बैशाख १५, २०८१, शनिबार
               

को हुन् जो बाइडेन ?

एजेन्सी
कात्तिक २३, २०७७

ADVERTISEMENT

जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् ।

डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् ।

बिबिसीले गरेको प्रक्षेपण अनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन् ।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् ।

को हुन् जो बाइडेन ?

बाइडेनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए ।

प्रभावशाली वक्ता

उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो ।

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन् ।

बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन्

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो ।

एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए, "मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे ।"

उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए ।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् - उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए ।

पछि 'जो बम'का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो ।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, "मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा ।"

विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो ।

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए ।

सन् २००९ देखि २०१७ को बीच बाइडेन बराक ओबामाका उपराष्ट्रपति थिए

उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ ।"

तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने ।

अनुभवी प्रचारक

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ ।

रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् ।

बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् ।

खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् । भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् - कुनै रकस्टारले जस्तै ।

"उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन," पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए ।

महिलाहरुको आरोप

तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन् ।

गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडेनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे ।

प्रतिक्रियामा बाइडेनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए ।

तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडेनले यौन आक्रमण गरेको आरोप लगाइन् । त्यतिखेर उनी बाइडेनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् ।

बाइडेनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो ।

उही गल्ती नदोहोर्‍याउने प्रयत्न

सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण बाइडेनले राम्रो गर्ने उनका समर्थकको आशा छ ।

वाशिङ्टनमा उनको धेरै अनुभव छ । सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष ।

करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन् ।

लामो इतिहास

अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् ।

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडेन उभिएका थिए ।

यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ ।

ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडेन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।

पारिवारिक वेदना

बाइडेन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ ।

बाइडेनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए ।

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडेनको निधन भयो ।

आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडेनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ ।

तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ ।

शक्ति, भ्रष्टाचार तथा झुट ?

हन्टर पहिले वकिल थिए । पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो ।

उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन् ।

कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए ।

उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए । ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो ।

गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए । उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडेन पनि विवादमा तानिएका छन् ।

उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो ।

त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो ।

विदेश मामिला

कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडेनको निम्ति बढ्ता हानिकारक हुन्छ ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् ।

बाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले ।

अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । सो कारबाहीमा बिन लादेन मारिएका थिए ।

बाइडेनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन् । उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन् ।

तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् ।

उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन् ।

-बिबिसी


कस्तो लाग्यो ?

यो पनि