बैशाख १५, २०८१, शनिबार
               

रोगको भन्दा भोकको पिर

ADVERTISEMENT

लकडाउनको तेइसौं दिन । सुनसान काठमाडौँ छ। यत्रतत्र छरिएका मानिसहरू उद्यम, उद्योग, व्यवसाय, कार्यालय बन्द भएपछि घरभित्रै बन्दाबन्दीमा छन् । दिउँसो २ बजे मुख्य चोक–बजार सहर सुनसान देखिदा कोरोना सङ्कट टार्न मौन धारण गरिरहेको जस्तो भान हुन्थ्यो । धुवाँ, धुलो कोलाहलमुक्त सडकमा हामी मोटर साइकलमा हुइकिँदै थियौँ । 

सिङ्गो देश बन्दाबन्दीमा रहेको बेलामा हामी भने घरबाहिरै थियौँ। यात्रा थियो रिर्पाेटिङकै सिलसिलामा बागमती नदीको किनारै किनार जोरपाटीबाट पशुपतितर्फ जाने कोरिडोरको । कतै पिच र कतै भत्किएको खल्ट्याङ–मल्ट्याङ बाटोमा यात्रा गर्दै थियो । सडक किनारामा हरियाली बगौंचा छ। त्यही नजिकबाट उत्तर पश्चिम बौद्ध छिर्ने बाटो छ । पूर्वपट्टि बागमती नदी पारी तर्ने पुल छ । बौद्ध र पारीपट्टि जाने चोक छ । जसलाई ज्यामी चोक भनिँदो रहेछ । सामान्यतया यो स्थानमा ज्यामी मजदुरहरूको जमघट हुने गर्ने भएकाले त्यो नाम दिइएको पछि थाहा भयो । 

यो स्थानमा निर्माण कम्पनीका ठेकेदारहरू आफूलाई आवश्यक मजदुर लिन आउँदा रहेछन् । तर तीन सातादेखि त्यो क्षेत्र चकमन्न छ । सबै कुरा ठप्प । केवल हावाको इसारामा आसपासका बोटबिरुवाका हाँगा र पात मात्रै हल्लिरहेका छन् । चराचुरुङ्गीका चिरबिर आवाज सुनिन्थ्यो । अत्यधिक होहल्ला हुने स्थानमा एकाएक सन्नाटा छाउँदा जो कोही पनि विस्मित बन्थ्यो । 

चोकभन्दा अलिपर खानेपानी मन्त्रालयले बनाएको नदीको पानी शुद्ध गर्ने प्रोजेक्ट बन्दै  छ । त्यहाँबाट करिब १ किलोमिटर टाढा पशुपतिनाथ मन्दिर छ । हामी त्यही चोकमै पुगेका थियौँ । उताबाट केही मानिसहरू झुम्मिएर आएको देखियो । हुलमा करिब साठी सत्तरी जना जति हुँदा हुन् । तिनीहरू चोकैमा आई पुगे । हामी विपरीत दिशाबाट त्यही पुगेका थियौँ । जम्काभेट भयो । एकैछिन त्यो भिडलाई  रोक्दै टाढैबाट केही जिज्ञासा राख्यौँ– ‘लकडाउन किन उल्लङ्घन गरेको ?’  केहीले एकै स्वरमा भने– ‘उता पुलिसले लखेटेर यता आएको ।’

फेरि सोध्यौँ– ‘पहिला कता हुनुन्थ्यो ?’ एक जनाले जवाफ दिए, ‘उता पशुपतिमा सुमार्गी भवनमा थियौँ हामी, त्यहाँ भिडभाड भएको देखेर नजिक घर हुनेले पुलिस बोलाएर लखेटाए अनि यता आएका हौँ ।’ 

‘यसरी भिडभाडमा बस्दा कोरोना संक्रमणको जोखिम हुँदैन त ?’ हामीले फेरि अर्को प्रश्न गर्‍यौँ । जवाफमा धेरै जना बोल्दै थिए, तर सबैलाई रोकेर एक जना युवाले भने– ‘रोगको डर किन छैन र ? हामी पनि मान्छे हौँ, डर सबैलाई लाग्छ, मर्न को चाहन्छ र ? हामी दैनिक छ, सात सय रुपैयाँ कमाउँछौँ । त्यसैले परिवारको पेट पाल्ने हो । अहिले हामीसँग काम पनि छैन, रासन पानी बाँकी छैन । न घर, कोठा त न सुत्ने ओछ्यान ।’

यति कुरा सुनेपछि उनीहरूको बारेमा बुझ्न धेरै समय लागेन । देश लकडाउनमा छ । बजार बन्दसँगै मजदुरी गर्नेले पसिना बगाउने ठाउँ पनि छैन । ती मजदुर जसले ठुला–ठुला महल बनाए, चिल्ला सडक बनाए अहिले न उनीहरूसँग खाने रासन छ, न सरकारले दिने राहतमा पहुँच । छ त केबल भोक मात्र । उनीहरू दैनिक ज्यालादारी मजदुर हुन् । तीन सातायता उनीहरूको कमाइ शून्य छ । खाना र पानीको लागि भौँतारिरहेका रहेछन् ।

त्यहाँ जम्मा भएको भिडमा देशभरका मजदुर थिए । दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठान, कैलाली, बैतडी, जुम्लासम्म पुग्ने मजदुरहरू थिए । पूर्वमा सिरहा, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभादेखि ताप्लेजुङसम्मका थिए । उनीहरूकै सहकर्मी कैयौँले भोक पुरा गर्न अभाव भएकाले सयौँ किलोमिटरको पैदल यात्रा गर्ने सोचले बाटो तताए । उनीहरू भने बाटोमा दालमोठ च्यूरा समेत किनेर खाने पैसा नभएपछि जान पाएका रहेनछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै दैनिक ज्यालादारी मजदुरहरूलाई राहत दिने घोषणा गरेका थिए । त्यसको केही दिनपछि काठमाडौँमा राहत वितरण सुरु पनि गरियो । उनीहरूले पनि धेरथोर पाउने आशा गरेका थिए । तर उनीहरूको पहुँचले भ्याएन । राहत पुगेन । भोकको आँधी छल्न नसकेपछि उनीहरू कसैले केही देला र खाउँला भनेर कोरोनाको कहरकै बीच मूल सडकमा आइपुगेका छन् । 

सडकमा खानाका लागि आशा बोकेर आउन पनि उनीहरूलाई सजिलो कहाँ छन् । ‘आफू त जोखिममा छस्, सिङ्गो सहरलाई नै किन जोखिममा पार्छस्’ भन्दै पुलिसहरू भाटो लिएर लखेट्न आउने गरेको सुनाए । लकडाउन भनेको के हो उनीहरूले पनि नबुझेका होइनन् । तर, पेटले बुझे पो !

वैशाख ३ गते  बुधबारसम्म रहेको लकडाउन अवधि फेरि १५ गतेसम्म सारियो । तेस्रो पटक लकडाउन १२ दिनका लागि थपियो । ती मजदुरले आम्दानी गर्ने दिन पर्खिन कम्तीमा १३ दिन अरू कुर्नु पर्ने छ । तर अहिलै भोकले प्याक प्याक भइरहेका छन् । तर उनीहरू अहिलै कसैले केही खान दिन्छ कि भन्ने आशामा बाटो ढुकिरहेका छन् । 

काठमाडौँमा रहेको करिब ५० लाख मानिसमा ५० प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन् । यिनीहरू निर्माणमा काम गर्ने, सुरक्षा गार्ड, सफाइ कर्मचारी, रिक्सा चालक, ठेला तथा नाङ्लामा सामान बेच्ने, फोहोर उठाउने तथा घरेलु मजदुर आदि हुन् । उनीहरूको न पेन्सन पाक्छ, न बिरामी बिदा पाउँछन्, न तलबी बिदा हुन्छ न त कुनै प्रकारको बीमाको सुरक्षण नै । बिहान कमाएको पैसाले साँझ खाने उनीहरूले न त कतै आम्दानी जम्मा नै गरेका छन् । धेरैको त बैङ्क खाता पनि छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरको त डेरा पनि छैन । जता काम गर्न गयो, उतै एकसरो कपडा ओच्छयाएर सुत्ने गर्छन्, एउटा च्यादर ओढ्छन्, बस पुग्यो । यस्तो स्थितिका ती मजदुरहरूको हरेक दिनको ज्याला मजदुरी नै जीवन धान्ने एक मात्र विकल्प थियो । लकडाउनपछि उनीहरूले काम पनि पाएनन्, न त खान बस्न नै पाएको देखियो ।

सर्लाहीका ६० वर्षीय कौशल भट्टराईले भने– ‘ज-जसको घर छ, ती सबै घरैभित्र बसेका छन् । हामी जस्ता मान्छेसँग दुइटै विकल्प छः पहिलो सुरक्षा र दोस्रो भोक । अब तपाईँ आफैँ भन्नुस्– हामी केलाई छान्नु- भोक कि सुरक्षा ?’  भट्टराई काठमाडौँ बसेको धेरै भयो । गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो । तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । उनी थोत्रो सर्ट, पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्ग्रिङ्ग परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिन्थे । उनका अरू मजदुर साथीहरू पनि सडक पेटी पार्कमा सुस्ताउँदै थिए । उनले पनि आफ्नो व्यथा हामीलाई पोख्न भ्याए । ‘रोगले भन्दा भोकले मरिने भयो, समस्या सबैको उही नै हो,’ हामीले जिज्ञासा राखिरहँदा उनीहरूको संख्या पनि बढ्दै थियो । 

सङ्खुवासभाको खाँदवारी ९ का कृष्णबहादुर बानियाँ तीन वर्षदेखि निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका रहेछन् । कामको मौसममा उनी ईटाको गारो लगाएर पन्ध सय रुपैयाँसम्म कमाउँथे । तर, अहिले उनको खल्ती खाली छ । उनले भने ‘काम नगरी के खाने ? कसैले दिएन, घर जान गाडी पनि चल्दैन ।’ बानियाँका अनुहारमा चिन्ताका बादल मडारिरहेथे ।

भाइरसले भन्दा अघि नै भोकमरीले मार्ला जस्तो पीडा भएको उही कुरा सुनसरीका अविनाश दाहालले दोहोर्‍याए । उनी भन्छन्, ‘मैले आफ्नो परिवार बचाउन पैसा कमाउनु पर्छ । तर अहिले म आफैँ भोकै छु । सरकारले पनि दिन्छ रे भन्ने सुन्दै थिए । सरकारी कुरो कहिले पाइने हो, कसरी पाइने केही पत्तो छैन ।’

अविनाशले आफूहरूले काम गर्दै आएको ठाउँको ठेकेदार सम्पर्कविहीन रहेको बताए । काम गरेको पैसासमेत नपाएकोले बेखर्ची हुनुपरेको उनको पीडा थियो । प्रेम तामाङ र मनोज मण्डल नामका ठेकेदारहरूलाई आफूले कैयौँ पटक फोन गर्दा नउठाएको र अनन्त मोबाइल स्विच अफ गरेको गुनासो गरे ।

हामीले उनीहरूसँग कुराकानी गर्दा दिउँसोको ३ बजिसकेकको थियो । त्यतिन्जेलसम्म उनीहरू सबैको पनि पेटमा अन्न पानी परेको थिएन । कोही दानवीर आउला र खुवाउला भनेर बाटो हेरेर बसेका थिए । ‘हिजो त दिउँसो १ बजे आएर दिएका थिए, आज उता पशुपतिमा दिन्छन् भन्ने सुनेर गएको, तर उता बस्न दिएनन् ’ उनी फेरि त्यही लयमा पीडादायी आवाज दोहोर्‍याउँछन् ।

साँच्चै भोक निर्मम हुन्छ, आज नखाउँ न त भन्दा हुँदैन । कोरोना लाग्ला नलाग्ला, भोक दिनहुँ लाग्छ, भोकले मार्ने भयो भन्ने चिन्ता उनीहरूलाई छ । मलाई लाग्यो पहिला उनीहरूलाई रोगभन्दा भोकबाट बचाउन जरुरी छ । त्यसको लागि तत्कालै उनीहरूलाई कमभन्दा मानिस जम्मा हुने गरी भान्साहरूको बन्दोबस्तो गर्नु पर्छ । जहाँ खाना बनाएर उनीहरूजस्ता दैनिक ज्याला मजदुरी गर्नेको छाक टार्न सकियोस् ।

समुदायमा कोरोना भाइरस फैलिनबाट रोक्न मानिसहरूलाई एक सहरबाट अर्को सहरमा आवतजावतमै रोक्नुपर्छ । यतै खानपिनको व्यवस्था गरिदिने हो भने कुनै एक ठाउँमा बस्न सक्छन् । किनकि मान्छे यो स्थितिमा आआफ्ना गाउँतर्फ भ्याई नभ्याई गरी दौडिरहेका छन् । जसले सङ्क्रमणको जोखिम बढाइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायमा बढ्न जाने खतरा बढेको छ । धेरै जना यसरी भोकै छन् । अझै धेरै समय भोकै बस्नुपर्ने ठानेर काठमाडौँबाट दैनिक सयौँ नागरिक हिँड्दै बाहिरिइरहेका छन् । 
 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि