मंसिर ०७, २०८१, शुक्रबार
               

गाउँ फर्किएका युवाले थाले झाडी फाडेर सामूहिक खेती

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं । गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका छन् । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का बेला गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका हुन् ।  

उनीहरुले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती सुरु गरेका हुन् । 

म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो । 

६० रोपनी जग्गामा सिमी लगाइसकेका छन् । थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवा खनजोतमा जुटेका छन् ।

वैदेशिक रोजगारी र बसाइसराइँका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाँझिएको थियो । 

लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी सर्गप्रसाद रोकाले बताए । 

‘१६ जना जग्गाधनीले १० वर्षका लागि खेती गर्न भाडा नलिने गरी जग्गा दिएका छन,’ उनले भने, ‘मान्छेभन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरी गहत, सिमी र भटमास लगाएका छाैँ ।’

बाँझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो । झाडी फाड्न सहकारीले एक लाख २२ हजार ज्याला दिएर एक सय ४८ जनाबराबरको काम लगाएको थियो । 

६ हल गोरुलाई हलीसहित दैनिक एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ । झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौंबाट आएका युवा संलग्न छन् ।

बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाँझो जोत्ने काम गरेको बताए । 

बच्चा हुँदादेखि नै बाँझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकामा दिपेश शेरपुजाले खुसी व्यक्त गरे । 

दुखुमा ९८ घर छन् । आधाजसो बसाइसराइँ गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौँ गएका छन् । उनीहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन् । 

उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारी र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामूहिक खेती सुरु गरेको वडा सदस्यसमेत रहेका स्थानीयवासी पथबहादुर रोकाले बताए । 

कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमी, गहत र भटमास चर्चित थियो । पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे । अहिले गाउँमै सडक पुगेको छ । बजारको समस्या छैन ।

उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताए । 
कृषि उपज बजारीकरण गर्न दरवाङमा कोसेलीघर स्थापना गरेको उनले बताए ।

मालिका गाउँपालिकाले सातवटै वडामा सम्भावनाको आधारमा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । हावापानी र भूगोलअनुसार फलफूल, तरकारी, दलहन, पशुपालन र जडीबुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए । 

दुखुमा दलहन र टिमुरखेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ६ लाख विनियोजन गरेको उनले जानकारी दिए । 

‘दिच्याममा किबीखेती सुरु गरिएको छ,’ उनले भने,  ‘ढाँडखर्कमा गोलभेँडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि