बैशाख १५, २०८१, शनिबार
               

मोरङ प्रहरीमा ३३ लाख बक्यौता काण्ड गुपचुप, बीच बाटोमै फेरियो प्रतिवेदन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

नेपाल प्रहरीमा आफूलाई भावी आइजिपी दाबी गर्दै आएका एसपी विश्व अधिकारी आर्थिक मामिलामा भने विवादमा मुछिएका छन् । प्रहरीमा प्रवेश गरेदेखि लामो समय महानिरीक्षकको सचिवालय र मुख्यालयको विभिन्न विभागमा रहँदा त्यति विवादमा नमुछिएका अधिकारी जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअघि सिन्धुपाल्चोकमा प्रमुख भएपछि विवादित बनेका हुन् । तर, उनको वास्तविक हैसियत भने मोरङमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन लेखापाल सई राधाकृष्ण दाहालसँगको मिलेमतोमा आर्थिक हिनामिना गरेकै कारण उनी विवाद मुछिए । सो हिनामिनाको छानबिन मुख्यालयका प्रहरी निरीक्षक योगराज न्यौपानेको टोलीले गरेको थियो ।

छानबिनको क्रममा सवारी साधन मर्मत, इन्धन र मसलन्द खर्चका लागि आर्थिक वर्षको अन्त्यमा मुख्यालयसँग ४० लाख बजेट माग गरी ३३ लाख खर्च देखाएर रकम अपचलन गर्न खोजिएपछि उनी नैतिक सङ्कटमा फसेका हुन् ।

प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा हुँदा ३ नम्बरमा रहेका अधिकारी डिएसपीबाट एसपीमा बढुवा हुँदा एक नम्बरमा उक्लिएका थिए । त्यसपछि उनले आफूलाई भावी प्रहरी महानिरीक्षकको दाबी गर्छन् । आफूमा प्रहरी सङ्गठनको प्रमुख बन्ने क्षमता रहेको दाबी गर्ने व्यक्तिले लेखापालसँगको साँठगाँठमा आव २०७६/७७ मा ३३ लाख रुपैयाँ बक्यौता देखाएर रकम हिनामिना गरेको विषयले अहिले प्रहरी मुख्यालय तातेको छ । उनीमाथि आरोप मात्र लागेको छैन, मोरङ प्रहरी प्रमुख हुँदा उनले गरेका अरू शङ्कास्पद अनियमितताका र आर्थिक कारोबारको छानबिन समेत गरिएको छ ।

छानबिनको क्रममा सवारी साधन मर्मत, इन्धन र मसलन्द खर्चका लागि आर्थिक वर्षको अन्त्यमा मुख्यालयसँग ४० लाख बजेट माग गरी ३३ लाख खर्च देखाएर रकम अपचलन गर्न खोजिएपछि उनी नैतिक सङ्कटमा फसेका हुन् ।

२०७६ जेठ १४ गते जिप्रका मोरङ सरुवा भएका एसपी अधिकारीको गत १ असारमा प्रहरी प्रधान कार्यालय सरुवा भएको थियो । एसपीमा बढुवा हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेको दबाबमा आफ्नो ब्याचबाट एक नम्बरमा सफल भएपछि उनी शक्ति केन्द्रको नजिक रहेको पुष्टि भएको थियो । वरीयताको आधारमा भने उनीभन्दा माथि रहेर अघिल्लो ब्याचका दुई जना मात्रै बढुवा भएका थिए ।

उनी जिप्रका सिन्धुपाल्चोकको प्रमुख रहँदा पनि विवादमा तानिएका थिए । २०७२ को महाभूकम्पको समयमा प्रभावकारी काम गर्न नसकेको भन्दै तत्कालीन डिएसपी अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । त्यस बेला उनलाई कार्यालय प्रमुखको जिम्मेवारी नदिई सचिवालयमै राखिएको थियो । तर पछि शक्ति केन्द्र कै दबाबमा आकर्षक र चुनौतीपूर्ण मानिने मोरङ जिल्लाको कमान्ड गर्ने अवसर पाएका थिए ।

१३ महिना कमान्ड सम्हालेका एसपी विश्व अधिकारीले त्यहाँका लेखापाल राधाकृष्ण दाहालसँग अपत्यारिलो सम्बन्ध बनाएका थिए। पुर्ख्यौली घर चितवन भए पनि विराटनगर बसाइ सरेका लेखापाल दाहाल आफूलाई विराटनगरकै स्थानीय बासिन्दा भएको बताउँछन् । दाहाल स्थानीय बासिन्दा भएको थाहा पाएका एसपी अधिकारीले मोरङ सरुवा भएको दुई महिनादेखि नै उनलाई काखी च्यापे । यतिसम्म कि एसपी कै कार्यकक्षमा बसेर उनले मदिरा सेवन गर्ने र त्यहाँका डिएसपी इन्स्पेक्टरलाई समेत अटेर गर्न थालेको स्रोतको दाबी छ । 

‘उहाँहरूको दोस्ती दह्रो थियो, यस्तै अप्रिय समाचार सुन्नुपर्ला भन्ने लागेको थियो अहिले सुनियो पनि ’, जिप्रका मोरङका एक अधिकृतले भने । उनका अनुसार एसपी अधिकारीले बजेट जुटाउनेदेखि खरिद गर्नेसम्मको सबै जिम्मेवारी उनै दाहालको विश्वासमा छाडेका थिए ।

एसपी अधिकारी सरुवा भएर काठमाडौं हिँडेपछि ३३ लाखको बक्यौता देखाएर हरहिसाब बुझाउन खोज्दा सरुवा भएर कमान्ड सम्हाल्न पुगेका अर्का एसपी सन्तोष खड्काले यस्तो हुँदै नभएको हिसाब म बुझ्दिन भनेपछि मात्र एसपी अधिकारीको पोल खुलेको र उनी सङ्कटमा परेको स्रोतले बतायो । उनले खरिदमा भएको खर्च बक्यौता देखाएका थिए । जुन अब आउने आर्थिक वर्षको बजेटबाट तिर्नुपर्ने हुन्छ ।

३३ लाखको बक्यौता देखिएपछि त्यसको जानकारी प्रदेश १ का डिआइजी ईश्वरबाबु कार्कीलाई गराइएको थियो । त्यसपछि प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डिआइजी कार्कीले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको स्रोतले जनायो । त्यसपछि प्रहरी महानिरीक्षकको सचिवालयले आर्थिक प्रशासन महाशाखालाई छानबिन समिति बनाएर अनुसन्धान गर्न जिम्मेवारी दिइएको थियो । तत्कालीन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले सो विषयमा चासो लिएर २१ असारमा नै छानबिन समिति गठन गर्दै अनुसन्धान गर्न निर्देशन दिएका थिए । त्यो विषयमा वर्तमान प्रहरी महानिरीक्षक शैलेस थापा पनि जानकार थिए ।

आर्थिक प्रशासन महाशाखाले पनि प्रहरी निरीक्षक न्यौपानेको संयोजकत्वमा प्रनानिहरू मानबहादुर विष्ट र सेमन्तजंग कार्की रहेको टोलीलाई २२ असारमा जिल्ला प्रहरी कार्यालय मोरङ पठाइयो । २२ गते गएको टोलीले २६ गतेसम्म बसेर छानबिन गरेको थियो । छानबिनको क्रममा बाहिर कहीँ कतै पनि रकम तिर्नुपर्ने नदेखिएको र कुनै पनि भरपर्दो बिल भरपाई नदेखिएपछि विना बिल बिजक किन बक्यौता राखियो भन्ने ब्यहोरासहितको प्रतिवेदन तयार पारेर टोली काठमाडौं फर्कियो ।

तर टोली बीच बाटोमा नपुग्दै एसपी अधिकारी र लेखापाल दाहालले बक्यौता रकम फर्छ्योट गरी प्रतिवेदन दुरुस्त बनाइदिन अनुरोध गरेको स्रोतले बताउँछ । ‘उहाँहरूको अनुरोध अनुसार नै प्रतिवेदन दुरुस्त पारिएको हो’, स्रोतले भन्यो । लेखापाल दाहालले मैले सबै हिसाब मिलाई सकेँ भन्दै स्थानीय निकाय र विभिन्न व्यवसायीको सहयोगमा हिसाब मिलाइएको जानकारी गराएपछि समितिले पनि त्यही अनुसारको प्रतिवेदन तयार पारेको थियो ।

प्रहरी प्रधान कार्यालयमा पुरानोलाई सच्याएर २०७७ असार ३० गते बुझाइएको नयाँ प्रतिवेदनमा भनिएको छ, ‘ प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको च.नं. २३४७ मिति २०७७/०३/२१ गतेको पत्रादेशानुसार मिति २०७७/०३/२२ गतेदेखि २०७७/०३/२६ गतेसम्म अनुगमनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय मोरङ खटी गई स्थलगत अनुगमन गर्दा उक्त कार्यालयमा सम्पूर्ण खर्च शीर्षकका फाँटवारीहरू दुरुस्तै रही म.ले.प.फा.नं. १३ मा पनि चौमासिक सीमा अनुसार नै खर्च भएको देखिएको कुनै शीर्षकमा अपुग हुने भएमा वा चौमासिक सीमा भन्दा बढी खर्च हुने भएमा नपुग रकम सम्बन्धमा तालुक कार्यालयहरूमा कुनै पनि पत्रहरू लेखापढी भएको नपाइएको सवारी साधन मर्मत, कार्यालय सम्बन्धी खर्च र इन्धन शीर्षक लगायतमा उक्त कार्यालयबाट मितव्ययिता अपनाई पारदर्शी एवं रितपूर्वक रूपमै खर्च गरिएको देखिएको र कुनै पनि शीर्षकमा बक्यौता नदेखिएको सो कार्यालयबाट २०७६ श्रावणदेखि २०७७ जेठसम्म भएको मासिक खर्चको फाँटवारी म.ले.प.फा.नं. १३ को पाना १० यसै प्रतिवेदन साथ संलग्न राखी पेस गरेका छौँ । साथै म.ले.प.फा.नं. १३ मा विभिन्न शीर्षकमा २०७७ जेठसम्म बजेट बाँकी भए तापनि विभिन्न फर्महरूलाई रकम भुक्तानी गर्न बाँकी प्रमाणित प्रतिलिपि थान १ (एक) कार्यालयमा रहेको पाइएको ब्यहोरा समेत यसै प्रतिवेदन साथ संलग्न राखी पेस गरेका छौँ ।’

कारबाहीमा आइजिपीको रहस्यमय उदासीनता

अत्यन्तै व्यावसायिक र कानुनको परिपालनामा दृढ मानिएका आइजिपी शैलेस थापा अहिले भने गैर जिम्मेवार प्रहरीका हकमा भने नरम देखिएका छन् । आर्थिक अनियमितता मुछिएर त्यसलाई छानबिन समितिसँगको मिलेमतोमा ढाकछोप गर्ने एसपी अधिकारी र लेखापाल दाहाललाई विभागीय कारबाही गर्नुको सट्टा आइजिपी थापा सो विषयमा थाहै नपाए झैँ गरिरहेका छन् । एसपी अधिकारी उनी निकट भएकै कारण कारबाहीबाट उम्काइएको प्रहरी स्रोतको दाबी छ । 

‘आइजिपीकै निर्देशनमा छानबिन भयो तर कारबाही कसैलाई भएन । छानबिन भएपछि हिनामिना गरेको रकम मिलाएको स्पष्ट देखिदा पनि कसैलाई कारबाही नहुनु भनेको आइजिपीको निगाह बक्स भएको हो भन्ने बुझ्नु पर्छ,’ प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘ व्यावसायिकताको कुरा मात्रै गर्ने तर व्यवहारमा नातावाद, कृपावाद र चाकडी खोज्ने प्रवृत्ति देखियो ।’

लेखापाल दाहाल आफू नेकपाका अध्यक्ष प्रचण्डको नातेदार भएको धाक दिने गरेका छन् । जिप्रका मोरङमा आफूमाथि आपत् आइलागेपछि उनले अप्ठ्यारो परेको जानकारी प्रचण्डलाई पनि गराएको स्रोतको दाबी छ । उनले अनियमितता नगरे पनि आफूलाई फसाउन खोजिएको भन्दै प्रचण्ड निकटसँग रोइकराई गरेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तत्काल कारबाही नगरी सप्तरीको पेट्रोल पम्पमा सरुवा गरेको पनि स्रोतले बतायो । ‘उनलाई राजनीतिक संरक्षण छ ’, स्रोत भन्छ ।

नेपाल प्रहरीको सई दर्जामा कार्यरत दाहाल लेखापाल भएको चार वर्षमै चालिस लाख पर्ने गाडी चढेर हिँड्छन् । उनको विराटनगरमा आलिसान बङ्गलासमेत रहेको छ । अहिलेकै अवस्थामा उनको देखिने सम्पत्ति करिब ३ करोड भन्दा बढी रहेको बताइन्छ ।

छानबिन समितिमा रहेका प्रनानि कार्की वर्तमान आइजिपी शैलेस थापासँग नजिक भएर काम गरेका कारण पनि दाहाललाई जोगाउन भूमिका खेलेको आशङ्का गरिएको छ । उनले आइजिपीलाई गलत रिपोर्टिङ त गरेनन् भन्ने आशङ्का पनि उत्तिकै रहेको छ । किनकि लेखापाल दाहाल र कार्की सहपाठी भएको र छानबिन समितिमा कार्की रहनुमा आशङ्का भएको पनि आर्थिक प्रशासन महाशाखाका कर्मचारीहरू बताउँछन् ।

‘ प्रहरी महानिरीक्षक थापा झापाको एसपी हुँदा कार्की त्यहाँको लेखापाल रहेको र थापासँग राम्रो सम्बन्ध भएको कारणले पनि दाहाललाई जोगाउन उनको भूमिका हुनसक्छ’, प्रधान कार्यालय स्रोतले भन्यो ।

लेखापाल भएको चार वर्ष मै करोडौँको सम्पत्ति

नेपाल प्रहरीको सई दर्जामा कार्यरत दाहाल लेखापाल भएको चार वर्षमै चालिस लाख पर्ने गाडी चढेर हिँड्छन् । उनको विराटनगरमा आलिसान बङ्गलासमेत रहेको छ । अहिलेकै अवस्थामा उनको देखिने सम्पत्ति करिब ३ करोड भन्दा बढी रहेको बताइन्छ । 

सामान्य आर्थिक हैसियत भएका दाहालले लेखापाल भएको चार वर्षमै कसरी त्यति धेरै सम्पत्ति आर्जन गरे भन्ने बारेमा उनका सहकर्मीहरू अचम्मित भएका छन् । माथिल्लो दर्जाका प्रहरी अधिकारीलाई मोटरसाइकल चढ्न धौ धौ हुने बेलामा उनले लाखौँको गाडी कसरी खरिद गर्न सके भनेर सङ्गठन भित्रै खासखुस हुने गरेको छ । यसअघि उनी प्रहरी विद्यालय धरानमा लेखापाल रहेका थिए । त्यसपछि उनी मोरङ गएका हुन् । 

धरानमा पनि उनी आर्थिक हिनामिनामा मुछिएका थिए । व्यापारीहरूसँग सम्बन्ध बनाउन माहिर दाहाल जिप्रका मोरङका कार्यालय प्रमुखसँग सेटिङ मिलाइदिने भन्दै आर्थिक लाभ लिने गरेको बुझिएको छ । जसले गर्दा एसपी अधिकारीलाई हेर्ने दृष्टिकोण पनि त्यहाँका व्यापारीले बदलेका थिए ।

‘लेखापालले कार्यालय प्रमुखलाई देखाएर व्यापारीसँग मिलेमतो गरी कारोबार गरेपछि त्यहाँ बसेर आफूहरू टुलुटुलु हेर्नुको विकल्प थिएन’, जिप्रका मोरङबाट सरुवा भई काठमाडौँ आएका एक प्रहरीले भने । उनका अनुसार स्थानीय निकाय र व्यापारीबाट के कति सहयोग आएको हो भन्ने बारेमा लेखापाल दाहालले कहिल्यै पारदर्शिता देखाएनन् । एसपी अधिकारीले पनि कहाँबाट कति आयो भनेर कहिल्यै नदेखाएको स्रोतले जनाएको छ ।

आफूलाई अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल, अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउन सफल तथा आर्थिक अनुशासनमा अगाडी रहेको दाबी गर्ने एसपी अधिकारीले लेखापालसँगको मिलेमतोमा सङ्गठनको बदनाम हुने गरी बदमासी गर्दा नवनियुक्त आइजिपी चुइँक्क नबोल्नु रहस्यमय भएको बताइएको छ । 

एउटा लेखापालको सम्पत्ति अस्वाभाविक रूपमा बढिरहेको छ तर सङ्गठन प्रमुख किन आँखा चिम्लिरहेका छन् ? उसको आम्दानीको वैध स्रोत के हो र उसको आर्थिक अवस्थामा कसरी फड्को लागिरहेको छ ? राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत र गलत गर्नेलाई दण्ड सजायको नीति लिएर अघि बढेको दाबी गर्ने एसपी अधिकारीलाई गलत काम गर्ने लेखापाल भने किन प्यारो लागे ? यस्तै प्रश्न छरिँदै छ आजकल प्रहरी प्रधान कार्यालय परिसरमा ।
 


कस्तो लाग्यो ?

यो पनि