बैशाख १४, २०८१, शुक्रबार
               

अब कुतर्क होइन, राजीनामा दिनोस्

चेतन पाण्डे
फागुन ०८, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली सञ्चार माध्यमको नियत र भाषा ठिक छैन भन्नु हुन्छ । तर, उनका विश्वासिला मन्त्रीको त न भाषा नत नियत नै ठिक रहेछ । उनको मन्त्रीमण्डलभित्र कति अनियमितता रहेछ भन्ने खुलासा पनि दिनदिनै भइरहेको छ ।

कसैलाई माया गरेर तपाईँ, तिमी जे सम्बोधन गर्दा पनि त्यति फरक पर्दैन । तर, कमिसन खान रोक्ने आफ्नै मातहतका कर्मचारीलाई मु....भनेर सम्बोधन गर्नु अशिष्टताको पराकाष्ठा हो । जुन सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मुखबाट सुनियो, सामाजिक सञ्जालमा भाइरल बन्यो । उनले गर्नै आँटेका एउटा भ्रष्टाचारको पोल खुल्यो ।

भनिन्छ, कम्युनिस्ट सङ्घर्ष र बलिदानबाट खारिएका हुन्छन् । उनीहरू साधुभन्दा कम हुँदैनन् । न सांसारिक मोह–मायाको पिर नतै कड्कडाउँदा नोटको सुगन्धको लालसा । तर, समयसँगै हाम्रो राजनीति कसरी अघि बढी रहेको छ भन्ने प्रस्ट पारिसकेको छ । 

पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको भन्ने समाचार आउँदा साथ राजीनामा दिन आदेश दिने प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अहिले सञ्चार मन्त्री बास्कोटाको कर्तुतमा मौन छन् । त्यो अडियोका आधारमा सिधै भन्ने हो भने सञ्चार मन्त्रीले त मुलुकलाई नै बलात्कार गर्ने प्रयास गरेका छन् ।

टाढा जानु पर्दैन, भारततिरै हेरे पुग्छ । भ्रष्टाचार गरेको आरोपमा कतिपय नेताहरूको राजनीतिक भविष्य अन्त्य भएको छ । कुनै बेला आफ्नो औँलाको भरमा बिहारलाई नचाउने लालुप्रसाद यादव जस्ता नेता अहिले कारागारमा मालीको काम गरिरहेका छन् । पी चिदम्बरम् जस्ता भारतीय काँग्रेसका वरिष्ठ नेताको राजनीतिक भविष्य लगभग समाप्त भएको छ । तर, यहाँ बिलकुलै उल्टो गङ्गा बहन्छ ।

भन्ने गरिन्छ, बास्कोटा प्रधानमन्त्रीका धर्मपुत्र बराबर छन् । आफू बालुवाटार सर्ने बित्तिकै बालकोटको घरको रक्षा गर्न उनले बास्कोटालाई जिम्मा दिए । उनी अहिले त्यही बस्छन् । सुन्न त यो पनि आएकै हो, बास्कोटा कै सहयोगमा कार्यकर्ता परिचालन गर्न आवश्यक धन बालकोटमा थुपार्न सञ्चार मन्त्रीले अख्तियारी पाएका छन् । तर, यो कुरामा कति सत्यता होला अनुमानका आधारमा भन्न सकिँदैन तर, बास्कोटाले सुरक्षण प्रेस भित्राएर करोडौँ कमिसन खाने योजना बुनेको तथ्य प्रमाण भने त्यही अडियो बनेको छ । जसले अनुमान वा जानकारीका आधारमा कानेखुसी गरेर गरिएका कतिपय आरोपलाई सत्य हो कि भन्न बल दिन्छ नै ।

सुरक्षण प्रेस काण्डले यो आरोपलाई बल दिएको छ । राज्यको ढुकुटीबाट अर्बौ हिनामिना गरेर ब्रह्म लुट मच्चाउन खोजेको प्रमाण सार्वजनिक हुँदासमेत सञ्चार मन्त्री त्यो अडियो गलत भएको उल्टो आरोप लगाउँदै छन् ।

प्रधानमन्त्री ओलीको कोटरीमा कस्ता–कस्ता भ्रष्टले रजाइँ गरिरहेका छन् भन्ने पछिल्लो बलियो उदाहरण बास्कोटा काण्ड बनेको छ । ओली मन्त्री मण्डलका सदस्यहरूको भाषाको स्तरसमेत त्यो अडियो सुनेपछि थाहा भइहाल्छ ।

प्रधानमन्त्री ओलीको भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलताको नारा गुन्जिन्छ । मालपोतका पियन १ सय घुससहित अख्तियारको फन्दामा पर्दा सरकारले ठुलै उपलब्धिको बखान गर्छ । तर, अर्बौ कमिसन खाने नियत बनाएका मन्त्री भने सत्य–तथ्य बाहिर आउँदा पनि त्यसलाई झुट साबित गर्न पत्रकार सम्मेलन गर्छन् । पत्रकारलाई गाली गर्छन्, कर्मचारीलाई गाली गर्छन् । मानौँ दूधले नुहाएका गोकुलधामबासी तिर कसैले गलत आरोप लगाउनका लागि मात्र चोरी औँला उचालेका हुन् । उनको सफा–सुग्घर चरित्र देख्न नसकेर कसैले कालो मोसो छ्यापेका हुन् ।

हाम्रो राजनीतिक संस्कार मात्र होइन, कार्यकर्ताको मनोभावसमेत आफ्ना नेतालाई सधैँ भगवान् मान्ने छ । उनीहरूले गरेका भ्रष्टाचार र अनियमिततालाई ढाकछोप गर्नुपर्ने आफ्नो कर्तव्य हो भन्ने छ । हुन पनि होला, नेता नै भ्रष्टाचारको आरोपमा जेल गएपछि हिजोसम्म फोडिने डबल ब्ल्याक लेबलको स्तर भोलिदेखि सामान्य  ओर्लिएका कि भन्ने डर पनि कार्यकर्तालाई हुनु स्वाभाविकै हो ।

हामी जनता अनि राजनीति पार्टीका कार्यकर्ताले नेताले ठड्याएको महलका पछाडि कति अनियमितता भएको छ भन्ने जाँच पड्ताल गर्ने चाहना कहिल्यै राखेनौँ । नेता तिर चोरी औँला तेर्साएर तपाईँले करोडौँको महलमा बस्ने हैसियत कसरी बनाउनु भयो र आम्दानीको स्रोत के हो भनेर सोध्ने आँट पनि गरेनौँ । बरु भोलि तिनै नेतालाई अत्यधिक बहुमतले जिताउन हामी आतुर बन्छौँ । कस्तो गलत प्रवृत्ति र संस्कार दिँदै छौँ हामी आफ्ना पुस्तालाई, एक पटक सोच्ने कि ? 

टाढा जानु पर्दैन, भारततिरै हेरे पुग्छ । भ्रष्टाचार गरेको आरोपमा कतिपय नेताहरूको राजनीतिक भविष्य अन्त्य भएको छ । कुनै बेला आफ्नो औँलाको भरमा बिहारलाई नचाउने लालुप्रसाद यादव जस्ता नेता अहिले कारागारमा मालीको काम गरिरहेका छन् । पी चिदम्बरम् जस्ता भारतीय काँग्रेसका वरिष्ठ नेताको राजनीतिक भविष्य लगभग समाप्त भएको छ । तर, यहाँ बिलकुलै उल्टो गङ्गा बहन्छ । भ्रष्टाचार गरेर जेल सजाएँ पुरा गरेर फर्कँदा हामी त्यो नेताको भव्य स्वागत गर्छौ । अनि फेरी उसलाई राजनीतिमा कसरी स्थापित गर्ने भन्ने चर्चा थाल्छौँ ।

धेरै पछाडि जानु पर्दैन । हालसालै मात्रै ठुलो अभियोगबाट राहत पाएका कृष्णबहादुर महरा जेल बाहिर आउँदा अबिर मालाले स्वागत गरियो । तर, हामी अधिकांशलाई थाहा छ, अदालतले कानुनी आधारमा छाडेका महराले व्यवहारिकरुपमा केही गल्ती गरेकै थिए । नत्र राम्रो हिमचिम भएको आफ्नै कर्मचारी महिलाले सभामुखबाटै हात धुने गरी उनीमाथि आरोप लगाउँदिन थिइन् । चाहे आवेग मै किन नहोस् ।

फेरी यस्तै अवस्था आएको छ । कानुनी रूपमा सञ्चार मन्त्रीका अपराध पनि पुष्टि गर्न कठिन होला । अदालतसँग त्यो उच्च क्षमता र आँट होला कि नहोला ? यो भविष्यका कुरा हुन् । नैतिकताका आधारले उनले यो देशमाथि ठुलो घात गरेका छन् । राज्यको ढुकुटीलाई बपौती मानेर निचोर्ने प्रयास गरेका छन् । आफ्नो बचावटका लागि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोलप्रसाद बास्कोटा ज्युबाट अनेकौँ राग अलाप होला, अब । उनको बचावटमा सरकारभित्र र बाहिरबाट पनि निकै कसिलो पारामा बाँसुरी बज्ला । तर, हामी सबैलाई यो पक्का थाहा छ, बास्कोटाले अनियमितताको प्रयास मात्र होइन, अनियमितता गरेकै छन् । आज अनियमितता गर्न आँट गर्नेले हिजो झन् कति गरे होलान्, भन्न सकिँदैन । अनुमान भने गर्न सकिन्छ ।

अहिले त बास्कोटा काण्डको अडियो प्रधानमन्त्रीले एक महिनाअघि नै सुनिसकेको कुरा बाहिर आएको छ । यसले उनको बोलाइ र गराइमा कति भिन्नता छ भन्ने प्रस्ट पार्छ । उनले अब यो मनदेखि बुझ्नै पर्छ, भ्रष्टाचार र अनियमितता जस्ता देशको अर्थतन्त्रलाई सडाउने र गलाउने विषय कुनै पनि भाषामा क्षम्य अपराध हुन सक्दैन भन्ने ।

आज उनको नियत झल्काउने अडियो सार्वजनिक भयो तर, गोप्य कोठाभित्र यस्ता कति डिल भए होलान् । अनि कति अनियमितता भइसक्यो होला ? कति धन कति मन्त्रीका नाममा थुप्रिसक्यो होला ? यस्ता यक्ष प्रश्नको समाधान गर्न प्रधानमन्त्रीको शून्य सहनशीलताको राग उनले बजाएका बाँसुरीका धुन जस्तै निमेषभरमा विलीन हुँदै छन् । नाम मात्रको शून्य सहनशीलतालाई भाषण गर्ने मिठो शब्दभन्दा व्यवहारमा परिणत गराउन प्रधानमन्त्रीलाई निकै सकस पनि छ नै । कद कदाचित उनले कुनै अप्रिय कदम चालेर भ्रष्टाचारमा वास्तव मै शून्य सहनशीलता अपनाउने हो भने आफ्नै कुर्सीसमेत दाउमा पर्नसक्ने अनुमान उनले लगाएकै हुनुपर्छ ।

यो देशलाई वास्तवमा समृद्धितर्फ डोराउने हो भने भ्रष्टाचार र अनियमितताले प्रश्रय पाउने काम देशका प्रधानमन्त्रीबाट हुनु हुँदैन । अनियमितताका गन्ध आउने बित्तिकै कडा कदम चाल्नै पर्छ । अहिले त बास्कोटा काण्डको अडियो प्रधानमन्त्रीले एक महिनाअघि नै सुनिसकेको कुरा बाहिर आएको छ । यसले उनको बोलाइ र गराइमा कति भिन्नता छ भन्ने प्रस्ट पार्छ । उनले अब यो मनदेखि बुझ्नै पर्छ, भ्रष्टाचार र अनियमितता जस्ता देशको अर्थतन्त्रलाई सडाउने र गलाउने विषय कुनै पनि भाषामा क्षम्य अपराध हुन सक्दैन भन्ने ।

हामी जुन कुराबाट आजित भएर परिवर्तनका पक्षमा लाग्यौँ, त्यही अराजकताले यो व्यवस्थामा अझै मौलाउने अवसर पाइरहेको देख्दा आफ्नै कर्मलाई धिक्कार्न बाहेक केही गर्न सक्दैनौँ । हामी जनता भनेकै निरीह हुन्छौ । एक पटक खसालेको मत गलत व्यक्ति वा दलको नाममा खसेको पत्ता पाउँदा पनि त्यसलाई सच्याउने संयन्त्र जनतासँग हुँदैन । बस् अर्को ५ वर्ष कुर्नु सिवाय । अनि यो परिवर्तनले कसलाई नयाँ राजा बनायो भनेर सोच मग्न हुनु सिवाय केही गर्न सक्दैनौँ । यो देश बनाउँछु भनेर सधैँ कुर्लने प्रधानमन्त्री कै छायाँ वरिपरि बसेर कालो करतुत गर्नेहरूको विशाल हुल छ भन्ने थाहा पाउँदा पाउँदै पनि एउटा साधारण नागरिकले आफैँलाई धिक्कार्ने बाहेक अरू केही गर्न सक्दैन । हाम्रो बाध्यता असीमित छ । जसले गर्दा हामी देश बिगार्नेहरूलाई पनि अङ्कमाल गर्न विवश छौँ । 

हाम्रो देशमा हरेक दिन प्रकाशित हुने अनियमितता र भ्रष्टाचारका नयाँ–नयाँ खबरहरूले नागरिक मनोदशा कस्तो बन्ला भन्ने सोच राजनीतिक दलहरूसँग हुनै पर्छ । अन्यथा जनता फेरी एक पटक सडकमा उत्रिए भने भयङ्कर प्रलय आउन सक्छ, जसरी हिजोका दिनमा आएका थिए । 

अनि श्रीमान् संचारमन्त्रीज्यु ! यहाँले आफूले गरेका कर्तुतलाई ढाकछोप गर्न अनेकौँ कुतर्कहरू गर्नुको सट्टा राजीनामा दिएर अनुसन्धानलाई सघाउन उच्च राजनीतिक नैतिकता देखाए देशले धन्यवाद नै दिन्थ्यो कि ?

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि