बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाको कहर : परदेशमा चुँडिएको एक थुँगा

ADVERTISEMENT

कोरोना सङ्क्रमणबाट साउदी अरबमा सुनसरी इटहरी ५ का लिलामान कटुवालको ज्यान गएको छ । ५१ वर्षका कटुवाल २२ वर्षदेखि साउदीमा काम गर्दै आएका थिए । उनी पछिल्लो पटक एक वर्षअघि घर आएका थिए । त्यसअघि ४ वर्ष अघि छोरा प्रशान्तको व्रतबन्धमा पनि स्वदेश आएका थिए । मिजासिला लिलामान सबैको प्रिय पात्र थिए । यसैले घर देशदेखि परदेशसम्म सबैको मन जितेका थिए ।

पूर्वी नेपालको सहर इटहरीमा उनको सुखी घर परिवार थियो । उनी २२ वर्षअघि पहिलो पटक विदेश जाँदा घरमा आमा, श्रीमती, २ छोरी थिए । बुवा भने लिलामान जन्मनुभन्दा पहिलेदेखि नै बेपत्ता थिए । बुवा हराएको १ महिनापछि लिलामान जन्मिए । बुबाको अनेक खोजखबर भयो, न सास भेटियो, न लास नै पत्ता लाग्यो । आमालाई पाल्नुपर्ने एक्लो छोराको कर्तव्य, सँगै श्रीमती मञ्जु र  छोरीहरू अन्जना र भावनाको लालनपालनमा उनी एक्लैले कमाउनुपर्ने बाध्यता आयो । घर खर्च टार्न र सन्तानका सुन्दर भविष्य सजाउनको लागि लिलामानले अनेक उपाय सोचे । स्वदेशमै केही काम गर्छु भन्ने सोचे सफल हुन सकेन ।

'हरेक समय समयमा अपडेट गराउने मान्छे किन यति दिनसम्म गायब ?’ उनीहरू चिन्तित बने । फोन आउँछ की भनेर उनीहरू चौबिसै घण्टा अनलाइनमै बसे । तर लिलामानको अफलाइन झनै लम्बिँदै गयो । अफलाइनमै भए पनि यताबाट परिवारले म्यासेज लेख्दै गए । जति लामो म्यासेजका खात लागे पनि ‘म्यासेज सीन’ कहिल्यै भएन ।

तैपनि घर खर्च चलाउनु नै थियो । स्वदेशमा अरू गरिखाने अरू उपाय देखेनन् । विदेसिएर परदेशमै केही गर्ने उचित विकल्प ठाने । त्यतिबेला गाउँमा भर्खर भर्खर विदेश जाने चलनको सुरुवात भएको थियो । अहिलेजस्तो धेरै विदेसिएका थिएनन् । त्यतिबेला विदेश जाँदा उनी २९ वर्षका थिए । यसरी लिलामानलाई आमा, पत्नी, तीन वर्ष र एक वर्षकी बालखा छोरीबाट बाध्यताले टाढा बनायो । भविष्यमा खुसीमा रमाउने अभिलाषाले त्यति बेला आँसु बगाएर परिवारबाट बिछोडिन उनी बाध्य भए । 

आफूलाई लाखमा बेचेर हजार कमाउन मध्यपूर्वी मुलुक साउदी अरब पुगे । काम पनि राम्रै पाए । आमा, श्रीमती, छोरीका लागि घर खर्च, पढाई खर्च पढाउँथे । दुई–दुई वर्षमा नेपाल आउँथे । पछि छोरा प्रशान्त जन्मिए । घर खर्चको दायित्व अझ बढ्यो । अब त स्वदेशमै केही गरौँ भन्दा पनि न त रोजगारी न त सानोतिनो लगानीमा केही उद्यम गर्न नै सकिन्थ्यो । उनले परदेशी जीवालाई नै निरन्तरता दिनु उचित ठाने । 

लिलामान साउदी अरबको फर्निचर कम्पनीमा काम गर्थे । काम पनि राम्रै थियो । एउटै कम्पनीमा लगातार २२ वर्ष काम गर्दै आएका थिए । कम्पनीको मालिकको विश्वास जितेकाले लामो समय त्यही रहँदै आएका थिए । गाडी, सवारी चालकलगायतका सबै सुविधा उनले पाएका थिए । इमानदारीपूर्वक काम गर्ने मेहनती लिलामानलाई कम्पनी सञ्चालक तथा त्यहाँका उच्च पदाधिकारीहरू सबैले मन पराउँथे । 

कम्पनी सञ्चालकको राम्रो विश्वासपात्र उनलाई अरू कामदार भन्दा धेरै सेवा सुविधा दिइएको थियो । त्यसै कारणले विदेश बसाइको दुई दशक काटिसके पनि उनी त्यही थलो छाडेर अन्त गएनन् । लामो समय एकै ठाउँमा काम गरिसकेकाले साउदीको मरुभूमि उनको लागि खासै परदेश थिएन । समय मिलाएर दुई–दुई वर्षमा नेपाल आउजाउ गरिरहन्थे ।

यस्तैमा विश्वभर कोरोना भाइरसको महामारी फैलियो । धेरै देशमा सङ्क्रमित बढ्न थाले । धेरैको ज्यान पनि जान थालिसकेको थियो । धेरै देशहरूले लकडाउन लगाए । सकेको उच्च सतर्कता अपनाए । साउदीमा पनि कोरोना भाइरस सङ्क्रमण तीव्र फैलियो । अप्रिलको दोस्रो सातासम्म सम्म झन्डै ३० हजार जना संक्रमति भैसकेका थिए । झन्डै २ सय जनाले ज्यान गुमाइसकेको थिए । निको हुनेमा थोरै मात्र थिए । 

साउदीमा कोरोनाको सन्त्रास बढेसँगै लिलामानको काममा जोखिम र तनाव दुवै बढ्यो । कम्पनीले कामदारको स्वास्थ्य सुरक्षामा सकेको ध्यान दिने प्रयास गर्‍यो । साउदीमा कोरोना सङ्क्रमण फैलने क्रम बढ्दै थियो । आफूलाई कोरोना सङ्क्रमण नहुँदै लिलामानले स्वदेश आउन चाहेका थिए । विश्वभर कोरोना भाइरसको आतङ्क छाइसकेको थियो । नेपालमा भने त्यतिबेलासम्म सङ्क्रमण फैलिएको थिएन । एक जना सङ्क्रमित निको भैसकेका थिए । कोरोनाबाट अरू मुलुकभन्दा स्वदेश सुरक्षित हुने देखेपछि लिलामान पनि स्वदेश फर्कने विचार गरे । त्यही अनुसार तयारी गरे । कम्पनीले पनि घर जान स्वीकृति दियो । तर विडम्बना आफ्नै मातृभूमि नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको थियो ।

लिलामानको प्रयास निक्कै ढिला भैसकेको थियो । नेपालमा दोस्रो संक्रमित भेटिए । थप सङ्क्रमण नहोस् भन्न सामाजिक दुरी कायम गर्न नेपालमा लकडाउन सुरु भयो । सम्पूर्ण उडानदेखि आवागमन ठप्प भएकाले उनी स्वदेश फर्कन पाएनन् ।

‘राज्य सङ्कटको बेला लकडाउन गर्नु धेरै राम्रो हो । तर कसको लागि गरिँदैछ ? नागरिकको सुरक्षाका लागि होइन ? हो भने परदेशमा बिचल्लीमा परेकाहरूका बारेमा किन सोचिएन ?’ उनले आफैसँग यस्तै यस्तै गुनासोका तर्कना गर्दै कामलाईनै निरन्तरता दिए । विदेसिएका नेपालीका पनि पीडा, पीडा नै थिए ? आखिर दुःख सबैको लागि दुःख हो । आफ्नै देश र परिवारका लागि कमाउन गएकाहरूलाई अप्ठेरोमा पर्दा नआऊ भन्न मिल्छ र ? नेपाली नागरिक नेपाल न आएर कहाँ जाने ? उनीहरू कहिलेसम्म त्यही बस्ने ? उनले यस्ता प्रश्नहरू आफैसँग गरिरहे । परिवारमा यस्तै बेदना सुनाउँदै गए । बिरानो परदेशमा न त कोही सुन्ने मान्छे,  न त आफ्नो सरकार सामु सुनाइदिने कोही थियो । उनी परदेशमै बस्न विवश बने । उनी रहेको साउदीमा कोरोना सङ्क्रमण भयावह बन्दै गयो । केही सातापछि स्वास्थ्य परीक्षण तीव्र बनाइयो । 

लिलामानको कम्पनीको काम भने चल्दै थियो । अरू सबैको कम्पनीहरूले पनि काम जारी रहेको थियो । यत्तिकैमा सुरक्षाको लागि भन्दै उनीहरू सबैलाई क्वारेन्टाइनमा राखियो । कम्पनीको क्वारेन्टाइन थिएन । साउदी सरकारले नै सबै कामदारलाई क्वारेनटाइनमा राख्यो । देशभरका सबै नागरिकलाई घरभित्रै बस्न आग्रह गरियो ।

कोरोना सङ्क्रमणको जोखिम कम गर्न सुरक्षाको लागि क्वारेन्टाइनमा राखिनुपर्ने हो । तर उनीहरू झन् असुरक्षित भए। सबै कामदारलाई भेडाबाख्रा सरह राखेपछि झन् असुरक्षा भयो । खाना, पानी दिने टुङ्गो थिएन । रोग नलागे भोकले पो मरिने हो कि भन्ने चिन्ता भयो । ‘बरु हामीलाई आफ्नै जन्मभूमि नेपालमै पठाइदिनुहोस् । गाउँमा जान नमिले उतै जङ्गलमा बसौँला । केही नपाए पानी र हावा खाएरै हाँसीखुशी बसौँला’ उनीहरू भन्थे । तर उनीहरूको लाख बिन्ती परदेशमा कसले सुन्ने ।

क्वारेन्टाइन रहँदा पनि लिलामानलाई कुनै पनि लक्षण देखिएको थिएन । तर अप्रिलको दोस्रो साता क्वारेन्टाइनमा राखिएकाहरू सबै जनाको परीक्षण गरियो । उनीसँगै कम्पनीका सबैको परीक्षण गरियो । भोलिपल्ट रिर्पाेट आयो । रिपोर्टमा उनीसहित सँगै काम गर्ने १६ जनालाई कोरोना पोजेटिभ देखियो । तर पनि लिलामान आत्तिएनन् । मन दह्रो बनाएर बसे । कोरोना भाइरसलाई जित्न सक्छु भन्ने आँट र साहस गरे । स्वास्थ्यमा पनि केही समस्या थिएन । 

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई साउदी सरकारले उपचारको लागि लग्यो । काम गर्ने कम्पनीको सम्पर्कबाट उनी टाढा भए । उनलाई आइसियुमा भर्ना गरियो । लगत्तै उनले आफ्नो घर परिवारलाई जानकारी गराए । ‘म यो रोग लाग्यो भनेर कत्ति पनि डराएको छैन । म कोरोना जितेर निको हुन्छु र छिटो घर आउँछु,’ लिलामानले सामाजिक सञ्जालमार्फत घर परिवारलाई सम्पर्क गरेर भन्थे ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका ती मुलुकमा ४ सय ५० सयभन्दा बढी नेपाली नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये झन्डै ४ सय ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । थुप्रै नेपालीहरू अरबको तातो बालुवामा भाग्य फेर्ने मेसिनको खोजीमा भौँतारिँदै छन् । तर विडम्बना उनीहरूकै आत्माको चीर शान्तिको कामना गर्दै स्वदेशमा दियो बाल्नुपर्ने अवस्था छ ।

यता परिवारका सदस्य आत्तिएका थिए । तैपनि  ‘केही पनि हुँदैन’ भनेर सम्झाउँथे । हरेक पटकको फोन संवादमा आफूलाई कमजोर नबनाउन परिवारका सदस्यले सुझाव दिन्थे । जवाफमा लिलामान भन्थे ‘कोरोना लाग्यो भनेर डराएको छैन । काम नगरे पनि कम्पनीले तलब पनि दिएकै छ । निको भएपछि घर आई हाल्छु ।’

उनले हरेक दिन आफ्नो स्वास्थ्य अवस्थाको बारेमा परिवारलाई जानकारी गराउँथे । कहिले फोन गर्थे, कहिले ईमो र फेसबुकमा भिडियो कल गर्थे । उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि आइसियुबाट भेन्टिलेटरमा राखियो । उनले भेन्टिलेटरबाटै पनि आफ्नो परिवारलाई सम्झन छाडेनन् । कोरोना भाइरसको सङ्क्रमणले उनी जति जति थलिँदै थिए । सायद आफ्नो परिवारको उति याद आउँदो हो । उनले पटक–पटक परिवारमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराउँदै आए ।

भेन्टिलेटरमा राखेपछि उनी बोल्न सक्ने अवस्थामा थिएनन् । तर पनि फोन गरेर आँशु मात्र झार्थे । उनले परिवारसँग फोनमा रुवाइबाट कुरा सुरु गर्थे र रुवाइमा टुङ्ग्याउथे । आँखाबाटै उनले आफ्ना पीडा बताउँथे । सायद उनी बोल्न सक्ने थिएनन् । उनको हालत देखेर यता परिवारका सदस्यहरू निकै आत्तिएका थिए । तर उनीहरू चाँडै निको होस् भनेर कामना गर्नेबाहेक के पो गर्न सक्थे र !

लिलामानले अघिल्लो शनिबार भेन्टिलेटरबाटै भिडियो कल गरे । उनी केही बोल्न सकेनन्, बरबर्ती आशु मात्र झारिरहे । उनको त्यो हालत देखेर यताबाट पनि परिवारका सदस्य रुनुको विकल्प थिएन । त्यो समयमा लिलामानको अनुहारमा पहिलेको भन्दा चमक घटेको थियो । शनिबारको भिडियो कलपछि अर्को दिन पनि परिवारले फोनको प्रतीक्षा गरे । यताबाट फोन प्रयास गरे । फोन लागेन । फेसबुकमा कल गर्न खोजे । त्यहाँ अफलाइन भेटिए । ईमोमा पनि उनी अनलाइन भेटिएनन् । 

तैपनि जेठी छोरी अन्जना र भान्जी चद्रा खड्काले बारम्बार प्रयास गरिरहे । फोन त लागेन लागेन । कतै अनलाइन देखिन्छन् कि भनेर बेलाबेलामा फेसबुकको म्यासेन्जर चेक गरे । ‘वान डे अगो’, ‘टु डे अगो’ देखाउँदै गयो फेसबुकले पनि । उनीहरू बेचैन बने । 

'हरेक समय समयमा अपडेट गराउने मान्छे किन यति दिनसम्म गायब ?’ उनीहरू चिन्तित बने । फोन आउँछ की भनेर उनीहरू चौबिसै घण्टा अनलाइनमै बसे । तर लिलामानको अफलाइन झनै लम्बिँदै गयो । अफलाइनमै भए पनि यताबाट परिवारले म्यासेज लेख्दै गए । जति लामो म्यासेजका खात लागे पनि ‘म्यासेज सीन’ कहिल्यै भएन । लिलामान अनलाइनमा नआए पनि बिहानीको किरणदेखि मध्यरातको निद्रासम्म यताबाट आफन्तले एकोहोरो म्यासेज पठाउन भने छाडेनन् ।

परिवारसँग सम्पर्क नभएको एक साता बित्यो । परिवारका सबै सदस्यहरू चिन्तित थिए । वैशाख २१ गते आइतबार सबै परिवार घरमै थिए । लिलामान काम गर्ने कम्पनीबाट खबर आयो । परिवारमा खुसी छायो । ‘अब त पक्कै खुसीको खबर हुनुपर्छ । उनी कोरोनालाई जितेर तन्दुरुस्त बने, अब छिट्टै भेट हुनेछ,’ परिवारले सोचे । तर उताबाट जवाफ आयो –‘लिलामान भेन्टिलेटरमा सुतेको ठाउँबाट ब्युँझिएनन् ।’ अघिल्लो दिन शनिबारनै कोरोनाले लिलामानको जीवनलीला उठाइसकेको रहेछ । 

जसको स्वास्थलाभको निम्ति दियो बालेर कामना गरिँदै थियो, उसैको मृत्युको खबर आयो । दियो बाली गरेको कामनाले स्वास्थलाभ नमिले पनि सायद दिवंगत आत्माले शान्ति पायो होला । त्यो अनुभूति गर्न नपाउँदै परिवारका सदस्यहरू, आमा, पत्नी, छोरी, छोरालगायत मुर्छित भैसकेका थिए । दियो बलिरहँदा सायद उनीहरूले मुटु जलिरहेको अनुभूति गरे । 

परदेशमा भाग्य फेर्ने मेसिन भइदिएको भए सायद लिलामान कटुवाल परिवारले आफ्नो भाग्यलाई धिक्कार्ने थिएनन् । लिलामानकी पत्नी मञ्जुले ‘आफ्नै भाग्यको दोषले गर्दा पतिले संसार छाडे’ भन्ने ठान्छिन् । हुन त विश्व हल्लाई रहेको 'शत्रु भाइरस' कोरोनाले लाखौँको ज्यान लिइसकेको खबर उनले पनि सुनेकै छिन् । 

कुनै पनि पत्नीले आफ्नो पति गुमाएको खबर सुन्दा कस्तो अनुभूति गर्लिन् । शब्दमा व्यक्त गर्न सकिदैन् । झन् आफूहरू आश्रित रहेको संरक्षक पितालाई सधैँका लागि गुमाउनुपर्दाको पीडा छोराछोरीलाई कस्तो हुँदो हो । लिलामानकी ७२ वर्षीय बुढी आमाको हालत कस्तो होला । आफ्नो सन्तानको मृत्युको खबर सुन्दा एक आमालाई कस्तो हुँदो हो । त्यो झन् कल्पना बाहिर छ ।

धेरै नेपालीहरू विदेशमा मृत्यु भएका आफन्तको शवको पर्खाइमा आँसुले प्यास मेट्न बाध्य छन् । तर कोरोना भाइसरबाट मृत्यु भएकाको शव आफन्तले पाउँदैनन् । सङ्क्रमण सर्ने जोखिमका कारण आफन्तले सद्‍गद् गर्न पाउँदैनन् । मृतक लिलामानको शव नेपाल नआउने भएपछि परिवारले काजक्रिया मङ्गलबारदेखि सुरु गरेका छन् ।

दिवङ्गत लिलामानकी जेठी छोरी अन्जना २५ वर्षकी भइन् । उनी पढ्दै छिन् । २३ वर्षकी कान्छी छोरी भावना अस्ट्रेलियामा छिन् । उनी उच्च शिक्षा हासिलको लागि अस्ट्रेलिया गएको २ वर्ष भयो । एक मात्र छोरा प्रशान्त १४ वर्षका छन् । उनी इटहरीमै पढ्दै छन् ।

परदेशीको पनि त घर परिवार हुन्छ । उनीहरूलाई पनि आफ्नो परिवारको माया लाग्छ । उनका परिवारलाई पनि त बिरानो देशमा एक्लै दुःखमा पर्दा माया लाग्छ । परिवारलाई पनि त आफ्नो मान्छे फर्कियोस् भन्ने आशा हुन्छ । उनीहरू आउँदैमा कोरोना आउने त थिएन । उचित परीक्षण र  प्रक्रिया पुरा गरी भित्र्याएको भए लिलामान पनि स्वदेश आउन पाउँथे होला । उनी जस्तै सङ्कटको समयमा स्वदेश आउन चाहको धेरै नेपाली जन्मभूमि आउन पाउने थिए । उनीहरूले अरूको देशमा असुरक्षित तरिकाबाट काम गर्नुपर्ने थिएन । सायद कोरोना सङ्क्रमण हुने थिएन कि ! आज अल्पायुमै परदेशमा ज्यान फाल्नुपर्ने अवस्था आउने थिएन होला । सायद परिवारले शवसमेत देख्न नपाउने गरी ज्यान गुमाउनुपर्ने थिएन होला ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका ती मुलुकमा ४ सय ५० सयभन्दा बढी नेपाली नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये झन्डै ४ सय ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । थुप्रै नेपालीहरू अरबको तातो बालुवामा भाग्य फेर्ने मेसिनको खोजीमा भौँतारिँदै छन् । तर विडम्बना उनीहरूकै आत्माको चीर शान्तिको कामना गर्दै स्वदेशमा दियो बाल्नुपर्ने अवस्था छ । यस्तो परिस्थिति देख्दा मुटु गाँठो परेर आउँछ । उनीहरूले जीवित हुँदा त शान्तिको सास फेर्न सकेनन् । कसरी विश्वास गर्ने कि उनीहरूको सास विनाको आत्माले शान्ति पाउला भनेर । कोरोना भाइरसअघि पनि दैनिक ३ वटा शव नेपाल आउँथ्यो । अहिले कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । कहिलेसम्म हामी नेपालीले मृत्यु शोक मनाइरहनुपर्ने हो, लेखाजोखा छैन । 

यो ब्लग लेखिरहँदा एक जना मित्रले मलाई भन्नु भयो । ‘मानिस जन्मिनु र मर्नु कुनै ठुलो कुरा होइन । त्यति मानिस त विदेश नगएका पनि दैनिक मरिरहेका छन् नि ?’ यसो भन्दै चित्त बुझाउन खोजेँ । तर उनले भनेका कुरा मेरो मनले खाएन । मेरो चित्त बुझेन । प्रविधिको विकास र विस्तार साथै यसको प्रयोगसँगै मानिसको जन्म नियन्त्रणमा होला । तर मृत्यु नियन्त्रणभन्दा बाहिर छ । प्राकृतिक मृत्यु कुनै ठुलो कुरा होइन । तर परदेशमा हुने मृत्यु अरू मृत्युभन्दा दशौँ गुणा पीडादायी हुन्छ । झन् आफन्तले शव नै हेर्न नपाउने गरी कोरोनाको कारणले भएको मृत्यु पछिको पीडा त कल्पना गर्नै सकिँदैन । मृतक लिलामान कटुवालको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली । उनको परिवारलाई पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । 

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि