बैशाख १५, २०८१, शनिबार
               

सलहले सत्यानाश
किसानहरू थाल बजाउँदै बारीमा

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

‘आकाशै ढाक्ने गरी ठुलो संख्यामा सलह देखिएको छ सलह भगाउन स्थानीयहरूले थाल, टिन बजाई रहेका छन् ।’

अफ्रिकाबाट भारत हुँदै नेपाल आइपुगेको सलह किराले नेपालको मध्यपश्चिम क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाे छ । नेपाल प्रवेश गरेको तेस्रो दिनमा सलहले धेरै जिल्लाका बालीका क्षति पुर्‍याएकाे हाे । यद्यपि क्षतिको विवरण आउन बाँकी छ । गत आइतबार रुपन्देहीमा देखिएको सलह एकैदिनमा पहाड उक्लिएको थियो । 

अहिले पहाडी जिल्लाहरू प्युठान, अर्घाखाँची, पाल्पालगायत क्षेत्रमा सलहले क्षति पुर्याउन थालेको छ । अहिले खेतबारीमा मकैको सिजन भएकाले सलहले अधिकांश कृषकका मकैबाली नष्ट गरिदिएको छ । अरू खाद्यबालीहरूका डाँठ लहरा सलहले खाइदिएको छ । करेला, घिरौँला, लौका र बदामलगायत बालीका पात पनि खाएर क्षति पुर्याएको किसानले बताएका छन् ।

अहिले सलह किराको ठुलो बथान प्युठानको सरुमारानी  गाउँपालिका वडा नंवर ३ मा देखिएको छ । जहाँ सलहले खाद्य बालीमा नोक्सानी पारेको वडाध्यक्ष भीम बहादुर मर्साङ्गीले बताए । ‘आकाशै ढाक्ने गरी ठूलो संख्यामा सलह देखिएको छ’ उनले भने, ‘सलह भगाउन स्थानीयहरूले थाल, टिन बजाई रहेका छन् ।’

ठुलो संख्याका आइपुगेका सलह मकै बारीसँगै कलिला पालुवा आएका रुख तथा घाँसमा समेत फैलिएको छ । विनाशकारी सलहले सरुमारानी गाउँपालिका–३ को दुमही लगायत टोलमा मकै बाली नष्ट गरिसकेको छ। अहिले स्थानीय टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडिरहेका छन् । बाली भित्र्याउने समयमा सलह किराले नष्ट गरेपछि किसान मर्कामा परेका प्यूठानका पत्रकार सलिम अन्सारीले बताए । ‘अचानक किरा आएकोले त्यसलाई भगाउने उपाय नजान्दा र  रोकथामको पूर्वतयारी नहुँदा ठुलो क्षति भएको छ’ पत्रकार अन्सारी भन्छन् । 

गाउँपालिकाकी कृषि शाखा प्रमुख चम्पा पाण्डेले पनि सरुमारानीको १,२ र ३ नम्बर वडामा हुलका हुल सलह देखिएको बताइन् । नोक्सानीको यकिन तथ्यांक सङ्कलन भइरहेको उनको भनाइ छ । जिल्लाका अरू स्थानमा समेत सलह देखिएको स्थानीयले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि