बैशाख ०८, २०८१, शनिबार
               

न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलियाले पायो टी–२० विश्वकप क्रिकेटको उपाधि

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

काठमाडौं । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अष्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि उचालेको छ ।

दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक टी–२० विश्वकपको उपाधि उचाल्न सफल भएको हो ।

टी–२० विश्वकपको सातौं संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका थिए ।

एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ५३ रन बनाएर भने  मार्सले अविजित ७७ रन बनाए ।

यसअघि कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो ।

अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । अष्ट्रेलियाको जितसंगै पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डको पहिलो पटकमै उपाधी जित्ने योजना सफल हुन सकेन । 


कस्तो लाग्यो ?

यो पनि