काठमाडौं । नेपाली नागरिकको खर्च गर्ने प्रवृत्ति बढ्दै गएका आर्थिक सर्वेक्षणले देखाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा कमाइको ८१.९ प्रतिशत उपभोगमा खर्च हुने देखाएको छ । नेपालीहरूको औसत बचत १८.१ प्रतिशत मात्र छ । अर्थात् एक सय रुपैयाँ कमाई हुँदा नेपाली नागरिकले ८२ रुपैयाँ खर्च गर्ने गरेका छन् । सो कमाइबाट १८ रुपैयाँ मात्र बचत हुने गरेको यो तथ्यांकले देखाउँछ ।
खर्च गर्ने प्रवृत्ति विगतको तुलनामा बढ्दै गएको छ । गत वर्षको आर्थिक सर्वेक्षणले ७९.५ प्रतिशत खर्च गर्ने गरेको र २०.५ प्रतिशत बचत हुने गरेको देखाएको थियो । त्यतिबेलै खर्चको यो दरलाई नियन्त्रण गर्न सरकारले नागरिकलाई अपिल गरेको थियो । त्यसविपरीत नागरिकको खर्चको दर भने बढेको छ ।
सरकारले गत वर्ष खर्चको दर घटाउने र देशको शोधनान्तर स्थिति सुदृढ बनाउने भन्दै बिलासी बस्तुको आयातमा कडाइ गर्ने नीति लिएको थियो तर यो नीति कार्यान्वयन नहुँदा मुलुकमा बिलासी बस्तुको उपयोग बढ्दै गएको छ ।
खर्चको दर बढ्नुलाई महँगीसँग तुलना गरेर हेरिएको छ । यो वर्ष फागुनसम्म मूल्य वृद्धिदर ६.५ प्रतिशतमा पुगेको अर्थमन्त्रालयले जनाएको छ । जबकि गत वर्ष सोही अवधिमा ४.२ प्रतिशत मात्र महँगी बढेको थियो । बजार मूल्यमा आएको बढोत्तरीले खर्चको दरलाई असर गरेको अर्थ मन्त्रालयको विश्लेषण छ ।
बजारमा मूल्य वृद्धि बढे पनि नेपालीको आयमा पनि ठूलो सुधार आएको छ । प्रतिव्यक्ति नेपालीको औसत आम्दानी दोस्रो वर्ष पनि एक हजार डलर माथि पुगेको छ ।
प्रतिव्यक्ति नेपालीको औसत आम्दानी पहिलो पटक गत वर्ष एक हजार डलर माथि पुगेको थियो । गत वर्ष नेपालीको औसत आम्दानी १ हजार ३४ डलर थियो । यो वर्ष ७.५ प्रतिशतले बढेर प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन एक हजार ८५ डलर अर्थात् प्रचलित बिनिमयदर अनुसार एक लाख २६ हजार रुपैयाँ पुगेको हो । यो भनेको नेपालीको औसत वार्षिक कमाइ हो ।
आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘आर्थिक वर्ष ०७६–७७ मा प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन (प्रचलित मूल्यमा) गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ (अमेरिकी डलर १,०८५) पुग्ने अनुमान छ ।’ सरकारले चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको कारोबारलाई आधार मानेर आर्थिक सर्वेक्षण जारी गरेको हो ।