बैशाख १४, २०८१, शुक्रबार
               

एनआरएनएका पूर्वअध्यक्ष भट्टको धन्दा ! नेपालको निशान छाप दुरूपयोग गरी युरोपमा बियर बेच्दै

ADVERTISEMENT

काठमाडौं । बेलाबेलामा विवादमा पर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पैसाकै लागि अर्को विवादास्पद कर्म गरेको खुलेको छ, जसबाट जो कोही नेपालीको मन कुँडिन्छ । उनको टिबिआई ग्रुपअन्तर्गतको नेपाल ब्रुअरी (पहिले युनाइटेड ब्रुअरी)ले उत्पादन गरेको बियरको बोतलमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको छ । जसले नेपालकी मन दुखाउने काम मात्र भएको छैन, देशकै अपमानसमेत भएको छ ।

२३ वर्षअघि गोर्खाबाट उच्च शिक्षा अध्ययनका लागि जापान गएका भट्ट अहिले सफल व्यवसायी देखिन्छन् । तर उनको सफलताको जग भने निकै कमजोर देखिएको छ । उनले बियरको बोतलमै नेपालको राष्ट्रिय निशान छाप राखेर विदेशमा बियर बेचिरहेका छन् । इन्टरनेटका सामग्री विश्लेषण गर्दा उनले यो काम सन् २०१४ बाट गर्दै आएको खुलेको छ ।

निशान छाप राष्ट्रिय सम्पत्ति हो । यसको प्रयोग कानुनले निर्दिष्ट गरेअनुसार मात्रै हुनसक्छ । तर, कानुन हातमा लिएर निजी व्यापार प्रवर्द्धनमा यसको प्रयोग गरिएको छ । भट्ट टिबिआई ग्रुपको अध्यक्ष हुन् । टिबिआई ग्रुपले नेपालमा मदिरा, सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ । सबैमा गरी करिब दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताइएको छ । युनाइटेड ब्रुअरी (हाल नेपाल ब्रुअरी), बिबी एयरवेज, टिबिआई पब्लिकेसन्स प्रालि, धुलिखेल माउन्टेन रिर्साेट, लिवर्टी कलेज, काठमाडौं-हेटौँडा सुरुङ मार्गलगायत २३ वटा परियोजनामा उसको लगानी छ ।

ब्रुअरीले हेटौँडाबाट ‘रातो भात’ नामको बियर उत्पादन गरेको खुलासा भएको छ । त्यो बियर युरोपमा बिभिन्न मुलुकमा छ्यापछ्याप्ती पाइने गरेको छ ।

त्यो बियरको ट्रेडमार्क लोगोमा नेपालको प्रतीक चिन्ह निशान छाप राखिएको छ । नेपालको निशान छाप लोकप्रिय छ । बियरले सहजै बजार जमाओस् भन्ने उद्देश्यबाट निशान छापको अनधिकृत प्रयोग गरिएको सहजै बुझ्न सकिन्छ ।

युरोपका धेरै देशमा ब्रिक्री भइरहेको रातो भात बियर उद्योग विभागमा दर्ता समेत भएको छैन । उसले ट्रेडमार्क नलिई आफूखुसी लोगो प्रयोग गर्दै आएको छ । उत्पादक हेटौँडाको युनाइटेड ब्रुअरी नाम दिइएको सो बियर युरोपका फिनल्यान्ड, स्विडेन, बेल्जियमलगायतका देशमा बिक्री भइरहेको जानकारी नेपाल फ्ल्यासलाई प्राप्त भएको छ । त्यहाँका रेष्टुरेन्टहरुले समेत बियरको फोटो र भिडियो फेसबुकमा पोस्ट पनि गरेका छन् ।

रातो भात बियर अनलाइन सपिङको लागि राखिएको छ । त्यो अनलाइनमा बुकिङ गर्न सकिन्छ । जहाँ नेपाल ब्रुअरीको उत्पादन भनिएको छ ।

दर्ता नै नभएको बियर कसरी युरोप पुग्यो ?

उद्योग विभागमा दर्ता नभएको र हेटौँडामा उत्पादित भनिएको बियर युरोपसम्म कसरी पुग्यो ? रहस्यको विषय बनेको छ । केही कम्पनीहरूले नेपालमा उत्पादित बियर निर्यात गर्दै आएका छन् । तर 'रातो भात' नामको बियर दर्ता नभएकाले त्यसको उत्पादन सामग्री युरोपसम्म पुग्नु अनुसन्धानको विषय भएको छ ।

युरोपमा त्यो बियर देखेका एक नेपालीले एकसाथ दुइटा आशंका गरेका छन् । उनका अनुसार नेपालमै उत्पादन गरेर बियर सेटिङमा युरोप पुर्‍याउने गरिन्छ । उनको अर्को आशंका छ- 'युरोपकै उद्योगसँग टाइअपमा उतै उत्पादन गरी नेपालको निशान छाप भएको स्टिकर लगाएको हुन सक्छ ।'

लोगो हुबहु निशान छाप

बियरको बोतलमा हिमाल, त्यसको मुनी नेपालको नक्सा, माथि नेपालको झन्डा, तल हात मिलाएको र बीचमा लालीगुराँसका थुँगाले घेरिएको निशान छाप राखेको छ । साथै रातोमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ लेखिएको छ । बियरको बोतलमा नेपालको संसदबाट केही साताअघि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिनुभन्दा अगाडिको निशान छाप हुबहु मिल्छ ।

 

गृह मन्त्रालय भन्छ-  ‘जानकारी नै भएन, नत्र कारबाही भइसक्थ्यो’

गृह मन्त्रालयले भने निशान छापको दुरुपयोग गर्नु अपराध भएको बताएको छ । आफूहरूले त्यस विषयमा जानकारी नपाएकोले अहिलेसम्म कारबाही नभएको गृह मन्त्रालयको भनाइ छ ।

गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल फ्याससँग भने, ‘यो गम्भीर विषय हो । यसबारे हामीलाई कतैबाट जानकारी तथा उजुरी केही आएन । नत्र कारबाही गरिसक्थ्यौँ । निशान छाप दुरुपयोग भएको वा अनधिकृत रूपमा प्रयोग गरेको विषयमा सम्बन्धित जिल्लाका सिडिओले सरोकार राख्नुहुन्छ । अनुसन्धानपछि उहाँले कारबाही प्रक्रिया अघि बढाउनुहुन्छ ।’

निशान छाप दुरुपयोग गर्नेलाई हुने कारबाहीबारे अध्ययन गरिरहेको गृह प्रवक्ता शर्माले बताए ।

सबै सरकारी निर्णय तथा कागजातमा यो चिन्ह प्रयोग हुन्छ । तर, यस्तो संवेदनशील निशान छापको उद्योगी–व्यापारीले मनपरी प्रयोग गर्दासमेत सरकारी निकाय मौन देखिएका छन् ।

निशान छापको अनधिकृत प्रयोग संवेदनशील भएको कानुनविद्को धारणा छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसबारे सरकारले तत्काल एक्सन लिनुपर्ने बताए । उनले भने ‘देशकै शान र इज्जतमाथि खेलबाड भइरहँदा सरकारले कारबाही गर्न ढिलाइ गर्नु हुँदैन । यहाँ एउटा मात्र कानुन मिचिएको छैन । देशको इज्जत प्रतिष्ठाको अपमानका साथै धेरै अपराध पनि भएको छ । यस्तो संवेदनशील निशान छापको उद्योगी-व्यापारीले मनोमानी प्रयोग गर्दासमेत सरकार मौन देखिनु उदेकलाग्दो विषय हो ।’

के हुन्छ सजाय ?

यो प्रकरणमा एकसाथ तीनवटा अपराध भएको छ । पहिलो अनधिकृत रूपमा बियर उत्पादन तथा बेचबिखन । दोस्रो पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को उल्लङ्घन । र, तेस्रो नेपालको निशान छाप दुरुपयोग । त्यसैले प्रशासनले सक्रियता देखाए उसलाई तीनवटा अपराधमा कारबाही हुनेछ ।

ट्रेडमार्क कानुन पनि आकर्षित हुने

ट्रेडमार्कसमेत स्वीकृत नलिई बियर उत्पादन गरी बेचिएको छ । २०२२ सालदेखि कार्यान्वयनमा रहेको ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लङ्घन गर्दै अवैधानिक रूपमा उसले बियर बेचिरहेको छ । कुनै पनि वस्तु वा उत्पादन बजारमा ल्याउनुअघि उद्योग विभागमा दर्ता गरेर अनिवार्य ट्रेडमार्क स्वीकृति लिनुपर्छ ।

यस्तै ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ मा सबैसँग सम्बन्धित चिन्ह तथा राष्ट्रिय लोगो तथा चिन्हहरू ट्रेडमार्क बनाउन नपाइले उल्लेख छ । यसैले उसले उद्योग विभागमा निवेदन दिए पनि त्यो स्वीकृत हुने छैन ।

पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनको दफा १५ मा ‘कसुरसँग सम्बन्धित सबै चिज वस्तु जफत हुनेछ’ भनिएको छ । यस्तै ऐनको दफा ११ मा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । त्यस्तै राष्ट्रिय निशान छाप दुरुपयोगमा छुट्टै सजाय हुनेछ । उद्योग मन्त्रालयका एक अधिकारी भन्छन् ‘त्यस्तो उद्योगलाई कारबाहीसँगै कालोसूचीमा समेत राखिनेछ ।'

पन्छियो टिबिआई ग्रुप !

यस विषयमा नेपाल फ्ल्यासले टिबिआई ग्रुप र नेपाल ब्रुअरीका जिम्मेवार व्यक्तिहरूसँग पटकपटक सम्पर्क गर्दा पनि सकारात्मक रेस्पोन्स भएन । टिबिआई ग्रुप आबद्ध भरत चन्दले 'नेपाल बाहिर नेपाल ब्रुअरीको बियर उत्पादन हुने नगरेको र नेपालबाट पनि विदेशमा आपूर्ति हुने नगरेको' जनाए । उनले भने- 'यो हाम्रो हुँदै होइन । यो कसैले मिसयुज गरेको हुनु पर्छ । म आफैँ छक्क परेको छु ।'

ग्रुपका अन्य उच्च पदस्थ कर्मचारीहरूले पन्छिने प्रयास गरे । जापानमा रहेका कारण ग्रुपका अध्यक्ष भवन भट्टसँग सम्पर्क हुन सकेन ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि