जेठ ०४, २०८१, शुक्रबार
               

वैदेशिक रोजगारीमा जाने घटे
९ म्यानपावरमाथि अनुगमन

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणमा पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको संख्यमा कमी देखिएको छ । 

माघमा ४८ हजार ६ सय ७४ जना नेपाली युवा बिदेसिएका छन्। गत पुसमा ५२ हजार नेपाली बिदेसिएका थिए ।

९ म्यानपावरमाथि आकस्मिक अनुगमन 

त्यस्तै विभागले ९ म्यानपावर कम्पनीमाथि अनुगमन गरेको छ । गत पुसमा चार वटा म्यानपावरमा विभागले अनुगमन गरेर कारबाहीको दायरामा ल्याएको थियो । 

विभागले माघमा नौ म्यानपावर कम्पनीमाथि आकस्मिक अनुगमन गरेको छ । तीमध्ये एक म्यानपावरको कारोबार रोक्का गरिएको र अर्को एक म्यानपावरलाई सचेत गराएको विभागले जनाएको छ । बाँकी ७ वटा म्यानपावर कम्पनीमाथि भने विभागले अनुसन्धान जारी राखेको बताएको छ । 

अदक्ष कामदार धेरै 

गत पुस र माघ महिनामा बिदेसिनेमध्ये अधिकांश कामदार अदक्ष रहेको विभागले जनाएको छ । सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम ३० दिने सीपमूलक तालिम अनिवार्य लिएको हुनपर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयले सीपयुक्त कामदार पठाउन कार्यक्रम तथा अभिमुखीकरण तालिममा करोडौं खर्चे पनि माघमा बिदेसिएका अदक्ष कामदारको संख्या २७ हजार ४ सय १७ पुगेको छ । 

व्यक्तिगत उजुरीमा वृद्धि

गत महिनाको तुलनामा व्यक्तिगत उजुरीमा वृद्धि भएको विभागले जनाएको छ । गत महिनामा ३७ जनाले व्यक्तिगत उजुरी गरेका थिए । अहिले त्यो संख्यामा वृद्धि भएर ४४ पुगेको छ । तीमध्ये १७ वटा मुद्दा अदालतमा दायर भएका छन् । 

आर्थिक वर्ष ०७६÷७७ को माघसम्ममा २ सय ९० जनाले व्यक्तिगत उजुरी गरेका छन् । उक्त उजुरीको मागदाबी रकम २१ करोड ३६ लाख छ । सरकारले म्यानपावरमा एजेन्ट राख्ने प्रवृत्ति खारेज गरेता पनि अझै एजेन्ट वा व्यक्तिबाट ठगिएको उजुरी आउने गरेको विभागले जनाएको छ ।

पछिल्लो समय म्यानपावरबाट ठगिएको भए पनि व्यक्तिगत उजुरीमा परिणत गर्ने भएकाले व्यक्तिगत उजुरीमा वृद्धि भएको विभागको दाबी छ ।  

उजुरी संख्यामा कमी 

वैदेशिक रोजगारीमा म्यानपावरले ठगी गरेको भन्दै पुस महिनामा चार करोड ६१ लाख रकम मागदाबीसहित एक सय ७ जनाले उजुरी गरेका थिए । माघमा भने त्यो संख्या घटेर ७७ मा आइपुगेको छ । यस उजुरी संख्याको मागदाबी रकम २ करोड ८९ लाख रहेको छ । 

यस्तै, माघ महिनामा विभागले ३ सय ९६ जनाको क्षतिपूर्ति, राहत उद्धारसम्बद्ध छलफल गरेको तथ्यांकमा उल्लेख छ । विभागले उजुरीको आधारमा पीडित युवाको ४६ लाख १२ हजार रुपैयाँ बराबरको बिगो भराएको वा फरफारक गरेको छ । 

यो पनि