बैशाख १२, २०८१, बुधबार
               

ओलीको अभिव्यक्तिप्रति चौतर्फी आलोचना, कसले के भने ?

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले भगवान राम कहाँ जन्मिएका थिए भन्ने पौराणिक विवाद झिकेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो ।

नेकपासहित अन्य राजनीतिक दलका नेता, कूटनीतिज्ञ हरुले ओलीको उक्त अभिव्यक्तिको आलोचना गरेका हुन् ।

सचेत बनौं

नेकपाका प्रवक्ता नारायाण्काजी श्रेष्ठले भूराजनीतिक संवेदनशीलताप्रति सचेत हुनुपर्ने बताएका छन् । अन्यथा देश बाह्य शक्तिको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठुलो जोखिम रहने उनले बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'हाम्रो भूराजनीतिक संवेदनशीलता प्रति हामी सचेत हुनै पर्छ । स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, अन्यथा देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौति छ ।'

विषयान्तर किन ?

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् । मंगलबार एक ट्विट गर्दै रावलले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाउका हुन् । 

उनले लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

आत्मआलोचना गर्नुपर्छ

नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्ति प्रमाणित विषय नभएको र राष्ट्रिय–अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकोले बोली फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्ष अघि नै सुनाएको पनि बताए । 

गौतमले लेखेका छन् ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो’ 

रहस्यमय छ

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने उनले बताएका छन् । 

रिजालले भनेका छन्, ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

ध्यान नमोडौं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘अयोध्यातिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं ।’

आधी–कवि’को संज्ञा

यही अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्, ‘ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सीधै वैकुण्ठधामको यात्रा गरौं !’

उटपट्यांग कुरा

त्यसैगरी राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । ओलीले उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा गरेर भारतसँग सम्बन्ध बिगार्न खोजेको थापाको आरोप छ ।

उनले भनेका छन्,  ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

टेलिभिजनसँग प्रतिस्पर्धा गरेको ?

प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओलीको अभिव्यक्तिले भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको त होइन भनेर उनले प्रश्न गरेका छन् । 

उनको प्रश्न छ, ‘यो के बोलेको ? भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’

अप्ठ्यारो पार्छ

कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डेले ओलीले उपहासपूर्ण बयान दिएको टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्, ‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो एक उच्च मावनात्मक मुद्दा हो । उपहासपूर्ण बयानले अप्ठ्यारो मात्र पार्छ ।’

भगवानले सद‍्बुद्धि दिऊन्

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री ओलीलाई सद‍्बुद्धि दिनका लागि भगवानसँग प्रार्थना गरेका छन् । राजनीतिलाई अध्यात्मसँग नजोड्न उनले आग्रह गरे ।

भाजपाद्वारा निन्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा झनै चर्को आलोचना भएको छ ।

भारत सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् ।

शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’


कस्तो लाग्यो ?

यो पनि