मंसिर ०१, २०८१, शनिबार
               

वैदेशिक रोजगारीमा जानेको संख्या ५० लाख पार

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको रोजगारीको अवसर खुम्चिँदै गएपछि आम्दानीको स्रोत जुटाउन बिदेसिने नेपालीको संख्या ५० लाख नाघेको छ । आव ०७६–७७ को आर्थिक सर्वेक्षणका अनुसार विभिन्न समयमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५० लाख ४१ हजार रहेको छ ।

यद्यपि, यति नै नेपाली अहिले वैदेशिक रोजगारीमा छन् भन्ने चाहिँ होइन । वैदेशिक रोजगारीमा पटकपटक जाने, वैदेशिक रोजगारीमा गएर अहिले स्वदेश फर्किएका र वैदेशिक रोजगारीमै रहेका नेपालीको एकमुष्ट नेपाली युवाको गन्ती हो यो । सर्वेक्षणले बैदशिक रोजगारीमा गएका नेपालीले किन दुःख पाउँछन् भन्ने तथ्य पनि उजागर गर्न खोजेको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७४.५ प्रतिशत अदक्ष कामदार हुन् । कुनै सीप बिनै काम खोज्न बिदेसिँदा नेपालीले दुःख पाइरहेको यो तथ्यांकले देखाउँछ । सीप सिकेर दक्ष कामदार बनेका १.५ प्रतिशत र २४ प्रतिशत अर्धदक्ष युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

नेपालबाट सबैभन्दा बढी कतार, मलेसिया, साउदी अरब, दुबई र कुवेतमा रोजगारीका लागि जाने गरेका छन् । पछिल्लो वर्षहरूमा साइप्रस, रोमानिया, माल्दिभ्स, माल्टा, जोर्डन, टर्कीलगायतका देशमा नेपालीको आकर्षण बढ्न थालेको छ । मुलुकभित्र पर्याप्त रोजगारीको अवस्था सृजना हुन नसक्दा बिदेसिनु नेपाली युवाको बाध्यता भएको छ ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ०.०३ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा पठाउनका लागि फागुन ०७६ सम्म एक हजार चार सय ४१ म्यानपावर कम्पनी दर्ता भएका छन् । यसमध्ये १४.४ प्रतिशत प्रतिबन्धमा परेका छन् ।

नेपालबाट वैदेशिक रोजगारीका लागि १ सय १० वटा मुलुक खुला गरिएका छन् । व्यक्तिगत पहिचानका आधारमा गएर काम गर्नका लागि १ सय ७२ मुलुकसँग श्रम सम्झौता भएको छ । वैदेशिक रोजगारीमा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला जाने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्यु संख्या पनि बढिरहेको छ । चालू आवको फागुनसम्म ५ सय ९७ नेपालीको ज्यान गइएको छ । अघिल्लो वर्ष ७ सय ५४ नेपालीले कार्यरत देशमै मृत्युवरण गरेका थिए । विदेशमा कामको सिलसिलामा मृत्यु भएका परिवारलाई सरकारले आर्थिक सहायतासमेत वितरण गर्दै आएको छ ।

चालू आवको फागुन मसान्तसम्म ३७ करोड ३८ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको अर्थ मन्त्रालयले जनाएको छ । विगतमा ३ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेकोमा आव ०७४/७५ को बजेटबाट घोषणा गरी विदेशमा काम गर्ने कामदारको मृत्यु भए आश्रित परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्न थालिएको छ ।


कस्तो लाग्यो ?

यो पनि