जेठ ०५, २०८१, शनिबार
               

उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित भएका छन् । 

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउनले निरन्तरता पाउँदा अन्डा बिक्री नभएपछि व्यवसायी चिन्तित भएका हुन् । 

उत्पादित अन्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अन्डा थन्क्याउँदै आएको अन्डा उत्पादक धीरेन्द्र साउदले जानकारी दिए । 

अन्डाका लागि पालिने सो जातका कुखुरालाई चारो खुवाउने र हेरचाह गर्नमै धेरै रकम खर्च हुन थालेको उनको भनइ छ । 

‘फार्ममा पालिएका दुई हजार कुखुराले अन्डा दिन सुरु गरेका थिए । लकडाउन भएपछि उत्पादन भएका अन्डा बेच्न पाएका छैनौँ,’ उनले भने ।

कुखुरा पाल्नका लागि १५ लाख लगानी गरी फार्म सञ्चालन गरेका साउदकाे उत्पादित ३०० पेटी ६ लाख ३० हजार मूल्यका अन्डा बिक्री हुन नपाएको गुनासो छ । 

‘अब नष्ट गर्नुबाहेक अर्को विकल्प छैन,’ उनले भने, ‘अन्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको छ ।’
अन्डाका लागि पाल्दै आएको सो जातका कुुखुरापालनका लागि एक दिनमै १२ हजार मूल्यबराबरको चारो, औषधि, विद्युत् खर्च हुने उनले गुनासो गरे । 

त्यस्तै, कुखुरापालक जयबहादुर ऐरले फार्ममा पालिएका दुई हजार कुखुरापालनमा दैनिक खर्च बढ्दै गएको बताएका छन् । 
उनले पनि उत्पादित अन्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्ने चिन्ता बढेको बताए । 

‘उत्पादन लागतकै मूल्यमा अन्डा बेच्न खोजे पनि खरिदकर्ता पाउन सकेका छैनौँ,’ उनले भने, ‘बैंकबाट ऋण निकालेर गरिएको व्यवसाय धरासायी हुन थालेको छ । बैंकबाट लिएको ऋण तिर्न कुन स्रोतबाट पैसा जुटाउने पिरलो बढेको छ ।’

यो पनि