काठमाडौं । सरकारले लकडाउन खुकुलो पारेसँगै व्यवसाय चलायमान बनाउन विभिन्न ब्रान्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरू बजारमा आक्रामक रणनीतिसहित अघि आएका छन् ।
टिभीएस, बजाज, होन्डा र यामाहाका दुईपाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीले दशैं-तिहारभन्दा भारी छुटको आकर्षक योजना सार्जनिक गरेका छन् । शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमै ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने अफर ल्याएका हुन् । यो अफरसँगै प्राय कम्पनीले नगद छुटको योजना पनि सार्वजनिक गरेका छन् ।
कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नैपर्ने भएपछि सार्वजनिक सवारीको साटो निजी सवारीको प्रयोग बढ्ने अनुमान अटोमोबाइल बजारको छ । कामकाजी मध्यमवर्गीयले चारपाङ्ग्रे सवारीको साटो मोटरसाइकल खरिदमा ध्यान दिने बजार विश्लेषकको आकलनलाई आधार मान्दै कम्पनीहरूले खरिदकर्ताका लागि आकर्षक फाइनान्सिङका प्याकेज धमाधम सार्वजनिक गरेका हुन् ।
तीन महिना लामो लकडाउनले आर्थिक कारोबार प्रभावित रहँदा मोटरसाइकल खरिद गर्न चाहने ग्राहक चुप लागेर बसेका थिए । उनीहरूलाई रोजाइका अफर दिएर कम्पनीहरूले आकर्षित गर्न खोजेका हुन् ।
टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा आक्रामक योजना ल्याएको छ । टीभीएसको मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ नगद छुट दिएको छ । यससँगै शून्य फाइनान्समा मोटरसाइकल र स्कुटर किन्ने अफर पनि ल्याएको छ ।
अहिले डाउनपेमेन्ट मात्र तिरेर टिभीएसका मोटरसाइकल र स्कुटर लगेर ग्राहकले ६ महिनापछि मात्र बाँकी किस्ता भुक्तानी सुरु गर्न पाउने छन् । अर्थात्, किस्ता भुक्तानीको तालिका नै ६ महिनापछिबाट सुरु हुनेछ । किस्ता तिर्ने तालिका सुरु नहुन्जेल (६ महिना) सम्म ग्राहकले मासिक ९९ रुपैयाँ मात्र तिरे हुने कम्पनीका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले जानकारी दिए ।
'कोभिड-१९ का बेलामा दुईपाङ्ग्रे सवारी साधन नै विकल्प हो,' उनले भने, 'त्यसैले, ग्राहकलाई सहज ढंगले दुई पाङ्ग्रे उपलब्ध गराउन भारी छुट र अन्य अफर ल्याइएको हो ।'
बजाजका मोटरसाइकलको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले खरिदकर्ताका लागि फाइनान्समा तीन किसिमको आकर्षक प्याकेज ल्याएको उपमहाप्रबन्धक पुनम सिंहले बताइन् । अफरअन्तर्गत ग्राहकले बजाजका मोटरसाइकल खरिद गर्दा १२ हजार रुपैयाँ छूट, २० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्ने जानकारी उनले दिइन् ।
उनका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजको बाइक खरिद गर्न सक्नेछन् ।
'अटोमोबाइल व्यवसायको पिक सिजनमा लकडाउन भइदियो । जसका कारण बाइक खरिद गर्न चाहने ग्राहकहरु पनि बञ्चित भए । अब रोजगारका लागि विभिन्न मुलुकमा गएका नेपाली नागरिक फर्किने क्रममा हुनुहुन्छ । कतिपयले अब नेपालमै बसेर जीविकोपार्जन गर्ने सोच बनाउनुभएको छ,' उनले भनिन्, 'हामीले उहाँहरुको अवस्थालाई मध्यनजर गर्दै फाइनान्स स्किम लागू गरेका हौं ।'
स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनमार्फत बिक्री सुरु गरेको उनले बताइन् । 'हामीले आइतबारबाट कार्यालय खोलेका छौं । अब ग्राहकले बजाज नेपालको आधिकारिक वेबसाइटमा गएर बाइक बुकिङदेखि अर्डर गर्न सक्नुहुनेछ । उहाँहरुको मागअनुसार होम डेलिभरीको सुविधा पनि राखेका छौं,' उनले भनिन् ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले यो स्किम एक साताअघि सार्वजनिक गरेको हो ।
नेपालका लागि होण्डा कम्पनीका मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले एक रुपैयाँको डाउनपेमेन्टमा बाइक खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकले एक प्रतिशत ब्याजदरमा होण्डा बाइक खरिद गर्न सक्नेछन् ।
यसैगरी, यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता मोरङ अटोवर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले 'असहज परिस्थिति सहज समाधान' स्लोगन राखेर फाइनान्सतर्फ विशेष योजना सार्वजनिक गरेको छ । शून्य ब्याजदरमा शून्य प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने अफर ल्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले यामाहाको मोटरसाइकल खरिद गर्दा १० हजार रुपैयाँको छुट पाउन सक्नेछन् । कम्पनीले मुलुकभर आफ्ना आधिकारिक शोरुममा एक्सचेन्ज अफर पनि सुरु गरिसकेको जनाएको छ ।