चैत १६, २०८०, शुक्रबार
               

गोंगबु विभत्स हत्याकाण्डः ज्यान सुटकेशमा, टाउको झोलामा

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । गोंगबु गणेस्थान नजिकै आइतबार बिहान सुटकेशभित्र एउटा शव भेटियो । 

सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको हो । उक्त सुटकेश रहेको करिब ३०० मिटर पर टाउको र खुट्टा समेत भेटिएको थियो । प्रहरीका अनुसार अन्दाजी ४०–४५ वर्षका पुरुषको शव भेटिएको हो । 

आइतबार बिहान सात बजेतिर एक स्थानीयले उक्त सुटकेश देखे । सुटकेशलाई रातो प्लास्टिकले बेरिएको थियो । सडक छेउमा कसले फोहोर फालेछ भनेर उनी सुटकेश नजिक पुगे । उनले छेउछाउमा आलो रगतको टाटा देखे । त्यसपछि उनी झस्किए ।

उनले प्रहरीलाई खबर गरे । उनले वडा कार्यालयका व्यक्तिलाई समेत जानकारी गराए । 

धर्मस्थलीका नारायणमान खड्गी टोखा नगरपालिका–१० विश्वज्योती मार्गमा बस्दै आएका छन् । उनी व्यापार गर्छन् । सुटकेश भेटिएको स्थान नजिकै खड्गीको इलेक्ट्रिक पसल  छ । 

उनै खड्गीले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएलगत्तै प्रहरी घटनास्थल आइपुग्यो ।

सबैभन्दा पहिले प्रहरी हवल्दार त्यहाँ आइपुगे । सुटकेश खोलेर हेर्दा शव भेटियो, त्यो पनि टाउको र घुँडादेखि तल्लो भाग नभएको अवस्थामा । 

ती प्रहरी हवल्दारले घटनाको बारेमा माथिल्लो निकायमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखा प्रमुख घटनास्थल आइपुगे ।

शवको खुट्टा र टाउको नभेटिएपछि प्रहरीले कुकुर मगायो । कुकुरले ३०० मिटर पर रहेको टाउको र खुट्टा फेला पार्‍यो । कालो प्लाष्टिकमा बेरेर फालेको अवस्थामा स्वर्गद्धारी मार्गबाट कुकुरले खुट्टा र टाउको फेला पारेको हो ।

खड्गीका अनुसार टाउको र खुट्टा फेला पारेपछि पनि कुकुर अलि पर (भण्डारी चोक) सम्म पुगेको थियो । चोकबाट कुकुर अघि बढ्न सकेन र फर्कियो ।

महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन रहेको खुलेको बताएका छन् । अनुसन्धानकै क्रममा रहेकोले ती व्यक्तिको पहिचान उनले खुलाएका छैनन् ।  

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि