जेठ ०४, २०८१, शुक्रबार
               

मल अभावपछि मनलाग्दी मूल्यवृद्धि, भारतबाट आइपुग्न अझै डेढ महिना लाग्ने

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं- कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण वर्षेबाली लगाउने बेला रासायनिक मलको अभाव हुने देखिएपछि केही मल डिलर र सहकारी संस्थाहरुले मनलाग्दी रुपमा मूल्य बढाउन थालेका छन् ।

डिलर र सहकारी संस्थाले मलमा मूल्य बढाउन थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारबाही प्रकृया थालेको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै ‘मल अभावको विद्यमान अवस्थामा केही डिलर सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो प्राप्त हुन आएकोले र कानुनविपरीतको त्यस्तो कार्य नगर्न/नगराउन भनेको थियो ।

तर केही डिलर तथा सहकारीले बढी मूल्य असुलेको पुष्टि भएपछि मन्त्रालयले कारबाहीको प्रकृया थालेको हो । 

यस वर्षको वर्षे सिजन सुरु भएसँगै रासायनिक मलको मागमा अत्यधिक वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ लाख मेट्रिक टन बढी हो । 

नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ भने उक्त मल भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिन्छ । नेपाल र भारतमा गत चैत्रबाट सँगसगैजस्तो लकडाउन सुरु भयो भने चीनमा पहिलेदेखि नै लकडाउन जारी थियो ।

भारतमा लकडाउन भएपछि कलकत्ता बन्दरगाहमा नेपालको मल ब्यागिङ्ग र लोड अनलोड गर्ने कार्य पूर्णतः बन्द भएको मन्त्रालयलका प्रवक्ता डा. हरि बहादुर केसीले जानकारी दिए । बन्दरगाह बन्द हुँदा र मजदुर अभावका कारण तेश्रो मुलुकबाट कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन मल १ महिना १५ दिनसम्म व्यागिङ्ग र लोड अनलोड हुन नसकेको केसीको भनाइ छ । 

नेपालमा लकडाउनले गर्दा असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पुरा भएको ५० हजार मेट्रिक टन युरिया मल हालैमात्र चलान हुने प्रक्रियामा छ। जुन मल भारतको कलकत्ता हुँदै नेपाल आइपुग्न अझै डेढ महिना समय लाग्न सक्नेछ।

मन्त्रालयले रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजनाअनुसार सम्पूर्ण काम समयमै पुरा गरिसकेको भएतापनि १ लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएको छ।

यद्यपि गत आर्थिक वर्षको तुलनामा यसवर्ष कूल परिमाणमा २५ हजार मेट्रिक टनभन्दा बढी मल आयात तथा वितरण गरिसकिएको पनि मन्त्रालयले जनाएको छ। 

रासायनिक मल युरिया, डिएपी र पोटासमध्ये वर्षेबालीका लागि कृषकहरुको रोजाईमा युरिया पर्ने गरेको छ। तर युरिया मल मात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीनवटै प्रकारका रासायनिक मल सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि