ग्राहकलाई आकर्षित गर्न खोजेको एनआईसी एसिया बैंकबाट ठगिएको गुनासो ग्राहकहरूले गर्न थालेका छन् ।

६ महिनाअघि बैंकले ६ प्रतिशत ब्याज दिने चमत्कारिक निक्षेप योजना ल्यायो । तर अहिले त्यसको ब्याज २.५ प्रतिशतमा झारेको छ । ग्राहकलाई आकर्षित गर्न निक्षेपमा उच्च ब्याजदरको लोभ देखाउने तर केही समयमै बिना अग्रिम जानकारी ब्याज घटाइदिने गर्न थालेपछि एनआईसीसँग ग्राहकहरू हैरान भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकहरूको ब्याजदर घटबढ हुन सक्ने भए पनि ६ महिनामै यस खालको फरक हुनु नपर्ने जनाए । ६ महिनामै ६ प्रतिशतबाट साढे २ प्रतिशत ब्याज कायम गरेको भए त्यो गैरकानुनी र बद्‍मासी भएको उनले जनाए । यस खालको बदमासी भए सोझै राष्ट्र बैंकमा सम्पर्क गर्न कार्यकारी निर्देशक ढकालले आग्रह गरे ।

एनआईसी एसियाले यतिमा मात्रै ग्राहकलाई ठगेको छैन । ऋण तथा अन्य सेवाहरूमा पनि बैंकले चर्को ब्याज असुल्दै आएको छ । शाखा सञ्जाल र बैंकको विलासी खर्च तथा आक्रामक विज्ञापन हेर्दा बैंकको सञ्चालन खर्चका हिसाबले आधार दर (बेस रेट) १० प्रतिशतभन्दा तल हुन सम्भव देखिँदैन । तर निक्षेप स्किममा भनेअनुसार ब्याज नदिने, निक्षेप लिइसकेपछि मनपरी ब्याज घटाइदिने र कर्जामा ठग्ने नीति लिएकै कारण एनआईसी एसिया बैंक सबैभन्दा बढी नाफा गर्नेको चौथो नम्बरमा आइपुगेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकको तनहुँ हाइड्रोको ठेकेदारको जमानीमा फसेको दुई अर्ब रुपैयाँ असुल भइसकेकाले यो वर्ष एनआईसी एसिया बढी नाफा कमाउने पाँचौँ नम्बरमा पर्ने देखिन्छ ।

ग्राहकलाई ठगेरै एनआईसीले पछिल्लो एक वर्षमा खुद नाफा दोब्बर पुर्‍याएको छ । यो वर्ष चैत महिनासम्ममा उसले २ अर्ब ५० करोड रुपैयाँ नाफा कमाइसकेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । ‘मर्जर, भौतिक सम्पत्ति बिक्री अथवा ठुलो परिमाणमा खराब कर्जा असुली बिना यो तहको नाफा सम्भव छैन,’ एक पूर्व बैंकर भन्छन्, ‘बैंकले जथाभाबी ग्राहक ठग्दा पनि नियामक नेपाल राष्ट्र बैंक मुकदर्शक बस्नुले उच्च मुनाफा सम्भव भएको हो ।’

उच्च ब्याजदरमा निक्षेप संकलन गर्ने बैंकको आधार ब्याजदर पनि उच्च हुन्छ । निक्षेपमा सबैभन्दा उच्च ब्याजदर सार्वजनिक गर्ने एनआईसी एसिया बैंकको आधार ब्याजदर पनि अरु वाणिज्य बैंकहरूमध्ये प्रतिस्पर्धी देखिन्छ । आधार ब्याजदर नै ९ दशमलव ६१ प्रतिशत रहेको यस बैंकले सवारी कर्जा, घर कर्जा र व्यावसायिक कर्जा ८.२५ प्रतिशतमै दिने भनेर अर्को झुट गरिरहेको छ ।

कुनै पनि व्यवसायमा लागतभन्दा सस्तो उत्पादन बिक्री हुँदैन । बैंकको कर्जाको हकमा पनि उसको निक्षेप र सञ्चालन खर्चको लागतमा केही प्रतिशत जोडेर कर्जाको ब्याजदर तय हुने हो । बैंकले कर्जा दिँदा आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम बाहेक अन्य शुल्क लिन पाइँदैन । तर एनआईसी एसिया बैंकले ग्राहकसँग मनपरी शुल्क जोडेर ब्याजदर तय गरेको छ ।

ग्राहकसँग एउटा सर्तमा निक्षेप लिइसकेपछि त्यसको ब्याजदर आपसी सहमतिमा मात्र थपघट हुने हो । तर एनआईसी एसियाले उच्च ब्याजदरको निक्षेपको लोभ देखाएर निक्षेप तानिसकेपछि भनेअनुसार ब्याज नदिएर ग्राहकलाई ठगिरहेको छ । नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा एनआईसी एसिया बैंकको ठगीका सयौँ उजुरी परेका छन् ।

सत्ताको निकटताका कारण नेपाल राष्ट्र बैंकको नियम नलाग्ने हुँदै गएपछि ग्राहकहरूलाई ठगिरहेको एनआईसी एसिया बैंकबाट ग्राहकहरू आजित भएका छन् ।

‘अन्य बैंकले बैंक ब्यालेन्स सर्टिफिकेट दिँदा ५०० रुपैयाँ पनि शुल्क लिँदैनन्,’ एनआईसीबाट ठगिएका अर्का एक ग्राहकले भने, ‘एनआईसीले दुई हजार रुपैयाँ शुल्क लियो ।’

राष्ट्र बैंकको विवेकशील नियमनमा रहेको भनिएको यो बैंकले ऋणको ब्याजमा जथाभाबी शुल्क जोडेर मिटर ब्याज शैलीकै असुली गर्दा पनि राष्ट्र बैंक मूकदर्शक बस्नु दुःखद हो । अर्कोतर्फ मोबाइल पेमेन्ट सोलुसनमा छुटका नाममा विभिन्न डिपार्टमेन्टल स्टोरमा खरिद गर्दा लाग्ने शुल्कमा समेत बैंकले जथाभाबी ढंगले कमिशन लिने गरेको जानकारहरू बताउँछन् ।

कर्जाको तुलनामा निक्षेप र प्राथमिक पुँजी अनुपात ८० प्रतिशत हुनुपर्ने व्यवस्थालाई उल्लंघन गरेर जथाभाबी लगानी गरेपछि यसअघि राष्ट्र बैंकले पटक–पटक सचेत गराएको थियो । अरू बैंकले नियमभित्र रहेर व्यवसाय गर्नुपर्ने तर एनआईसीलाई नियम नलाग्ने घटना धेरै पटक भएको छ । जथाभाबी कर्जा लगानी गरेर तरल कोष नराख्दा बैंक यसअघि ठुलो समस्यामा परेको थियो । जसका कारण अन्य वाणिज्य बैंकहरूले एनआईसी एसिया बैंकसँग कारोबार नगर्ने गोप्य सर्कुलर समेत गरेका थिए ।

एनआईसी एसिया बैंकको खराब कर्जा पनि अत्यधिक बढिरहेको छ । राष्ट्र बैंकका अनुसार, बैंकको खराब कर्जा लकडाउन अघिको तीन महिनामै डरलाग्दो गरी दोब्बरले बढेको थियो । २०७६ पुसमा बैंकको खराब कर्जा कुल कर्जाको ०.४६ प्रतिशत थियो । जुन चैत मसान्तमा ०.७५ प्रतिशत पुगिसकेको थियो । राष्ट्र बैंकले सामान्य अवस्थामा समेत अत्यधिक खराब कर्जा बढेकाले एनआईसी एसिया बैंकको कर्जाको गुणस्तरमाथि निगरानी बढाएको छ । लकडाउनपछि बैंकको खराब कर्जा अझै बढेको छ ।

यो पनि