बैशाख १५, २०८१, शनिबार
               

दसैँ आयो, ग्राहक आएनन्
व्यापारी भन्छन्, ‘दसैँ आए जस्तो लाग्दैन ’

श्यामसुन्दर पुडासैनी
कात्तिक ०३, २०७७

ADVERTISEMENT

रानीपोखरीबाट करिब दुई सय २० मिटर पश्चिम गयो भने एउटा पुरानो बजार आउँछ, त्यो हो असन । यो दरबार स्क्वायरको पूर्वोत्तर अवस्थित छ । असन बजार परापूर्व कालदेखि नै भिन्न छ । कान्तिपुर नगरीको अरू बजारभन्दा फरक पहिचान छ ।

असन प्राचीन हाट हो । मौलिक बजारको पहिचान पाएको सो क्षेत्रमा पुस्तौँदेखि व्यवसाय गर्नेहरूको बाक्लो अपस्थिति छ । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक केन्द्रको रुपमा पनि परिचित छ । सम्पूर्ण सामान सहजै किन्न पाइने असनमा मानिसको आकर्षण लोभलाग्दो छ । जन्मदेखि मृत्यु सत्कारसम्मका आवश्यक सबै सामाग्री पाइने भएर नै ग्राहक अन्त कतै नगई असन बजार नै धाउँछन् ।

अरू बजारमा सामान्य भीड हुन्छ । चाँडपर्वमा अलि बढी भीड लाग्छ । असनमा बाह्रै महिना बाह्रैकाल भीड लागिरहेको हुन्छ । असन बजारका लागि सधैँ चाँडबाड, सधैँ उत्सव । असन बजार नेपालको सुपर–डुपर मार्केटभन्दा गतिलो हो, किनकि अन्त नपाइने सबै चिज यहीँ बजारमा पाइन्छ ।

सदियौँदेखिको गतिविधि हो, चाँडबाडको माहौल बढेसँगै असन बजार र आसपासको रूप फेरिने गर्छ । चाँडबाडमा सर्वसाधारणमा रौनक थपिएसँगै असनमा किनमेलको रौनक पनि उतिकै बढ्ने गर्छ ।

उसो त अन्य समयमा पनि सर्वसाधारण किनमेल गर्न भीड लाग्ने गर्छन् असन बजारमा । विशेषगरी चाँडबाडको समयमा त पाइला राख्ने ठाउँसम्म पनि हुँदैन ।

सधैँ भरिभराउ हुने असन बजार दसैँमा अझै बेफुर्सदिलो बनिदिन्छ । अरू बजारमा पनि धेरै भीड हुँदा ‘असनजस्तो भीड’ जस्तै भनेर तुलना गरिन्छ ।

तर, त्यो पुरानो भनाइलाई छायाँमा पारेको छ, कोरोना महामारीले । किनकि  यसपटक भने अवस्था फेरिएको  छ। कोरोना महामारीका कारण अर्थव्यवस्था धराशायी बनेको छ । धेरैको रोजीरोटी गुमेको छ । लामो लकडाउन तथा निषेधाज्ञाले व्यवसाय  तथा रोजगारी गर्न नपाएकाहरूको दसैँको बजेट घटेको छ । यसैले आममानिससँग अहिले विगतजस्तो रौनक देखिँदैन । जसका कारण किनमेलका लागि सहज गन्तव्य बन्दै आएको असन बजारमा यसपालिको दसैँमा कमै रौनक देखिन्छ ।

दसैँ सुरु भए पनि धेरै चहलपहल छैन । प्रायः चाँडबाडमा बढी भीड हुने खाद्यान्न, लत्ता कपडालगायत पसलहरूमा पनि ग्राहकको उपस्थिति पातलो छ । अघिल्ला वर्षहरूमा ग्राहकको उपस्थिति बाक्लै भए पनि यस वर्ष दसैँको पूर्वसन्ध्यामा ग्राहकमा खासै रौनक देखिँदैन । सधैँजसो व्यस्त भइरहने साँघुरा गल्लीमा मानिसहरूको चहलपहल सामान्य अवस्थाको जस्तै छ ।

दसैँमा बढी बिक्री हुने इलेकट्रोनिक सामान, ल्यापटप, मोबाइलको बिक्री कम हुँदै गएको व्यपारीहरु बताउँछन् ।

खुद्राससँगै व्यापारीको पनि हेलमेल किनमेलको केन्द्र बनेको हो असन । तर, यसपटक विगतमा भन्दा धेरै कम व्यवसायी किनमेल गर्न आएका स्थानीय व्यापारी बताउँछन् ।  एक व्यापारीले भने, ‘बजारमा पहिलेको दसैँमा जस्तो चहलपहल छैन, पहिला भ्याइनभ्याइ हुन्थ्यो, अहिलेको व्यापार हेर्दा दसैँ आएको भान भएको छैन ।’

सबै प्रकारका थोक तथा खुद्रा बिक्रेता पहिलेजस्तो ग्राहक नआएका बताउँछन् । होलसेल कपडाको बिक्री गर्दै आएका रञ्जनलाल कायस्थ व्यापार सन्तोषजनक भए पनि खुद्रा बिक्री ह्वात्तै घटेको उनको भनाइ छ । 

‘मेरो होलसेलमा त बिक्री ठिकै छ,’ उनले भने, ‘खुद्रा कपडा किन्न आउने ग्राहक छैनन् ।’

कोरोना महामारीका कारण मानिससँग आयआर्जन नभएकाले खर्च गर्ने क्षमता घटेकाले ग्राहक घटेको हुनसक्ने व्यपारीहरुको अनुमान  छ। किनमेल गर्न आएकाले पनि विगतमा जस्तो धेरै सामान लैजाने गरेका छैनन् । थोरै मात्र किनमेल गरेर फर्कने व्यपारीहरु बताउँछन् । 

‘अघिल्ला वर्षहरूमा तीज सुरु हुनेबित्तिकै सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ उनीहरु भन्छन्, ‘अहिले दसैँ आएजस्तो लाग्दैन ।’

असनकै एक पुराना व्यापारी भन्छन्, ‘असन बजारमा भीड हुनु नौलो कुरा होइन । काठमाडौं सहर यति बाक्लो नहुँदा पनि इन्द्रचोकदेखि असन र भोटाहिटीसम्मको सडकमा मानिस छिचोल्न नसकिने भीड लाग्थ्यो । इन्द्रचोकबाट साइकल चढेर भोटाहिटी छिचोल्ने तन्नेरीको सबैले प्रशंसा गर्थे । अहिले यही बजारमा किनमेलको सामान्य चाप छ । यत्तिको खल्लो बजार अहिलेसम्म देखेको थिइन ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि