बैशाख १४, २०८१, शुक्रबार
               

मंगलबार देशभर बाढी र पहिरोबाट के के भयो ?

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

वर्षातको समय सुरु भएसँगै पछिल्लो ३ दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ । कोरोना महामारीबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मनसून सक्रिय भई अविरल वर्षा भइरहेको छ । वर्षाले धेरै जिल्लामा जनधनको क्षति गरेको छ। लगातारको वर्षाका कारण देशभर बाढी पहिरो र डुबानको घटनाहरू बढेका छन् ।

मंगलबार पनि बाढी पहिरोबाट धेरै भौतिक तथा मानवीय क्षती भयो । पहडामा पहिरो र तराईमा डुबमानका घटना दोहोरिए । मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा आकस्मिक बहाव बढ्यो । जस्ले काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा पनि असर पुर्‍याएकाे छ । हरेक वर्ष देशमा ठूलो जनधनको क्षति हुने गरी आउने विपतको दोष मनसूनलाई दिइन्छ । तर, विज्ञहरू भने यसलाई मानव सिर्जित समस्याको उपज मान्छन् । यसै कारण पहिरो जाने वा बाढीले घरमा पस्ने गरेको बताइन्छ । 

हेरौं मंगलबार दिनभर बाढी तथा पहिरोले गरेको क्षतीको विवरणहरू ।

प्रदेश २ का विभिन्न क्षेत्र डुबानमा
मंगलबार बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाहरू डुवानमा परे । सर्लाही सदरमुकाम मलंगवा, लालबन्दीलगायतका विभिन्न क्षेत्र डुवानमा परे । रौतहटको गरुडास्थित झाज खोलामा आएको बाढीले क्षती गरेको छ ।  उता रौतहटको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय सुकमान थिङ बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनलाई मंगलबार बिहान बगाएको छ । यस्तै, महोत्तरीमा रातु नदी पार गर्न खोज्दा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महोत्तरीकै भंगहा नगरपालिका ६ संग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापर छन् ।

सर्लाहीको बागमती नदीको बाढीमा फसेका २ जनाको सकुलश उद्धार गरिएको छ । बागमती नगरपालिका १२ स्थित बागमती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सप्तकोसीमा बाढी,  खतरा तह पार 

उता सप्तकोसी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोसी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

यता चितवनका दुई ठूला नदीहरूमा पानीको सतह निकै बढेको छ । नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । झण्डै ३० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । 

उता बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी ७ मा ४ परिवार विस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाँध कटान गरेको छ । जसबाट १५० परिवार जोखिममा परेका बताइएको छ । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
 

मंगलबार ५ जनाको मृत्यू २ बेपत्ता

दार्चुलामा मंगलबार विहान गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । यसैबीच विनय त्रिवेणी गाउँपालिकाको भित्री सडकमा लु २ च ६१७१ नम्बरको पिकअप भ्यानलाई खहरे खोलाले बगाएको छ ।

मंगलबारै पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

काठमाडौंका सडकमा खोलो

पहाड र तराई क्षेत्रको तुलनात्मकरुपमा सुरक्षित मानिने काठमाडौं उपत्यका पनि बाढीबाट अछुतो रहेन । आइतबारदेखि सुरु भएको भारी वर्षाले मंगलबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्‍याएको छ । बागमती लगायतका उपत्यकाका नदीहरूमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरू डुवानमा परे । साँझपछि भने सतह कम भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा केही घरपरिवार प्रभावित भएका छन् । केहीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती जलमग्न भएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरू पनि डुवानमा परेका छन् । टेकु, बल्खु र कीर्तिपुरका सुकुम्बासी वस्तीका मानिसहरूलाई उद्धार गर्न प्रहरी परिचालन नै गर्नुपरेका थियो ।

उपत्यकाको भक्तपुरको केही क्षेत्र समेत मंगलबार विहान डुबानमा पर्‍यो । वर्खा लाग्यो कि प्रत्येक वर्ष डुवानको जोखिम भक्तपुरमा हुने नै गर्छ । दुई वर्षअघि आएको बाढीले बालिनाली र भौतिक संरचनामा धेरै क्षति पुर्‍याएको थियो । अविरल वर्षाका कारण हनुमन्ते खोलाको बहाव बढेपछि सोमबार मात्रै भक्तपुर नगरपालिका – ३ का करिव तीन दर्जन घर डुबानमा परे । 

राजमार्ग, सहायक राजमार्गमा क्षती

अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरूमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरूमा क्षति पुगेको छ ।

पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अवरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ । मंगलबार विहान पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

भारी वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा प्रदेश ५ मा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै मंगलबार विहान पहिरो खस्दा बुटवल–तानसेन सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । 

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला पुलको छेउमा भत्किएको छ । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने जनाइएको  छ । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको सोमबार गएको पहिरो मंगलबार हटाइएको छ । एकतार्फी मात्र सडक संञ्चालन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि