काठमाडौं । कोभिड—१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत ग्राहकले आफ्नो मिटरमा उठेको विद्युत् खपतको अङ्क राख्न पाउने व्यवस्था गरेको छ ।
इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्री नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अङ्क टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने प्राधिकरणले जनाएको छ ।
यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी (consumer.nea.np) मा जानुपर्ने हुन्छ । त्यसपछि ग्राहकले पहिलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर तथा इच्छाअनुसार पासवर्ड राख्नु पर्नेछ ।
पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम (Add Consumer Bottom) क्लिक गरी खुल्ने कन्जुमर रजिष्ट्रेशन फारम (Consumer Registration Form) मा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ । पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अङ्क ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ । मिटरको अङ्क देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युत् महसुल देखाउनु पर्छ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ ।
ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अङ्क राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रस्ट पारेको छ ।
प्राधिकरण कम्प्युटराइज्ड विलिङ महाशाखाकाअनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिष्ट्रेशन गराएका छन् । ८ हजार ग्राहकले आफैँ आफ्नो विद्युत् मिटरमा चढेको अङ्क प्रणालीमा राखी समयमै रिडिङ गराई अनलाइनमार्फत महसुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।
प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको थियो । हाल सात लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।