काठमाडौं । फ्रेन्च लिग वान फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनमाथि २–१ को जित दर्ता गरेको छ ।
पहिलो हाफमा कुनै गोल हुन नसकेको खेलको ५४ औँ मिनेटमा तोलेन्तिनो कोएल्हो डी लिमाले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए ।
६६ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा आइकार्डीले गोल गरी पिएसजीलाई जित दिलाए ।
जितपछि ६ खेलबाट १८ अंकसहित पिएसजी शीर्ष स्थानमा कायम छ । पिएसजीका लियोनल मेस्सीले घरेलु मैदानमा डेब्यु गरेका छन् । तर उनले पहिलो हाफ मात्र खेलेका थिए ।