जेठ ०१, २०८१, मंगलबार
               

व्यापारी पसल खोल्ने, प्रहरी बन्द गराउँदै हिँड्ने

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

लकडाउन लम्बिँदै जाँदा दैनिक गुजारा चलाउनै समस्या परेको भन्दै साना व्यवसायीले स्वस्फूर्त व्यवसाय सञ्चालन गर्न थालेका छन् । लकडाउनको अवज्ञा गर्दै पसल, सोरुमहरू खोल्न थालेका हुन् ।

काठमाडौं उपत्यका, पोखरा, नेपालगन्ज, हेटौँडा, जनकपुर, विराटनगर, सुर्खेतलगायत सहर बिहीबार आंशिक रूपमा खुले । कतिपय स्थानमा भने प्रहरीले अवरोध गरेपछि व्यवसायीले बन्द गरे । सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघको अगुवाइमा देशैभर आंशिक रूपमा व्यापार-व्यवसाय खुल्न थालेको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

‘स्थानीय प्रशासन तथा स्थानीय सरकारसँग समन्वय गरेर निश्चित समय तोकेर सहर बजारमा व्यापार-व्यवसाय खुलेका छन्, खुल्नेक्रम बढेको छ, बिस्तारै पूरै आर्थिक गतिविधि खुलाउने हाम्रो योजना हो,’ प्रधानले भने । उनले साना तथा मझौला व्यवसायी रोगले भन्दा भोकले मर्ने स्थिति आएकाले लकडाउनको अवज्ञा गर्न बाध्य भएको बताए ।

थुप्रै ठाउँमा प्रहरीले दमन गरेकामा महासंघले विरोधसमेत जनाएको छ । सधैँ बन्द गरेर मात्रै कोरोना रोकथाम नहुने भन्दै उनले स्वास्थ्य मापदण्ड अपनाउँदै स्थानीय प्रशासन र सरकारको समन्वयमा अब क्रमशः व्यापार-व्यवसाय सञ्चालन गर्नुपर्ने उनले बताए ।

काठमाडौंमा खोल्ने-बन्द गराउने क्रम जारी

काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले राजधानीमा धेरै पसल खोल्ने प्रयास गरिएको भए पनि प्रशासनले अवरोध गरेको बताए ।

‘प्रहरीले साना व्यवसायीलाई पसल खोल्न नदिने, कुट्ने, झपार्ने, लतार्नेजस्ता अमानवीय काम गरिरहेको छ,’ उनले भने, ‘व्यवसायीहरू छाक टार्नै समस्या भएपछि पसल खोल्न बाध्य भएका हुन्, सरकारले बुझ्नुपर्छ ।’

कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको तथा संक्रमितसमेत ३ हजारनिजक पुगिसकेको सन्दर्भमा लकडाउनको औचित्य नदेखिएको उनको भनाइ छ ।

राष्ट्रिय व्यापार संघका महासचिव तथा न्युरोड-महाबौद्धका व्यवसायी वैकुण्ठ दाहालले साना व्यवसायी पलायन नै हुने अवस्थामा पुगेपछि लकडाउनको अवज्ञा गर्न थालिएको बताए । ‘आज पनि न्युरोड महाबौद्धमा आंशिक रूपमा पसलहरू खुले, तर प्रहरीले बन्द गरायो,’ उनले भने ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाद्यान्न तथा खुद्रा पसलहरू बिहान र बेलुकी नियमित खुलिरहेको जानकारी दिए । कतै–कतै भने प्रशासनले अझै पनि अवरोध गर्ने गरेको उनले गुनासो गरे । ‘लकडाउन लम्बिँदै गएपछि आजित भएर जुत्ता, फेन्सी, कस्मेटिकलगायत अन्य पसलहरू पनि खुल्न थालेको देखिन्छ,’ उनले भने ।

भक्तपुर र ललितपुरमा बिहान मात्र खुल्ने

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले दुई दिनअघि विज्ञप्ति जारी गर्दै सरकारलाई लकडाउन खुकुलो बनाउन सुझाब दिइएको बताए ।

‘व्यवसायीहरू मानसिक रूपमै कमजोर हुन थालिसके, त्यसैले हामीले लकडाउन खुकुलो बनाऔँ, व्यवस्थित गरौँ भनेका हौँ,’ उनले भने, ‘लकडाउनबाट आजित भइसकेपछि व्यवसायी आफैँले स्वस्फूर्त रूपमा आफ्ना व्यापार–व्यवसाय आंशिक रूपमा सञ्चालन गर्न थालेका छन् ।’ ललितपुरका मुख्य बजारहरूमा आंशिक रूपमा पसल खुल्न थालिसकेको उनले बताए ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले दुई साताअघिदेखि नै भक्तपुरमा बिहानको समयमा व्यवसाय खुल्न थालेको बताए । तर, भक्तपुरमा कोरोना संक्रमण देखिएपछि रोकिएको उनले जानकारी दिए ।

तर, संघको रोहबरमा शुक्रबारदेखि पुनः बिहान १० बजे निर्माण, इलेक्ट्रोनिक्स, फेन्सी, हार्डवेयरलगायत अधिकांश व्यापार-व्यवसाय सञ्चालनमा आउने उनले जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि