असोज ०६, २०८१, आइतबार
               

नक्कली सुन प्रकरण: किन फेरिए छानविन समितिका संयोजक ?

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कमलादीमा काठमाडौं प्रहरीले गरेको ‘सुन अप्रेशन’ छानविन समितिका संयोजक फेरिएका छन् । 

योसँगै प्रहरीले १५ किलो सुन भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । घटनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भीर लापरबाही देखिएको छ ।

छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

महानगरीय प्रहरी कार्यालयले हिजो (बुधवार) अपराध महाशाखाका एसएसपी संयोजक रहेन गरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।

सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार, थापालाई छानविन समितिको सदस्यमा राखिएको छ ।

समितिकी अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई हटाइएको छ । बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक रहेकाले दुवैतिर नराखिएको पोखरेलले बताए ।

दरबारमार्ग वृतका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधाकेजी सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । 

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनास्थल कमलादी भएको दाबी गरे पनि प्रहरीले घटनास्थल परिवर्तन गरेको छानविन समिती स्रोतले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि