जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन अवधिसम्म व्याज मिनाहा गर्न उद्योग वाणिज्य संघ ललितपुरको आग्रह

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशका विभिन्न नागरिकमा समस्या परेको भन्दै लकडाउन अवधिसम्म व्याज मिनाहादेखि विभिन्न विषयमा सहज बनाउन उद्योग वाणिज्य सङ्घ ललितपुरले आग्रह गरेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाले नेपालमा पनि दिनप्रति दिन प्रभाव प्रदै गएको छ ।

यस्तै, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाका कारण उद्योग व्यवसायसहित समग्र आर्थिक क्षेत्रमा ठुलो प्रभाव परेको भन्दै उद्योग वाणिज्य सङ्घले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

उक्त विज्ञप्तिमा लकडाउन अवधिसम्मको व्याज मिनाहा, साना करदाताहरूले बुझाउन आयकरमा शतप्रतिशत मिनाहा गर्नुका साथै अन्य करदाताहरूको हकमा आयकरमा ५० प्रतिशत छुटको व्यवस्था, लकडाउनको कारणले कच्चा पदार्थको म्याद गुज्रेमा सम्बन्धित पक्षलाई विशेष सुविधा वा राहतको व्यवस्थाको माग गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ :

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उद्योग व्यवसाय सहित समग्र आर्थिक क्षेत्रमा गहिरो प्रतिकूल प्रभाव पारिसकेको छ । यस महामारीले गर्दा हामी निजी क्षेत्रलाई अत्यन्त चिन्तित तुल्याएको छ । यस राष्ट्रिय विपतबाट पार पाउन हामी निजी क्षेत्र लगायत सबैले साझेदारी र हातेमालो गरी यस कठिन परिस्थितिको सामना गर्नु पर्ने आवश्यकता देखिन्छ । यस्तो विषम परिस्थितिबाट देशको अर्थतन्त्रलाई पुनर्जागरण र चलायमान गर्न नेपाल सरकारले पनि अन्य राष्ट्रहरूले जस्तै नै विभिन्न राहतका प्याकेजहरू ल्याएको छ । निजी क्षेत्रसँग सरसल्लाह विना नै राज्यले ल्याएको राहत कार्यक्रमहरूबाट उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानमा कुनै ठोस सहयोग नगर्ने स्पष्ट छ । त्यस कारण राज्यले अल्पकालीन र दिर्धकालिन आवश्यक राहतका कार्यक्रमहरू ल्याई ठोस निर्णयहरू गरी सशक्त कदम चाल्न अत्यन्त जरुरी देखिन्छ ।

सरकारले गरेको लकडाउनलाई निजी क्षेत्रले समर्थन र सहयोग गर्दै संक्रमण फैलन नदिनका लागि राज्यलाई सहयोग गर्न निजी क्षेत्र सदैव तयार रहेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आफ्नो सामर्थले  भ्याएसम्म लकडाउनबाट प्रभावित सर्वसाधारणलाई राहत सामाग्री वितरणका लागि ललितपुर जिल्लाको तीन वटै स्थानीय निकायलाई विविध खाद्य सामाग्री हस्तान्तरण गरेको छ भने संघकै अनुरोधमा  यस्तो प्रकोपको समयमा पनि बजारमा अत्यावश्यक वस्तु तथा सेवाको वितरण तथा आपूर्ति सहज गर्न सहयोगीको भूमिका निर्वाह गर्ने सम्पूर्ण व्यवसायीहरूलाई “आफू पनि बचौँ अरूलाई बचाऔँ” भन्दै सङ्घ उनीहरूको योगदानका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

महिनौँ सम्मको लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परेको छ । यस्तो अवस्थामा लकडाउन खुल्ला गरे पश्चात् निजी क्षेत्रले आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिक, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज र किस्ता, घर तथा गोदामको भाडा, कर राजश्वको भुक्तानी गर्न सक्ने अवस्था रहन्न । अतः यस्तो विषम परिस्थितिको सामना निजी क्षेत्र एक्लैले गर्न सक्दैन । यस्तोमा राज्यले ठुला ठुला राहतका कार्यक्रम ल्याएर निजी क्षेत्रलाई बचाउनु पर्दछ । अन्यथा राज्यको अर्थतन्त्र नै धरापमा पर्ने निश्चित छ ।

यो यथार्थलाई यथाशक्य चाँडो मनन गर्दै आर्थिक क्षेत्रलाई जोगाउन राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै ललितपुर जिल्लाको निजी क्षेत्रको एक मात्र छाता सङ्गठनको रूपमा रहेको यस ललितपुर उद्योग वाणिज्य सङ्घको निम्न अल्पकालीन र दिर्धकालिन राहतका विषयमा तत्कालै राज्य एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

अल्पकालीन रूपमा गर्नु पर्ने सुझाव

  • लकडाउन अवधिसम्मको व्याज मिनाहा गर्नु पर्ने ।
  • साना करदाताहरूले बुझाउन पर्ने आयकरमा शतप्रतिशत मिनाहा गर्नुका साथै अन्य करदाताहरूको हकमा आयकरमा ५० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने ।
  • लकडाउनको कारणले कच्चा पदार्थको म्याद गुज्रेमा सम्बन्धित पक्षलाई विशेष सुविधा वा राहतको व्यवस्था गर्नु पर्ने ।
  • व्यवसाय सञ्चालनको लागि पुन कर्जाको व्यवस्था गर्नु पर्ने ।
  • स्थानीय निकाय तथा नेपाल सरकारले लिने बहाल कर मिनाहा गर्नु पर्ने ।
  • औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको बहाल रकम मिनाहा गर्नु पर्ने ।
  • लकडाउन अवधि भरको पारिश्रमिक भुक्तानीमा निजीक्षेत्रले ५० प्रतिशत मात्र भुक्तानी दिए पुग्ने व्यवस्था गर्नु पर्ने ।
  • चालु आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नु पर्ने ठेक्का पट्टामा आयोजित निर्माण कार्यको अवधिलाई म्याद थपको व्यवस्था हुनु पर्ने ।

दीर्घकालीन रूपमा गर्नु पर्ने सुझाव

  • सबै प्रकारको कर्जाहरूमा आगामी २ वर्ष सम्मको लागि बैङ्कको आधार धर बराबरमा व्याज कायम गर्नुका साथै कर्जा नवीकरण शुल्क मिनाहा र कर्जा चुक्ताका लागि पुनरतपालिका व्यवस्था हुनु पर्ने ।
  • सम्बन्धित सङ्घ संस्थाको सिफारिसमा साना करदाताहरूलाई बढीमा २०लाख सम्मको विना धितो कर्जाको व्यवस्था गर्नुका साथै नगद तरलता अभाव नहुनको लागि उद्योगबाट उत्पादित वस्तुलाई नै धितो राखेर कर्जा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने ।
  • आयात प्रतिस्थापन हुने उद्योग र आत्मनिर्भर बनाउने उद्योगहरूका लागि विशेष राहत प्याकेजको व्यवस्थाका साथै त्यस्तो उद्योगबाट उत्पादित वस्तुहरूको प्रयोग वा खरिदमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारको पहिलो प्राथमिकता हुनु पर्ने ।
  • उद्योगी व्यवसायीहरूले गर्ने व्यवसायसँग सम्बन्धी बिमाको प्रिमियम भुक्तानीमा ५० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने ।
  • लकडाउन अवधिभरको विद्युत् महसुलमा पूर्ण छुटका साथै आगामी १ वर्ष सम्मको लागि विद्युत् महसुलमा २० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने ।
  • विदेशमा काम गरी स्वदेश फर्किने कामदारहरूका लागि स्वदेशमै स्वरोजगार बनाउन उपयुक्त सिपमूलक तालिमको लागि बजेटको व्यवस्था गर्नु पर्ने ।
  • नयाँ बजार पहिचानको लागि सरकारले पहल गर्नु पर्ने ।
  • सरकारले गरेको हरेक निर्णयहरूलाई कार्यान्वयन गर्न गराउन सरकारी एवं सम्बन्धित निकायबाट विशेष पहल गर्नु पर्ने ।
  •  

कृष्ण लाल महर्जन
अध्यक्ष

यो पनि