काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन्उ ।
नेपाल व्यवस्थापन सङ्घको ३९ औँ राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताएका हुन् । उनले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यस अनुरूपमा नीतिहरू समेत ल्याएको बताए ।
उनले नयाँ प्रविधि भित्रँदै गर्दा अर्थतन्त्रमा चुनौती पनि बढ्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताए । अहिलेको एजेन्डा डिजिटल करेन्सीको नभए पनि भविष्यमा यसको आवश्यकता पर्ने र त्यसका लागि डिजिटल भुक्तानीको व्यवस्था गर्दै रियलटाइम सेटलमेन्टमा जानुपर्ने उनको तर्क थियो ।
अर्थमन्त्री खतिवडाले सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्ने बताए ।