बैशाख २४, २०८१, सोमबार
               

माथिल्लो तामाकोसी अन्तिम चरणमा, ड्याम परीक्षण गरिँदै

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

दोलखा : उत्तरी दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्यसक्रममा आयोजनाको ड्याममा परीक्षण भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको ड्याममा अहिले पानी भरिन थालेको छ । त्यहाँ पानी भरिएपछि त्यसको लिकेज तथा अन्य प्राविधिक पक्षको परीक्षण हुने छ ।

अहिलेसम्मको परीक्षणका क्रममा कुनै समस्या नभएको र आयोजना छिट्टै सक्न द्रुतगतिमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए ।

मुहार फेर्ने आयोजना

आयोजनाको ड्याममा जम्मा भएको पानी ।माथिल्लो तामाकोसी आयोजनाको क्षमता ४५६ मेगावाट छ । यो हालसम्मकै नेपालको सबैभन्दा ठुलो आयोजना हो । बहुचर्चित र बहुप्रतिक्षीत माथिल्लो तामाकोसी राष्ट्रिय गौरवको आयोजना हो । सरकारको प्राथमिकता सदैव रहे पनि यो आयोजना भूकम्प र नाकाबन्दीको कारण केही वर्ष ढिलो पूरा हुन लागेको हो । अब मुलुक र आयोजनाले विषम परिस्थितिको सामना गर्नु नपरे आगामी असार मसान्तभित्र पहिलो फेजको काम समाप्त भइ विद्युत उत्पादन सुरु हुने छ ।

यो आयोजनाले नेपालको विद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भारतमा विद्युत् बेच्न सकिने छ । नेपालमा लोडसेडिङ अन्त्यका लागि कुशल वितरण तथा व्यवस्थापन, विद्युत् उत्पादन वृद्धिबाहेक भारतबाटसमेत विद्युत् ल्याउनु परेको थियो । यो आयोजनासँगै विद्युत् आयातको अवस्था अन्त्य हुने छ । नेपाललाई वर्षेनि अर्बौँ रुपैयाँ आम्दानीसमेत हुने छ ।

अझै छ चुनौती 

आयोजना यो आर्थिक वर्षभित्रै लक्ष्य छ । तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपालका अधिकांश आयोजनाको काम प्रभावित भइरहेको छ । आयोजनाका लागि चाहिने उपकरण तथा अन्य सामग्रीको अभाव हुन थालेको छ । यो अवस्थामा भूकम्प र नाकाबन्दीबाट अति प्रभावित यो आयोजनाको निर्माण सहज रूपमा अघि बढाउन कम चुनौती छैन । 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार कोरोनाको प्रभाव आयोजनामा केही देखिए पनि कामै रोक्नुपर्ने अवस्था नरहेको बताए । उनले भने- 'कोरोना भाइरस सङ्क्रमणको सामान्य प्रभाव त आम क्षेत्रमा परेकै छ । विद्युत् प्राधिकरण त्यसबाट अछुतो छैन । अहिलेको अवस्थासम्म आयोजनाको काम रोकिएको छैन । हामी समयभित्रै आयोजना सम्पन्न गर्न खटिरहेका छौँ ।'

सुखद् आयोजनाको दुखद् नियति

यो आयोजना स्वदेशकै लगानीमा बनेको हो । नेपालकै पैसा, ज्ञान, सिप र प्रविधिमा यो निर्माण पूरा हुने चरणमा छ । 

आयोजना ड्यामको प्राविधिक परीक्षण हुँदै ।तर यो आयोजनाले केही दुखद नियति भोग्नु पर्‍यो । २०७२ वैशाखको शक्तिशाली भूकम्पसँगै तामाकोसीको काम  झन्डै डेढ वर्ष रोकिन पुग्यो । ठेकेदार आवास गृहमा क्षति पुग्यो । भूकम्पबाट सडक तथा अन्य पहुँच मार्ग भत्किएको थियो । करिब तीन सय ६० मिटरको सुरुङ नै बनाउनु पर्‍यो । बाँधबाट सुरुङभित्र पानी ल्याउने इन्टेक नै १९ सेन्टिमिटर भासियो । त्यसपछि आयोजनाको डिजाइनमा केही परिवर्तन गर्नुपरेको थियो । 

आयोजना निर्माणकै क्रममा सुरुङको अन्तिम खण्डमा समस्या देखियो । कमजोर चट्टान देखिएपछि त्यसले पानीको भार थेग्न सक्ने अवस्था देखिएन । अनि डिजाइनमा परिवर्तन गर्नु पर्‍यो । 

त्यस्तै संविधान घोषणासँगै भारतसँगको नाकामा देखिएको अवरोधले पनि आयोजनाको काम प्रभावित बनेको थियो । हरेक वर्षायाममा आयोजनाको काम करिवकरिव रोकिने अवस्थामा छ । वर्षात् र पहिरोले काम गर्न नसकिने अवस्था हुने गरेको छ । कर्मचारी र स्थानीयबाट हुने अवरोध तथा बन्दले विगतमा काम प्रभावित भए पनि पछिल्लो दिनमा त्यस्तो अवस्था आएको छैन ।

आयोजना दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य थियो । आयोजना निर्माण गर्दा लागत अनुमान ३४ अर्ब रुपैयाँ थियो । आयोजना डिजाइन गर्दा अमेरिकी डलरको भाउ ८० रुपैयाँ थियो । तर अहिले प्रतिडलर ११५ भन्दा बढी पुगेको छ । यस कारण पनि आयोजनाको लागत बढेको हो । भूकम्प, नाकाबन्दी, बन्द-हडताललगायतका कारणले आयोजना ढिलाइ हुँदा लागत पनि बढ्दै गएको हो । यो आयोजना पूरा हुँदा लागत दोब्बरभन्दा बढी हुने निश्चित छ । 

आयोजनामा नेपाल सरकारको ११ अर्ब लगानी छ भने कर्मचारी सञ्चय कोषको १० अर्ब रुपैयाँ । त्यसैगरी नेपाल टेलिकमको ६ अर्ब हालेको छ भने नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको दुई/दुई अर्ब लगानी छ । आयोजनामा जनताले शेयरमार्फत लगानी गरेका छन् ।

 

यो पनि