जेठ ०६, २०८१, आइतबार
               

कहिले खुल्छ नारायणगढ–मुग्लिन सडक ?

नेपाल फ्ल्यास
साउन ०५, २०७७

नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो
ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । 

सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ । 

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर दूरीमा पर्छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार पहिराले करिब ६० मिटर क्षेत्र ढाकेको छ । 

पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट एउटा लोडर तथा नारायणगढ तर्फबाट एउटा लोडर र एउटा व्याकहु परिचालन गरिएको छ । 

भाडामा पाइएमा मुग्लिनतर्फबाट एउटा व्याकहु प्रयोग गर्नका लागि खोजी भइरहेको उनले जानकारी दिए । 

थप वर्षा नभएमा दिनभरमा पहिरो सफा गरिसकिने जनाइएको छ । तर, केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको छ । सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न सुरु गरेलगत्तै पहिरो खस्न थालेको हो । 

अधिकारीका अनुसार सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् । डिभिजन सडक कार्यालयले नौबीसेमा एउटा लोडर तथा गजुरीमा एउटा लोडर र एउटा व्याकहु तयारी अवस्थामा राखेको छ । 

पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको उनले बताए । यस क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भइरहेको छ । 

सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटामा रोकिएका छन् । 

यो पनि