बैशाख २३, २०८१, आइतबार
               

नेपाल अमेरिकासँग पराजित

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

शुक्रबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

सुसान्त मोदानी २ रनमा आउट हुँदा करिमा गोरे र संजय कृष्णामुर्थीले खाता नखोली पेभेलियन फर्काए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा ३ चौका प्रहार गरे ।

कप्तान मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

मल्लले ३ सय ६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । उनले पूर्व कप्तान पारस खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् ।

यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रन जोड्दा आउट भए ।

रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् ।

ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए ।

सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे  ।

अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए ।

यस जितसँगै अमेरिकाले नेपालविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिएको छ । सोमबार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

लिग-२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो ।

नेपालको भने यो लगातार दोस्रो हार हो । बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

अब नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ ।

लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् ।

लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।  


कस्तो लाग्यो ?

यो पनि