बैशाख १४, २०८१, शुक्रबार
               

कम्युनिस्ट सरकारको विचित्र शैली !

नारायण निरौला
मंसिर ०८, २०७७

ADVERTISEMENT

कम्युनिस्टहरु सत्तामा पुगेपछि कम्युनिस्ट विचार, आदर्श र निष्ठाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ । नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टजस्ता छौँ त अहिले ?

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गत वर्ष दिवंगत कम्युनिस्ट नेतृ तथा पूर्व मन्त्री सहाना प्रधानको पाँचौँ स्मृतिसभामा दिएको अभिव्यक्ति हो  ।

चुनावी एकता पार्टी एकतामा रुपान्तरण भएको नेकपाका अध्यक्षबीचको विवाद उत्कर्षमा पुग्दा सो अभिव्यक्ति सान्दर्भिक बन्न पुगेको हो । तत्कालीन अवस्थामा अध्यक्ष दाहालले भनेझै सरकार थाहा पाउँदा पाउँदै पनि स्खलित भएको छ । कम्युनिस्ट पार्टीको सत्ता छ । मुलुकको शासनाधिकार कम्युनिस्टको हातमा छ भनेर कसैले अनुभूत गर्न सकेका छैनन् ।

अहिले कोरोना महामारीका कारण देश गम्भीर अवस्थामा छ । त्यो त्यति भयानक गम्भीर संकट होइन जतिबढी नेकपाबीच संकट छ । संकटको आयतन प्रधानमन्त्री ओली र प्रचण्डबीचको असझदारीमा बढी छ ।

देशमा कम्युनिस्ट सरकार छ । तर, गरीब तथा निमुखा जनता बढी आहात छन् । सुकिला मुकिला वर्गलाई सजिलो होला । तर, सर्वहाराभन्दा उनीहरू अनकौँ दृष्टिकोणले माथि छन् । मुलुकको आर्थिक अवस्था गम्भीर मोडमा पुगेको छ । सरकार अर्थतन्त्र सवल बनाउँदै केही जनमुखी सुधारमा लाग्न सकेको छैन । कोरोना बिमाको भुक्तानी सात दिनभित्र दिनुपर्नेलगायत केही मुद्दामा नवनियुक्त अर्थमन्त्रीका केही सराहनीय कदमबाहेक अन्यथा सरकार चुकेको छ । 

दुई अध्यक्षात्मक नयाँ पद्धति अपनाएको नेकपाको विवाद मैदानमा आउँदा आममानिससँग जोडिएका अनेकौँ मुद्दा ओझेलमा परेका छन् ।  दन्तबझानबाट सुरु भएको दुई अध्यक्षबीचको विवाद लामो समय व्यतिपश्चात् पत्रबझानमा रुपान्तरण भएको  छ ।  एकले अर्कालाई हटाउने हठका रुपमा सुरु भएको पत्र बझानको परिणामा के आउला भनी क्रमश: मंसिर १३, १८ र २५ नै पर्खनुपर्नेछ । 

ओलीविरुद्ध लिखित दस्तावेज सचिवालय बैठकमा पेस भएपछि त्यसको काउन्टरको रुपमा यतिखेर अध्यक्ष ओली अर्का अध्यक्ष दाहालविरुद्ध दस्तावेज  तयार पार्दैछन् ।

यसअघि अध्यक्ष दाहालले असोज २८ को सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीको कार्यशैलीबारे प्रश्न उठाउँदै ओलीविरुद्ध एक दस्तावेज पेस गरेका थिए ।  

करिब एक वर्षअघि अध्यक्ष दाहालले कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्ने पनि चेतावनी दिएका थिए । कम्युनिस्ट नेताहरुको जीवनशैलीमा आएको परिवर्तनका कारण कम्युनिस्ट आन्दोलन असफल हुँदै गएको उनको तत्कालीन विश्लेषण थियो । 

सो विश्लेषण गरेको करिब एक वर्षपश्चात् अध्यक्ष दाहालले अध्यक्ष ओलीविरुद्ध महाराजकै आरोपमा सचिवालय बैठकमा दस्तावेज पेस गरेका छन् । उनले आफैँले सहमित गरी अध्यक्ष बनाएका ओलीविरुद्ध सो दस्तावेज पेस गरेका हुन् दाहालको सो दस्तावेजमा उल्लेखित आरोपका कारण आन्तरिक विवादमा फसेको कांग्रेस पनि उनीविरुद्ध उत्रिएको छ ।

नेकपाका शीर्षस्थ नेताबीच राम्रै जुहारी चलेको छ । शनिबार मात्रै चितवनमा सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ । जसले नेकपा विवाद तल्लो तहसम्म पुगेको र एकअर्का पक्षको बचाउमा लागेको पुष्ट्याइँ गर्छ । 

नेकपाको घर झगडाका कारण २०७४ सालमा वाम एकता गर्दै चुनावी मैदानमा उत्रिँदा जनतासमक्ष गरेका प्रतिबद्धता भने अपूरा छन् । जसका कारण तिमी मेरो शासक बन्नलायक छौँ, म तिमीहरुलाई भोट दिन्छु, मेरो भोटबाट विजयी भई मलाई संविधान र कानुनअनुसार शासन गर् । संविधान र कानुनबमोजिम मेरो खल्तीको पैसा राजस्वमार्फत् लैजाऊ ।तर, तिमीहरुले भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ भनी मतदानहरु निराश छन् । 

कोरोना महामारीका कारण हजारौँ बेरोजगार भएका छन् । कतिको व्यवसाय नै डुबेको अवस्था छ । यस्तो बेलामा सरकार अब आमजनतालाई कसरी पुनर्स्थापित गर्न सकिन्छ भनी केन्द्रित हुनुपर्ने अवस्थामा सत्तारुढ दल सत्ता र शक्तिका लागि दौडधूपमा व्यस्त छ । म आफू पनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्नेलाई पनि छाड्दिनँ भनी अभिव्यक्ति दिने सरकार प्रमुख भ्रष्टाचार भयो भनी बाहिर छ्यापछ्याप्ती हुँदा बेखबरझै छन् । 

हत्या-बलात्कारका घटना अझै पनि रहस्यमय छन् । कम्युनिस्ट मन्त्री भन्छन्- यो त संसारमै भइरहेको छ नि ! भनिन्छ, कम्युनिस्टहरु वर्गसंघर्षमा विश्वास राख्छन् । तर, कम्युनिस्टकै सरकारको बेलामा नयाँ वर्गको सिर्जना भइरहेको छ ।

हो । करिब दुई तिहाइ मत ल्याएका कम्युनिस्टहरु सत्तामा पुगेपछि कम्युनिस्ट विचार, आदर्श र निष्ठाबाट विचलित झै देखिएका छन् । स्खलित हुँदै जाने प्रक्रिया बढ्दै गएको छ। नाम कम्युनिस्ट भए पनि व्यवाहार हेर्दा सोच्नुपर्ने अवस्थाको सिर्जना हुँदै गएको छ । 

पत्रकार निरौला राजनीति तथा समसामयिक विषयमा कमल चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि