बैशाख १४, २०८१, शुक्रबार
               

भारतमा कोरोना संक्रमितको संख्या बढिरहँदा ताजमहल खुल्यो

एजेन्सी
असोज ०५, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहँदा उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालय स्थानीय प्रशासनले खुला गरेको छ । 

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन् ।

गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौँ मानिसको जीविकामै असर परेको छ । त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनमा अरु मुलुकले अवलम्बन गरेझैं कडा नियम लागू गर्न इच्छुक देखिएका छैन ।

सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु बिमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ  

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई अब भाइरसको डर छैन ।’ 

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो । यो स्मारक हेर्न बर्षमा झण्डै ७० लाख मानिस यहाँ आइपुग्छन् । तर यो स्मारक विगत सात महिनादेखि बन्द छ । 

अधिकारीहरुले सामाजिक दूरीका नियमहरुमा कडा गरिएको र पर्यटकहरुलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन् । राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ताकि त्यसलाई बेलाबेला स्यानिटाइज गर्न सकियोस् ।

सोमबार पहिलो दिन बिहानै सयौं मानिस ताजमहल पुगिसकेका थिए । सुरक्षाकर्मीहरुले मानिसहरुलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए । यहाँ दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ । यो संख्या विगतको भन्दा एक तिहाई मात्र हो ।


कस्तो लाग्यो ?

यो पनि