बैशाख १५, २०८१, शनिबार
               

संस्कृतिमाथि अतिक्रमण

रामप्रसाद धिताल
साउन १९, २०७७

ADVERTISEMENT

प्रत्येक वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) को दुई तीनदिनअघि पंक्तिकार कार्यरत संस्थामा खाम आइपुग्छ, प्रेषक ब्रह्मकुमारी राजदिदीहरूको नाममा । बुट्टेदार खाममा हुन्छ, राखी । खाममा उल्लेखित फरक—फरक नामका दिदीहरूसँग ‘गोरु बेचेको’ साइनो पनि छैन । राखी लगाउने मेरो संस्कृति पनि होइन । किन बर्सेनि दुई तीन दिनअघि रंगीचंगी राखी आइपुग्छ, थाहा पाउन सकेको छैन । आखिरमा मैले उपयोग गर्ने पनि होइन । कार्यालयकै दराजभित्र केही समय रहन्छन् र ती कहाँ पुग्छन्, कहाँ ।

मेरो समुदाय र संस्कृतिमा श्रावण शुक्ल पूर्णिमा भनेको बिहान सबैरे उठी सकेसम्म नदीकिनारमा पुग्ने विधिपूर्वक स्नान गर्ने, नभए घरैमा जानेको विधिअनुसार नुहाउने, गुरुपुरोहितबाट जनै फेर्ने, जप–ध्यान गर्ने परम्परा छ । पौराणिक विधिको रक्षाबन्धन पनि यो दिनको महत्त्वपूर्ण कर्म हो । सामान्य भाषामा बुझ्ने हो भने, यो दिन वैदिक मन्त्रले मन्त्रिएका जनै लगाउने र रक्षासूत्र हातमा बाँध्ने दिनको रूपमा यसको महत्त्व छ ।

यद्यपि राखी बाँध्ने चलन पनि वैदिक सनातन धर्मावलम्बीकै एक पर्व हो । यसलाई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको पर्व मानिन्छ । यसमा दुईमत छैन । यो पर्व विशेषगरी भारतमा र नेपालकै पनि तराई भेगमा प्रख्यात छ । तर विशेषगरी हामी पहाडी समुदायको पर्व हुँदै होइन । तर अचेल पहाडी समुदायमा पनि यसको अन्धाधुन्द अनुकरण हुन थालेको छ । यसका कारण जनैपूर्णिमा र रक्षाबन्धनको मूल मर्म नै हराउने त होइन भने चिन्ता छ ।

हाम्रो संस्कृतिमा दिदीबहिनीले दाजुभाइलाई सम्मान गर्ने दिन हो, कार्तिक शुक्ल द्वितीया अर्थात् भ्रातृ द्वितीया । भाइटीकाको नामले चिनिने यो दिन दिदीबहिनीले दाजुभाइको दीघार्युको कामना गर्दै सप्तरंगी टिका लगाइदिन्छन्, सयपत्री–गोदावरी–मखमलीका माला लगाइदिन्छन् । तेलको धाराले छेकेर र ओखर फोरेर यमदूतलाई (भावनात्मक रूपमा) समेत छेउ पर्न दिँदैनन् । दाजुभाइले पनि दिदीबहिनीको समृद्धिको कामना गर्छन् । दिदीबहिनीले दिने परिकार र दाजुभाइले दिने उपहार, कोसेलीको पनि उत्तिकै महत्त्व छ । अर्थात् यति समृद्ध संस्कृति छ हाम्रो । 

आफ्नो संस्कृति सबल, अरुको चाहिँ निर्बल ? यस्तो भन्न खोजेको पक्कै पनि होइन । राखी बाँध्ने समुदायमा यसको ठूलो महत्त्व होला । आफ्नो संस्कृतिप्रति मलाई जति गर्व छ त्यो भन्दा कम उनीहरूलाई छैन पनि होला । सबै संस्कृतिप्रति मेरो सम्मान छ । आफू आफ्नै संस्कृतिमा रमाउन मन पराउँछु । सकेसम्म अरु संस्कृतिको बारेमा पनि बुझ्ने कोशिश गर्छु । मेरो संस्कृति मैले बुझेको छु । मेरो संस्कृति मभित्र र म ऊभित्र यसरी भिजेका छौँ । त्यसैले यसको महत्त्वप्रति म जानकार छु । यसको विपरीत राखी बाँध्ने संस्कृति मभित्र भिजेको छैन । त्यसैले पनि लहलहैमा लागेर हातमा राखी बाँध्नुको अर्थ छैन । आफ्नो संस्कृतिभित्र परसंस्कृति घुसाउनु नराम्रो हो ।

जन्मदिन मनाउने चलनमा आएको परिवर्तन नै हेरौँ न ! वर्ष दिन पुगेकादेखि दाँत झरेर थोते भइसकेकाहरूले समेत अचेल पश्चिमा संस्कृति अनुकरण गर्दै जन्मदिन मनाइदिने चलन बढेको छ । दीर्घायुको कामना गरेर मनाउनुपर्ने जन्मदिनका दिन अस्वस्थ क्रियाकलाप गरिन्छ । अस्वस्थ खानेकुरा खाइन्छ । घरमा स्वस्थ परिकार बनाउनुको साटो बाहिर बनेको अस्वस्थकर केक नभई जन्मदिन नै नमनिने भएको छ । एकअर्काको जुठो खानुपर्ने चलनलाई हामी अन्धाधुन्द अपनाइरहेका छौँ । ‘बर्थडे स्पार्कलर्स’ (झिरझिरे बत्ती) बाल्दा र ‘स्नो स्प्रे’ उडाउँदा परेका वस्तुले केकलाई दुषित बनाउने तथ्यलाई सबैले आँखा चिम्लेर आत्मसात गरिरहेका छन् । 

यस्तो देखेर पनि सामान्य मानिसदेखि देशको नेतृत्वमा रहेकाहरू अचेल यसै विधिले जन्मदिन मनाउँछन् । यसैमा गर्व गर्छन् । संस्कृति नामेट भयो भने मानिसको औचित्य पनि समाप्त हुन्छ भन्ने कुरा ख्यालै गरिएको पाइँदैन ।

कति समृद्ध छ हाम्रो संस्कृति, जन्मदिनमा दियो बालेर पूजा गर्ने र योजस्तै चम्किरहने कामना गर्ने । अष्टचिरञ्जीवीको पूजा गरेर उनीहरूजस्तै चिरजीवी बनिरहने अपेक्षा गर्ने । मान्यजनको आशीर्वाद लिने र स्वस्थ खानेकुरा खाएर दीर्घायु बन्ने आकांक्षा राख्ने । अचेल कहाँ पुग्यो यो परम्परा ? अहिले त परम्परागत विधि अपनाएर जन्मदिन मनाएको कसैले थाहा पाए भने लाज स्थिति आएको छ ।

कतिपयले एकले अर्काको संस्कृति अर्कोले अपनाउँदा सहिष्णुता बढ्ने विश्वास गर्छन् । यस्तै साँस्कृतिक अन्तरघुलनले फरक समुदायबीच झन्झन् आत्मीयता बढ्ने तर्क गर्छन् । तर  कुनै पनि व्यक्ति वा समुदाय अरुको धर्म संस्कृतिप्रति आकर्षित भएर त्यसमा सहभागिता जनाउनु वा त्यसबाट क्षणिक आनन्द लिनु अलग कुरा हो, त्यसलाई वर्षाैँवर्षदेखि परम्पराको रूपमा अँगालेर बनेको रहनसहन अलग कुरा हुन् । कुनै अर्को संस्कृतिको व्यक्ति आएर कला संस्कृति र मूल्य मान्यताको जगेर्ना गरिदिन्छन् भन्ने सोच्नु सर्वथा गलत हो । 

[email protected]

पत्रकार धिताल धर्म, संस्कृति र भाषा साहित्यमा लेख्‍ने गर्छन् ।

कस्तो लाग्यो ?

यो पनि