सरोकारवालाहरूले नेपालमा घरजग्गाको मूल्य घट्न सक्ने अनुमान गरेका छन् । बैंकिङ, कानुन एवं लेखापरीक्षण क्षेत्रका विज्ञहरूले यस्तो अनुमान गरेका हुन् ।
नेपाल भ्यालुअर्स एसोसिएसनको आयोजनामा भएको छलफलमा सहभागी विज्ञहरूले मूल्याङ्कन क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास पालना गर्नुपर्नेमा जोड पनि दिएका छन् ।
छलफलमा कसले के भने ?
अन्तर्राष्ट्रिय बजारको नकारात्मक असर नेपालमा पनि पर्न सक्छ
इ. देवेन्द्रकुमार श्रेष्ठ, मूल्याङ्कनकार्य विज्ञ
अन्तर्राष्ट्रिय स्तरमा घरजग्गाको मूल्यमा नकारात्मक असर परेको देखिन्छ । यस्तो अवस्थालाई विचार गर्दै नेपालमा पनि मूल्याङ्कन कार्य अन्तर्राष्ट्रियस्तरको हुन जरुरी छ ।
अब पनि अन्तर्राष्ट्रियस्तरको मूल्याङ्कन कार्य नगर्ने हो भने बजारको अनिश्चितता एवम् यस्ता महामारीको बेला बैंक तथा मूल्यांकनकर्तालाई ठूलो असर पर्ने देखिन्छ ।
मूल्यांकन कार्य विज्ञान होइन, कला हो । जसमा मूल्याङ्कनकर्ताले आफ्नो अनुभव र बजार मूल्यका आधारमा आफ्नो राय तथा विश्लेषण दिने गर्दछन् । यसलाई थप व्यवस्थित बनाउन मूल्याङ्कन कार्य सम्बन्धमा विशेष कार्यविधि हुन जरुरी रहे पनि नेपालमा अहिलेसम्म कुनै पनि किसिमको गाइडलाइन्स, ऐन तथा नियम नबन्नु ठूलो चुनौती बनेको छ ।
थप दुर्घटनाबाट बच्न केही समयलाई मूल्याङ्कन कार्य बन्द गरौँ
भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन
कोभिड–१९ का कारण घरजग्गामा आउन सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै सबै सरोकारवालाको बीचमा समन्वय तथा सहकार्यका निम्ति एउटा कमिटी बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
हामी मूल्याङ्कनकर्ता र बैंकरहरू सहयात्री भएकाले दोषारोपण गर्नुभन्दा पनि समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्न जरूरी छ ।
घरजग्गाको मूल्यको अनिश्चितताको कुरालाई ध्यानमा राख्दै नयाँ मूल्याङ्कनको कार्य केही समय नगर्ने र पुनः मूल्याङ्कन गर्दा आगामी दिनमा हुन सक्ने दुर्घटनाबाट बच्न सकिन्छ ।
धेरै गिरावट नआऊला
गोविन्द ढकाल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन
कोभिड–१९ का कारण घरजग्गामा असर देखिए पनि नेपालमा तत्काल मूल्यमा धेरै गिरावट त नआऊला । तर, अवस्था अझै अनिश्चित नै छ । अहिलेको विषम परिस्थितिमा हामी सबै मिलेर अघि बढ्नुको विकल्प छैन ।
अहिलेसम्म अपनाएको परम्परागत मूल्याङ्कन कार्यले पार्न सक्ने प्रभाव कम गर्न र अबका दिनमा नयाँ तवरले अघि बढ्न अन्तर्राष्ट्रिय मूल्याङ्कन विधिहरू अपनाउन जरूरी छ । त्यस कार्यमा संलग्न रहन र आवश्यक सहयोग गर्न बैंकरहरू तयार नै छौँ ।
मूल्याङ्कनकर्तालाई कालो सूचीमा राख्ने कार्य गलत
सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल फाइनान्सियल इन्स्टिच्युसनल एसोसिएसन
कोडिभ–१९ को असर घरजग्गामा पनि केही न केही त अवश्य पर्छ नै । बैंक तथा वित्तीय संस्थाले आफ्नो फाइदाका लागि मूल्याङ्कनकर्ताले सिफारिस गरेबमोजिम कर्जा उपलब्ध गराउने तर अप्ठ्यारो परिस्थिति सिर्जना भए त्यसको जवाफदेही स्वयम् मूल्याङ्कनकर्तालाई नै बनाउने प्रचलन छ, त्यो गलत हो । यस कार्यलाई व्यवस्थित बनाउन जरूरी छ ।
मूल्याङकनकर्तालाई कालो सूचीमा राख्नु नेपाल राष्ट्र बैंकको गलत कार्य हो । उक्त कार्यविरुद्ध एकसाथ मूल्याङ्कनकर्ता एवं बैंकर्सले आवाज उठाउन जरुरी छ ।
सबै बैंकमा एकै किसिमको गाइडलाइन चाहिन्छ
कृष्णप्रसाद आचार्य, अध्यक्ष, आइक्यान
घरजग्गाका लागि ऋण प्रवाह गर्न पछिल्लो समय मूल्याङ्कनलाई उच्च प्राथमिकतामा राखिँदै आइएको छ । यस्तो अवस्थामा मूल्याङ्कन कार्यलाई व्यवस्थित बनाउन र यसमा एकरूपता ल्याउन सबै बैंक तथा वित्तीय संस्थाहरूले एकै किसिमको गाइडलाइन्स लागू गर्नुपर्ने आवश्यकता देखिएको छ ।
आगामी दिनमा महामारीलगायत आर्थिक मन्दीका बेलामा यस्ता ठूला एकै किसिमको गाइडलाइन्सले हामीलाई विशेष सहयोग पुर्याउन सक्छ । साथै, मूल्याङ्कन कार्यमा अन्तर्राष्ट्रिय प्रविधि र ज्ञान अवलम्बन गर्न ढिलो गर्न हुँदैन ।