असोज ०६, २०८१, आइतबार
               

हवाई भाडामा भारी छूट

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि ८६० रुपैयाँ घटाएर दुई हजार २३० रुपैयाँ कायम गरिएको छ ।

काठमाडौं–भद्रपुरको ७५० घटाइ एक हजार ९५० बनाइएको छ । काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको दुई हजार १६० बाट ६०० घटाएर एक हजार ५५० रुपैयाँ कायम गरिएको छ ।

पोखराको २७० रुपैयाँ घटाएर ६९५ रुपैयाँ बनाइएको छ । काठमाडौं–धनगढीको साविकको तीन हजार ९७५ रुपैयाँबाट एक हजार १०५ घटाई दुई हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको ८१५ घटाई दुई हजार ११५ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा ५५८ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि