बैशाख २३, २०८१, आइतबार
               

महिला एसियन कप छनोट : नेपालको ध्यान उत्कृष्ट प्रदर्शन गर्नेतर्फ

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो ।

नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो । 

यसपटक समेत नेपालले एएफसी महिला एसियन कप खेल्दैछ । यतिबेला एएफसी महिला एसियन कप छनोटका लागि नेपाली टोली उज्वेकिस्तानमा छ । 

मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबिना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेल भोलि (शनिबार) फिलिपिन्स  र दोस्रो खेलमा असोज ५ गते हङकङसँग खेल्नेछ । 

दक्षिण एसियाली महिला फुटबलमा नम्बर वान स्ट्राइकर हुन् सावित्रा भण्डारी । उनको अभावमा नेपालले एसियन छनोट खेल्दैछ । पक्कै पनि सावित्राको अभावमा नेपालको अग्रपंक्तिमा समस्या हुने नै छ । गत हप्ता भएको दुई मैत्रीपूर्ण खेलले त्यसलाई जनाइसकेको छ । 

नेपालले खेलेको बंगलादेशविरुद्धको खेलमा एक खेल जसोतसो जितेको थियो भने अर्को खेल बराबरीमा समाप्त भएको थियो । 

यस्तो अवस्थामा नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्स राम्रो प्रदर्शन गर्नेमा केन्द्रीत छन् । उनी महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागीताले टोलीमा नयाँ उर्जा थपेको बताउँछन् । 

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौँ,’ खेलअघि प्रि म्याच पत्रकार सम्मेलनमा ग्यारी भन्छन् । 

यसअघि एसियन कप छनोटका लागि प्रशिक्षक फिलिप्सले ४५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । उनले दोस्रो चरणसँगै छनोटका लागि अन्तिम २३ नाम सार्वजनिक गरेका हुन् । 

जसमा ७ नयाँ अनुहारसमेत रहेका छन् । गत साता बंगलादशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरे । स्ट्राइकर रश्मी घिसिङ, प्रिती राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । 

ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ । यस्तै टोलीको नियमित तेस्रो रोजाईकी गोलरक्षक उषा नाथलेसमेत राष्ट्रिय टोलीको डेब्यु पर्खाइमा रहेकी छन् । 

यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङलेसमेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन् । दुबै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन् । समूह एफ बाट एक टोली छनोट हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि