बैशाख २३, २०८१, आइतबार
               

नेपालसँग लियो अमेरिकाले बदला

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले नेपालसँग बदला लिएको छ ।

शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै अमेरिकाले यसअघि ब्यहोरेको हारको बदला लिएको हो । 

नेपालविरुद्ध टस जितेर बलिङ गरेको अमेरिकाले पाएको १ सय ७५ रनको टार्गेट २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७५ रन पूरा गरेको हो । अमेरिकाको जितमा स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाए ।

विष्फोटक ब्याटिङ गरेका टेलरले ६३ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए । शतक बनाउन ८ रनले चुकेका टेलरलाई करण केसीले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए । 

यस्तै अमेरिकाको लागि मोनान्क पटेलले ३८ तथा कप्तान जास्करन मलहोत्राले ३६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । ८ ओभर ब्याटिङ गरेका सन्दीपले १ मेड लिएर २८ रन खर्चिए ।

यस्तै ५ ओभर बलिङ गरेका करणले २३ रन खर्चिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्युट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे ।

त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १÷१ विकेट लिए ।सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो । लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यो पनि