बैशाख १५, २०८१, शनिबार
               

प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने आदेश दिइन्छ’
भ्रमित गर्दै असन्तोष फैलाउनेको बहकावमा नलाग्न आह्वान

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

तर, जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्धत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताए ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ,’ उनले भनेका छन् ।

छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताए ।

‘हामी स्पष्ट हुनुपर्छ कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन।

कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशवासीहरूलाई आग्रह गर्दछु । घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरूलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।

अप्ठ्यारो बेलामा केही तत्वहरू जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्य पूरा गर्न सक्रिय हुन सक्छन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्धत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहनसमेत आह्वान गर्दछु ,’ ओलीले भने ।

स्वदेश भित्रिइसक्नुभएका दाजुभाइ दिदीबहिनीले छिटो परीक्षण गर्न, सामाजिक दुरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरूको पालना गर्नु जरुरी रहेको ओलीले बताए ।  

जनता बीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि