बैशाख १५, २०८१, शनिबार
               

वाह ! फूल

ADVERTISEMENT

दरबारमार्गबाट घण्टाघरतर्फ लाग्ने सडक किनारामा ढकमक्क रङ्गीचङ्गी फूल फुलेका छन् । त्रिचन्द्र कलेज परिसरमा फूलेका फूलहरु हेरूँ हेरूँ लाग्ने देखिन्छन् । माइतीघर तीनकुने सडकको दायाँबायाँ उस्तै मनमोहन फूलहरू फूलेका देखिन्छन् । सिंहदरबारभित्र, सर्वोच्च अदालत परिसर मज्जाले सजिएको छ, फूलकै कारणले । उता बाह्रमास गन्हाउने पानी बग्ने धोबिखोला कोरिडोर फूलको बासनाले मगमगाएको देखिन्छ । फोहोर पानी बगिरहने धोबिखोला किनारमा फुलेका बेगनबेलिया फूलले फोहरको दुर्गन्धलाई बिर्साइदिएको छ ।

लकडाउनले देशैभर मानिसहरूको आवतजावत ठप्पै छ । अत्यावश्यक सवारीसाधनबाहेक अरू सबै बन्द छन् । त्यसैले अहिले प्रदूषण अति कम छ । मानवीय चहलपहल नहुँदा अहिले काठमाडौँको वातावरण अत्यन्तै स्वच्छ, सफा र हरियालीले भरिएको छ । काठमाडौँ उपत्यका सफा देखिएको छ । त्यसमाथि वसन्त ऋतुमा फुलेका फूलहरूले काठमाडौँका सडक किनार आकर्षक देखिएका छन् । ती फूलहरूले जोसुकैको मन पुलकित बनाउँछ ।

हरियालीबीच सफा सडकले काठमाडौँ मुस्काइरहेको छ । फूल फूलेका चोक, सडक तथा खोला किनारहरू पुग्नेहरू भन्छन्, ‘वाह फूल ।’ अत्यावश्यक कामका लागि बाहिर निस्किएकाहरू फूल देखेपछि सेल्फी खिच्न समेत गएका भेटिन्छन् । कतिपयले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । 

प्रकृतिमाथिको मानवीय अतिक्रमणले सुन्दरता र सौन्दर्य छोपिएको तथा अहिले केही बन्द भएकाले देखिएको ज्येष्ठ नागरिकहरू बताउँछन् । बानेश्वर थापागाउँका ७८ वर्षीय सोमनाथ अर्याल भन्छन् ‘यति राम्रो, स्वच्छ, सफा र हरियाली काठमाडौँ कहिल्यै देखेको थिइनँ । अत्यावश्यक कामका लागि बाहिर निस्कदा काठमाडौँको हरियाली र सौन्दर्य देखेर दङ्गै पर्दछु ।’

धेरै सर्जकहरू लकडाउनबीच फुलेका फूल सामु गएर आफ्नो कला र सिर्जना उजागर गर्ने गर्छन् । प्रकृतिसँग डुबेर सिर्जनामा तल्लीन हुँदा मानसिक रूपमा समेत स्फूर्ति पाइने उनीहरू बताउँछन् । फूलसामु पुगेर नयाँ सिर्जना रच्दै गरेकाहरू भन्छन्, ‘प्रकृतिमाथि हस्तक्षेप नहुने हो भने काठमाडौँ आफैँमा सुन्दर ठाउँ हो, म यसलाई मेरो कलामा पनि उतार्छु, आनन्द लाग्छ सिर्जनामा रमाउँदा ।’

काठमाडौँ उपत्यकाको सडक विस्तार, सार्वजनिक यातायातको बढ्दो चाप, धुलो, धुवाँ, कोलाहल र मानिसको बढ्दो चहलपहलले प्रकृति र मानिस दुवैलाई जोखिममा पारिरहेको उनीहरुको अनुभव छ । लकडाउनअघि प्रदूषित वातावरणले मानव स्वास्थ्यलाई अत्यन्तै जोखिममा पारिरहेको थियो । प्रदूषण कम भएपछि सहरमा हरियाली बढेको छ । सहरको वातावरण पनि सुन्दर देखिएको छ । काठमाडौँको वायु प्रदूषणको अवस्थाबारे वातावरण विभागमा रेकर्ड भएको तथ्याङ्क अनुसार लकडाउनपछि सहरमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि