बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा सुरु गरेको छ । एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुशी व्यक्त गरे । शेयर सदस्यका लागि छरितो र सहजरूपमा कारोबार गर्न ‘एटिएम’ उपयोगी हुने उनको भनाइ थियो ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले सिवाइसीले प्रविधिको उपयोग गरेर सहकारी अभियानलाई गति दिएको उल्लेख गरे । ‘यो अन्य सहकारीका लागि पनि सिकाइ र मार्गदर्शन बन्न सक्छ’, उनले भने ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’ले शेयर सदस्यका लागि वित्तीय साक्षरताको खाँचो औँल्याइन् । सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्तरीय र प्रविधियुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए । समयको आवश्यकताअनुसार सहकारीका सेवालाई प्रविधिमैत्री बनाइएको उनको भनाइ थियो ।
‘सरकारले पनि नगदरहित कारोबारमा जोड दिइरहेको छ’, अध्यक्ष पौडेलले भने, ‘सहकारीका सेवालाई पनि प्रविधिको प्रयोगबाट स्तरीय बनाउनुपर्छ ।’ सहकारीले मोबाइल बैंकिङ, ‘क्यूआर कोड’ लगायतका सेवा प्रदान गर्दै आएको छ ।
आगामी दिनमा मिस्डकल सेवा, डिजिटल सर्भेजस्ता प्रविधिलाई प्रयोगमा ल्याइने सहकारीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले देशका जुनसुकै ठाउँबाट ‘एटिएम’ सेवा लिन सकिने बताए । हालसम्म २५१ शेयर सदस्यले एटिएम कार्ड बनाइसकेको उनको भनाइ छ ।
उक्त सहकारीमा १० हजार शेयर सदस्य छन् । अर्को आवभित्रमा थप २६ वटा सहकारीसँग एकीकरण गर्ने तयारी भइरहेको अध्यक्ष पौडेलले बताए । आगामी पाँच वर्षभित्रमा ५० हजार शेयर सदस्य पु¥याउने लक्ष्य सहकारीको छ । यस्तै १०० सेवा केन्द्र स्थापना गरी दुई हजार ५०० शेयर सदस्यलाई उद्यममा जोड्ने योजना छ । सहकारीले कर्जाको ब्याजलाई घटाएर एक अंकमा पुर्याउने जनाएको छ ।