बैशाख १५, २०८१, शनिबार
               

जम्वु बस्ती पुनः र्निर्माणमा युवाको पहल

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । जम्वुस्थित यल्मो खोलाको वाढीले क्षतिग्रस्तबस्ती पुन: र्निमाण हुने भएको छ । आफ्नै परिवारभित्र आमा, भाञ्जा र भाञ्जाको छोरीसमेत गुमाएर पीडित भएका दावा लामाको नेतृत्वमा पुनर्निमाण हुने भएको हो । बाढीपीडित करिव ५० परिवारका प्रतिनिधिको भेलाले लामाको नेतृत्वमा ९ सदस्यीय जम्वु बाढीपीडित उद्धार, संरक्षण तथा बस्ती पुर्ननिर्माण समिति गठन गरेको हो ।

समितिले सबै तहका सरकार तथा सरोकार संघसंस्था, व्यक्ति र निकायहरुसँग समन्वय र सहकार्य गरी उद्धार तथा पुनर्निर्माणमा नेतृत्व गर्ने दावा लामाले बताए । सभामुख अग्निप्रसाद सापकोटाको चुनावक्षेत्र समेत भएकाले यसअघि नै सभामुखको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त भइसकेको छ ।

बागमती प्रदेश सरकारका उद्योग तथा वनमन्त्री अरुण नेपालले प्रदेश सरकारका तर्फबाट बस्ती पुनर्निर्माण गर्ने घोषणा गरेका छन् । स्थानीय बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा र उपप्रमुख सुशिला पाख्रिनले आवश्यक पर्ने सहयोगको प्रतिवद्धता मात्रै होइन उनीहरु फिल्डमै निरन्तर खटिरहेका छन् । यद्यपि राजनैतिक र अन्य संघ–संस्थाले बस्ती निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिए पनि २०७१ सालमा नजिकै गएको जुरे पहिरोका पीडितहरुले उपयुक्त राहत प्राप्त गर्न सकेनन् ।

नवगठित समितिका अध्यक्ष दावा लामा भन्छन्, ‘जम्वुको यस बस्तीमा हाम्रो भावना जोडिएको छ । सरकारले बनाइदिए हामी खुसी हुन्छौं । यसका लागि आवश्यक पर्ने सबैखाले समन्वय यही समितिले गर्छ ।’ उनले जुरे पहिरो पीडितको जस्तै आलटाल भयो भने आफूहरुले पहलकदमी लिएर बस्ती निर्माण गर्ने बताए ।

बस्ती निर्माणका लागि नेकपाका नेता माधव सापकोटा र सरल सहयात्रीले सबैखाले सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । नेता सहयात्रीको आफ्नै वडा भएको कारण उनले यसमा बस्ती पुनर्निर्माणका लागि विशेष पहल गरिरहेका छन् । बस्ती निर्माणबाहेक जम्वु बजारकै संरक्षण उत्तिकै चुनौतीपूर्ण हुँदै गएको छ । यसको संरक्षणका लागि पनि सबैको पहल जरुरी छ ।

नवगठित समितिका सचिव विकेश तामाङ भन्छन्, ‘हामी जम्वुका सम्पूर्ण युवाहरु यसअघि पनि सबैखाले सामाजिक कार्यमा दावा लामाको नेतृत्वमा एकमत भएर अगाडि बढ्थ्यौ । अहिले त झन् हामीलाई संकट आइलागेको छ । यतिवेला हामी झन् अझै एकतावद्ध र बलियो भएर अगाडि बढ्दैछौं ।’ उनले आफूहरुले जम्वुलाई नयाँ रुप दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, समितिका अर्का सदस्य प्रवीण अधिकारीले राहत र उद्धारका नाममा खिचातानी भए पनि आफूहरुले जम्वुलाई नयाँ रुप दिने बताए । उनले भने, ‘सबै परिवार गुमाएर एक्लिएकी छिरिङ गोले बहिनीको हेरचाह गर्ने भनेर एकखाले अस्वभाविक तानातान र घोषणाको वातावरण बन्यो । उनीबाहेक अरु पनि असाहय बनेका व्यक्तिहरु छन् ।

उनीहरु सबैको रेखदेख र हेरचाहको वातावरण निर्माण गर्न पनि यही समितिले समन्वय गर्छ ।’ नौ सदस्यीय समितिमा अध्यक्ष दावा लामा, उपाध्यक्ष देवकी लामा, सचिव विकेश तामाङ, सहसचिव रोशन तामाङ, कोषाध्यक्ष जीवन अधिकारी, सदस्यहरु प्रवीण अधिकारी, सुवास राउत, कृष्णबहादुर रुम्वा र निमाग्याम्जो तामाङ रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि