बैशाख १६, २०८१, आइतबार
               

यसरी पर्दाफास भयो भाटभटेनीको ठगी धन्दा

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘चेन सुपरमार्केट’ भाटभटेनीले एउटा सामग्री बिक्री गर्दा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा १ सय रुपैयाँ बढी असुलेको पुष्टि भएपछि अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । यद्यपि, भाटभटेनीले उक्त जरिवाना रकम तिरिसकेको छैन ।

बालुवाटारको  जग्गा हत्याउन सक्ने क्षमता भएको भाटभटेनी कसरी सरकारी अनुगमनको फन्दामा पर्‍यो भन्ने विषय नेपाल फ्ल्यासले सोधीखोजी गरेका छौँ । विभागको निर्देशक सागर मिश्रका अनुसार सोमबार बिहान ११ बजे वाणिज्य विभागको गुनासो सम्बन्धी सूचना प्रणाली (इमेल) मा एउटा उजुरी आएको थियो । त्यो भाटभटेनी सुपरमार्केटसँग सम्बन्धित थियो ।

अनुगमनसम्बन्धी उजुरी गर्ने इमेलमा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि रहेको भाटभटेनी सुपरमार्केटले लाखमरी मिठाइ किन्दा बढी मूल्य असुलेको भनेर प्रस्टसँग खुलाइएको थियो । ‘उजुरीमा एक प्याकेट मिठाइ र सोको खरिद बिल समेत राखिएको थियो’ मिश्रले भने ।

उजुरीमा प्राप्त मिठाइको फोटोमा नै सम्बन्धित उत्पादकले तोकेको अधिकतम खुद्रा मूल्य १ सय २० रुपैयाँ लेखिएको प्रस्टसँग देखिएको थियो । उत्पादकले उल्लेख गरेको एमआरपी भन्दा बढी मूल्यमा कुनै पनि सामान बिक्री गर्न बन्देज छ । तर, भाटभटेनीले सो एमआरपीको वास्ता नगरी आफ्नो ‘प्राइस ट्याग’ २ सय २० रुपैयाँ उल्लेख गरेको थियो ।

उत्पादकले तोकेको मूल्य नै अन्तिम हुन्छ र उपभोक्ताले सोही मूल्यमा खरिद गर्नुपर्ने प्रावधान विपरीत भाटभटेनीले अर्को प्राइस ट्याग राखेको पाएपछि विभागका कर्मचारीहरू अनुगमनमा गएर अनुसन्धान गर्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार भाटभटेनीमा गएर अनुगमन गर्ने विषयमा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसँग अन्य कर्मचारीले छलफल गरेका थिए ।

‘सानातिना पसल भए तुरुन्त अनुगमनमा निस्कन हुन्थ्यो तर देशको सबैभन्दा ठुलो डिपार्टमेन्ट स्टोरमा पुगेर अनुगमन गर्न हतार गर्नु हुँदैन भनेर विभागमा छलफल थालियो’ एक कर्मचारीले भने । लकडाउन भए पनि अनुगमनकारी निकाय भएकाले वाणिज्य विभागका कर्मचारीहरू नियमित रूपमा कार्यालय जाने गरेका छन् । सोमबार बिहान पनि महानिर्देशक सुवेदीलगायतका कर्मचारी पुगेका थिए । उनीहरू अफिस पुगेलगत्तै उजुरी आएको थियो ।

प्राप्त उजुरी हेर्दा भाटभटेनीलाई दुई लाख रुपैयाँ नगद जरिवाना गर्न सक्ने आधार देखिएको थियो । तर, कहिलेकाहीँ उजुरीसमेत कुनै स्वार्थले आउने हुँदा सजग भएर काम गर्नुपर्ने विषयमा विभागमा छलफल भयो । त्यसैले विभागका महानिर्देशक सुवेदीले कर्मचारीहरूलाई नै भाटभटेनीको ग्राहक भनेर लाखमरी किन्न निर्देशन दिएका थिए । त्यसरी किन्दा पनि उजुरीमा उल्लेख भएअनुसार बढी मूल्यको बिल आए कानुनअनुसार कारबाही गर्न उनले आदेश दिएका थिए ।

विभागमा यसरी छलफल गर्दैगर्दा दिउँसो २ बजिसकेको थियो । केही कर्मचारी अनुगमनका लागि फिल्डमा निस्किसकेका थिए । त्यसैले ती टोली फर्केपछि केही सदस्य थपेर बेलुका घर जाँदा भाटभटेनीमा अनुगमन गर्ने सहमति भयो । अनुगमनको नेतृत्व निर्देशक सागर मिश्रले गर्ने निर्णय पनि भयो ।

फिल्डमा गएका अन्य कर्मचारी पनि आएपछि निर्देशक मिश्रको नेतृत्वमा ६ सदस्यीय टोली साँझ ५ बजे बबरमहलस्थित विभागबाट एउटा गाडीमा टंगालस्थित भाटभटेनी सुपर मार्केट पुग्यो । त्यहाँ एक–एक जना गरी भित्र किनमेलका लागि जानुपर्ने र बढीमा २० जनासम्म भित्र बस्न पाइने नियम लगाइएको थियो ।

त्यसैले अनुगमनमा गएका विभागका कर्मचारीमध्येबाट ध्रुव खनाललाई पूर्वयोजनाअनुसार दुई प्याकेट लाखमरी मिठाई किन्न भित्र पठाइयो । भाटभटेनीको भुईँ तल्लामा रहेको खाद्यान्न पसलसँगै मिठाइको पनि बिक्री कक्ष छ । त्यहाँ पुगेर खनालले दुई प्याकेट लाखमरी ल्याएर काउन्टरमा बिलिङका लागि दिए । भाटभटेनीका कर्मचारीले ४ सय ४० रुपैयाँको बिल दिए । त्यसपछि अनुगमन टोलीलाई कारबाही प्रक्रिया अघि बढाउन सहज भएको मिश्र बताउँछन् ।

‘हामीले किनेको दुई प्याकेट लाखमरीको एमआरपी अनुसार २ सय ४० रुपैयाँ मात्र पर्नुपर्ने हो । तर, भाटभटेनीले हामीलाई चार सय ४० को बिल थमायो’ मिश्र भन्छन्, ‘हामीले ग्राहक भनेर गरेको अनुसन्धान सफल भयो र कारबाही गर्न सजिलो भयो ।’

भाटभटेनीका कर्मचारीले एमआरपीभन्दा बढीको बिल दिएपछि अनुगमन टोलीका ६ जना सदस्य नै भित्र गएर वाणिज्य विभागबाट आएको परिचय देखाई आवश्यक सोधपुछ सुरु गरेका थिए । काउन्टरका कर्मचारीले शाखा प्रमुखलाई बोलाएर विभागसँग छलफल गराएका थिए ।

त्यसक्रममा भाटभटेनीका कर्मचारीले अर्को कुनै सामानमा राख्नुपर्ने ट्याग भुलवश लाखमरीमा परेको भन्दै सच्याउने बताएका थिए ।
कर्मचारीको यस्तो स्पष्टोक्तिपछि अनुगमन टोलीले लाखमरी राखेको ठाउँमा पुगेर निरीक्षण गरेको थियो । त्यसक्रममा बिक्रीका लागि राखिएका सबै लाखमरीमा भाटभटेनीले प्रति प्याकेट २ सय २० रुपैयाँको ट्याग लगाएको भेटिएको थियो ।

‘भाटभटेनीका कर्मचारीले भने जस्तो भुलवश लाखमरीमा बढी मूल्यको ट्याग लागेको देखिएन । किनभने सबै प्याकेटमा उस्तै ट्याग थियो’ मिश्रले भने, ‘भुलवश भएको भए कुनै प्याकेटमा त्यस्तो नहुनुपर्ने थियो ।’ भाटभटेनीले नियतवश उपभोक्ता ठग्ने उद्देश्य राखेर लाखमरी बिक्री गरी बढी रकम लिएको पुष्टि गर्दै विभागका कर्मचारी ३ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको पत्र दिएर बिदा भएका थिए । अनुगमन टोली साँझ साढे ६ बजे त्यहाँबाट निस्किएको थियो ।

स्मरण रहोस्, यसरी उपभोक्ता ठग्ने भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ हुन् । उनी आफूलाई समाजसेवी देखाउन चाहन्छन् । उनले केन्द्रीय कोरोना रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेर सामाजिक प्रतिष्ठा आर्जन गर्न खोजेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारलाई थप २५ लाख रुपैयाँ कोरोना नियन्त्रणका लागि सहयोग गरेका छन् । यता, उनीविरुद्ध भाटभटेनीमा कार्यरत तल्लो तहका कर्मचारीलाई श्रम ऐनअनुसार न्यूनतम तलब तथा सुविधा नदिएको आरोप पनि लाग्दै आएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि