काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना हुनु अगाडि पन्ध्रौँ पञ्चवर्षीय योजना (२०७६/७७ – २०८०/८१) स्वीकृत गराएका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले योजना स्वीकृत गरेको हो ।
योजनामा डेढ दर्जन गेमचेञ्जर आयोजना समेटिएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि आधारपत्रको आधारमा तयार पारिएका योजनाहरूलाई पूर्णता दिइएको जानकारी गराए ।
मुलुकमा तीन तहको सरकार गठनयता पहिलोपटक पञ्चवर्षीय योजना स्वीकृत भएको हो । योजनाले तीन तहको सरकारबीच सहकार्य गर्दै मुलुकलाई समुन्नत बनाउने लक्ष्य लिएको छ ।
बैठकले प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउने गरी योजना पारित गरेको दाबी गरिएको छ । त्यसका लागि गरिबी निवारण, बेरोजगारी अन्त्यलगायतमा जोड दिइएको छ । योजनामा २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रमहरू समावेश छन् ।
बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरूका विषयमा समेत छलफल भएको थियो । त्यस्तै सार्वजनिक निजी साझेदारीअन्तर्गतका केही कार्यक्रम पनि योजनामा समेटिएको छ ।