काठमाडौं । लकडाउन अवधिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।
बजार अनुगमन गर्ने क्रममा गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा एक करोड ६५ लाख ५७ हजार राजश्व संकलन भएको जनाइएको छ । काठमाडौं उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२ पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागले जनाएको छ ।
बन्दाबन्दी अवधिमा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट आएको गुनासोलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिएर अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार सरकारले अत्यावश्यक सेवामा राखेर सञ्चालन गर्न दिएका फर्मबाट नै बन्दाबन्दीको मौका छोपी कालोबजारी गर्ने गरेको सूचनानुसार कार्यालय समय नभनी बिहान र साँझसमेत अनुगमन गरी कारवाही गरियो । अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन् ।
बन्दाबन्दीको सुरुका दिनमा विभागको टोल फ्री नम्बर ११३७ मा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा पछिल्लो समय शून्यमा झरेको विभागका अधिकारी बताउँछन् । विभागको तथ्यांकानुसार सुरवाती दिनमा खाना पकाउने एलपी ग्यास, मास्क, पञ्जा र थर्मल गनमा कालोबजारी भएको भन्दै विभागमा उजूरी आउने गरेको थियो ।
उपभोक्ताको गुनासोअनुसार काठमाडौं उपत्यकामा विभाग र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बन्दाबन्दी अवधिमा देशभर ६६७ फर्मको अनुगमन गर्दा २८४ फर्म सामान्यावस्थामा रहेको, १ ८४ फर्ममा कैफियत देखिएको र ३० फर्मलाई स्पष्टीकरणका लागि बोलाइएको थियो । यसैगरी ५१ लाख दुई हजार ६३३ मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो भने तीन फर्मबाट परीक्षणका लागि नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको छ ।
विभागका तथ्यांकानुसार बन्दाबन्दी अवधिमा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई अनुगमन गरी कारबाही गरिएको छ ।