बैशाख २१, २०८१, शुक्रबार
               

चेन्नईले जित्यो आइपिएलको उपाधि

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।

जितको लागि १९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले ४३ बलमा ६ चौका सहित सर्वाधिक ५१ रन बनाए । अर्का ओपनर वेंकटेश ऐरले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।

कोलकतालाई ओपनर ऐर र गिलले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । नितिश राणा शून्य, सुनिल नाराायण २, कप्तान ओईन मोर्गन ४, दीनेश कार्तिक ९ र सकिब अल हसन शून्यमा आउट भए । तल्लोक्रमका शिवम माभीले १३ बलमा १ चौका र २ छक्का सहित २० रन बनाए । लोकी फर्गुसनले १८ रन बनाए ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । कोलकता स्पिनर सुनिल नारायणले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शिवम माभीले १ विकेट लिए ।

चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो । चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि