बैशाख २७, २०८१, बिहीबार
               

बाह्रविसेमा बाढीको वितण्डा: ५० घरपरिवारको उठिबास, पुरिएकाको उद्धारमा कठिनाइ

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) निमफुन्जो शेर्पाले विभिन्न स्थानीय खोलामा उर्लिएको बाढीले ठूलो जनधनको क्षति भएको जानकारी दिएका छन् । बिहीबार नेपाल फ्ल्याससँग टेलिफोनमा कुराकानी गर्दै उनले ५० घर परिवार विस्थापित भएको जानकारी दिए ।

उनका अनुसार, बाढीले वडा नम्बर ५, ३, ७ र ८ मा क्षति पुगेको  छ ।

अहिलेसम्म १६ जना बेपत्ता छन् । वडा ७ र ८ बिचको आँधी खोलाको बाढी बस्तीमा पस्दा धेरै घरमा क्षति पुगेको  छ ।

पूर्ण रूपमा क्षति भएको ११ घर र बाढीको कटानले बस्न नमिल्ने अवस्थामा करिब ५० घरधुरी रहेको मेयर शेर्पाले बताए । भोटेकोशी नदी भन्दा पनि खहरे खोलाले धेरै क्षति पुर्‍याएको बताइएको छ ।

अहिलेसम्म २ जनाको शव भेटिएको  छ । ४ जनाको जीवितै उद्धार गरिएको  छ । २ जना सामान्य घाइते छन् भने २ जनाको अवस्था गम्भीर छ । २ गम्भीर घाइतेको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि धुलिखेल अस्पताल ल्याइँदैछ ।

रोकिएन बाढी, क्षति बढ्दै

बाह्रबिसे नगरपालिका ३ स्थित प्रहरी कार्यालयदेखि केही अगाडि अरनिको राजमार्ग क्षतिग्रस्त भएको छ । वडा नम्बर ९ स्थित पक्की पुलमा क्षति पुगेको छ ।

उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर उडे पनि बस्न खराब मौसमका कारण बस्न सकेको छैन । खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबिसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

बाढीले घर, राजमार्ग, पुललगायत भौतिक संरचनाका साथै ठुलो मात्रामा मानव क्षति गराएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बाढीको बहाव अझै नघटेकाले क्षति हुने क्रम अझै जारी छ । जस कारण उद्धारमा समेत समस्या भएको छ ।

पुरिएकाको उद्धारमा समस्या

पहिरोले घर पुर्दा बेपत्ता भएका १६ जनाको उद्धारमा समस्या भएको छ । बाढी-पहिरोले पुरिएको घरसम्म जानको लागी डोजरले बाटो बनाउँदै छ। स्थानीय नेकपाका नेता सुरेन विक्रम योञ्जन भन्छन्, ‘स्थानीय, प्रहरी, सेनाको टोलीले छिटोभन्दा छिटो उद्धार गर्ने प्रयास गरेको छ, तर भौगोलिक विकटताका कारण उद्धारमा ढिलाइ भएको छ, पुरिएको घरसम्म जाने बाटो बनाउँदै छौं । ’

५० घर परिवारको बिचल्ली

भोटेकोशी तथा खहरे खोलाले क्षति पुर्‍याएको ५० घरधुरीका करिब डेढ सयभन्दा बढी बिचल्लीमा परेका छन् । पुरिएका १६ जनासहित विस्थापित भएका डेढ सयभन्दा बढीको व्यवस्थापन मुख्य चुनौती बनेको  छ ।  

घरमा आंशिक क्षति भएपछि र बाढीले कटान गर्दै घरसम्म आएपछि स्थानीयले घर छाडेका छन् । बर्षायाममा उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने चुनौती छ । 

नेकपाको युवा सङ्गठन युवासंघका स्थानीय नेता योञ्जन भन्छन्, ‘निर्माणाधीन मध्यभोेटेकोशी जलविद्युत आयोजनाको भवनमा विस्थापितहरूलाई सारिँदैछ,  २ वटा बिल्डिङमा अट्नेलाई त्यही राख्छौं, बाँकीलाई अरू थप कतै लगेर राख्ने योजना हुँदैछ ।’

यो पनि