काठमाडौं । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।
नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्दा २ गोल ब्यहोरेको थियो ।
यसअघि नेपालले १३औँ संस्करणको साफ उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । लगातार दुई जितसँगै नेपाल सिंगल राउण्ड रोबिन लिगको शीर्ष स्थानमा । पाँच देश सम्मिलित लिगमा नेपालले दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक बनाएको छ ।
दुई खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलबाट एक अंक बटुलेको भारत तेस्रो स्थानमा छ । एक खेलबाट बिना कुनै अंक माल्दिभ्स र दुई खेलबाट कुनै अंक जोड्न नसकेको श्रीलंका क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।
नेपाल दोस्रो जितसँगै फाइनल उन्मुख भएको छ । तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपाल एक खेल जितले फाइनल पुग्ने निश्चित छ । नेपालले तेस्रो खेलमा सात पटकको साफ बिजेता भारतको सामना गर्नेछ ।
पछिल्लो समय आक्रामक फुटबलमा केन्द्रित नेपाल लगातार दुबै खेलमा सोही रणनीतिमा सफल रह्यो । नेपालका लागि कुबेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा तथा अनुवभी मिश्रित नेपाली टोलीलाई आक्रमक फुटबलमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छन् ।
धेरै समय विपक्षीको दबाब लिँदै अन्तिममा गोल गर्ने अब्दुल्लाहको रणनीति सफल हुँदै पनि गएको छ ।
पहिलो खेलमा माल्दिभ्सविरुद्ध अब्दुल्लाह सोहि रणनीतिमा सफल भए । अनुभवी माल्दिभ्सका खेलाडीसामु युवा खेलाडी उतारेका अब्दुल्लाहले ‘फ्रेस’ मनिष डाँगीलाई मैदान पठाउँदै निर्णायक काउन्टर गोल गराएका थिए ।
दोस्रो खेलमा भने अब्दुल्लाहले सुरुवातबाटै नेपाली टोलीलाई आक्रमणमा जोड दिए । नियमित डिफेण्डर दिनेश राजवंशीलाई बाहिर राख्दै डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई दोहोरो भूमिका दिए । उनले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षा तथा मिड दुबैमा खेलाए ।
पहिलो खेलमा लेफ्ट विंगरको भूमिका पाएका सुजल श्रेष्ठलाई बाहिर राख्दै विशाल राईलाई होल्डिङ मिडफिल्डरमा मौका दिए । विशाल सुरुवाती ११ रहे पनि नियमित तेज तामाङले अट्याकमा प्रस्ट देखिए ।
सुजलको स्थानमा सुमन लामा आएका थिए । पछिल्लो समय अभ्यास सत्रमा नेपाली अट्याकमा सफल रहेका सुमनले पुनः एक पटक प्रशिक्षक अब्दुल्लाहको रणनीतिलाई न्याय दिए ।
सुमनले अगाडि बढ्दै खेलको ३१ मिनेटमा नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले एक्ला स्ट्राइकर नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट आकर्षक गोल गरे ।
देशका लागि यो सुमनको पहिलो गोलसमेत हो । पाँच वर्ष अघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुमनले आफ्नो १६औँ क्यापमा गोल गरेका हुन् ।
दोस्रो गोलसमेत काउन्टरमा सम्भव भएको थियो । तेज तामाङले दिएको लामो क्रस वैकल्पिक खेलाडी आयुषले कन्ट्रोल गरे । आयुषले बक्सभित्र श्रीलंकन डिफेण्डरलाई बिट गर्दै नवयुगलाई बल उपलब्ध गराए ।
नवयुगको प्रहार श्रीलंकन गोलरक्षक सुजन परेराले पन्च गरे । रिबाउण्ड बललाई अन्जन विष्टले गोललाइनबाट खोली पोष्टमा जाली चुमाए । तेस्रो गोलसमेत काउन्टरमै सम्भव भयो । युवा खेलाडी आयुषले पहिलो आधिकारिक गोल गरे ।
यसअघि बारम्बार गोल गर्न चुकेका आयुष यसपटक भने सफल रहे । उनले गोलरक्षक परेरालाई सिक्स र्याड बक्समा बिट गर्दै सहज गोल गरे । यसअघि अष्टेलियाविरुद्ध फिफा विश्वकप छनोटमा डेब्यु गरेका आयुषले कतारमा ओमानविरुद्ध पहिलो गोल गरेका थिए । तर, सो खेल आधिकारिक थिएन ।
एक प्रकारले प्रतियोगिताको दुबै खेलमा नेपाल काउण्टरमा सफल रह्यो । अब, नेपालको लक्ष्य तेस्रो खेलमा भारततर्फ केन्द्रित छ ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुने बताउँदै आगामी खेलमा समेत काउन्टरमै ध्यान हुने योजना सुनाए । ‘प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छन् । मलाई अंक चाहिएको छ,’अब्दुल्लाहले भने ।