बैशाख १४, २०८१, शुक्रबार
               

कालिकोटमा पहिरो, ६ जना बेपत्ता

नेपाल फ्ल्यास
साउन १४, २०७७

फाइल फोटो
ADVERTISEMENT

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन् । बुधबार बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ-७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घाइते छन् । उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको एसएसपी बास्तोलाले जानकारी दिए । पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए ।

यस्तै मंगलबार राति नरहरिनाथ गाउँपालिका–५ मा गएको पहिरामो दले बुढाको घर पुरिएको छ । त्यहाँको क्षतिबारे विवरण नआएको एसएसपी बास्तोलाले जानकारी दिए । उक्त घटना स्थलतर्फ प्रहरी गइरहेको उनले जानकारी दिए ।

सोमबार राति गएको पहिरोमा परी कालिकोटकै रास्कोट नगरपालिका-१ बडुवाल तोलामा ४ जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका‍-१ बडुवाल तोलामा रहेको जयबहादुर शाहीको घर पुरिँदा उनीसहित ३ जनाको मृत्यु भएको हो । सोही पहिरोमा बेपत्ता भएका २ जनाको शव अझ पनि भेटिएको छैन ।

सोमबार राति नै वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा सन्नीत्रिवेणी गाउँपालिका-७ की केश्पुरा शाहीको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि